Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 4-5

शाऊलको परिवारमा समस्या

शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)

शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।

बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। 6-7 रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे। हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे।

रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”

तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। 10 तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। 11 यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।”

12 यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

इस्राएलीहरूले दाऊदलाई राजा बनाउँछन्

त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं! जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा डोर्याउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।’”

यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।

जब दाऊद राजा भए उनि 30 बर्षका थिए। 40 बर्षसम्म तिनले शासन गरे। हेब्रोनमा तिनले यहूदामाथि साढे सात बर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 बर्ष शासन गरे।

दाऊदले यरूशलेम शहरलाई जित्छन्

राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्न सक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्न सक्दैन भन्ने विचार थियो। तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।” यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउँदैनन्।”

दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। 10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।

11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। 12 तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।

13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। 14 यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, 15 यिमार, एलीशू, नेपेग, यापि, 16 एलीशमा, एल्यादा तथा एलीपेलेत।

दाऊद पलिस्तीहरू बिरूद्ध लडछन्

17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। 18 पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।

19 दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”

परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”

20 तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। 21 पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।

22 फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।

23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। 24 पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”

25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।

1 कोरिन्थी 15

ख्रीष्टको बारेमा सुसमाचार

15 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।

मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके। अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।

जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन। 10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो। 11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।

हामी मृत्युबाट बौराइन्छौं

12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? 13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। 14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। 15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। 16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। 17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। 18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। 19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। 27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”(A) जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।

29 एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ?

30 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैंलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं? 31 म हरेक दिन मर्छु। यो साँच्चो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँच्चो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु। 32 यदि खाली मानवताको कारणले मैले एफिससमा जङ्गली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”(B)

33 भ्रममा नपरः “खराब सँगतले असल बानी नष्ट गर्छ।” 34 उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।

हाम्रो कस्तो किसिमको शरीर हुनेछ?

35 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?” 36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ। 37 जब तिमीले केही रोप्छौ त्यस्को त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ। 38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ। 39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ। 40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ। 41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।

42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। 43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। 44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।

भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ। 45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”(C) 46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। 47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। 48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्। 49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।

50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। 51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः

“मृत्यु विजयमा निलिएको छ।”(D)

55 “हे मृत्यु! तेरो विजय कहाँ छ?
    चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”(E)

56 मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। 57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

58 यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

इजकिएल 13

13 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन! परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुशरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।

“‘इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्। तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।

“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घट्नाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँच्चो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।

“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफैं जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुले भन्नुभएको हो, तर मैले तिमीहरूसँग कुरै गरिनँ।’”

यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो। परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।

10 “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तहको लेप लगाइरहेछन्। 11 तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ। 12 पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?’” 13 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर बर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु। 14 तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 15 अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’

16 “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

17 परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ। 18 ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ: विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न फेटा बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ।” के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ। 19 तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ। 20 यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पंक्षीहरू जस्तै हुनेछन्। 21 म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।’

22 “‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दु:ख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दु:ख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बद्लि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ। 23 तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ, म नै परमप्रभु हुँ।’”

भजनसंग्रह 52-54

प्रमुख संगीतकारलाई: दाऊदको “मस्किल” भन्ने भजन। जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”।

52 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
    तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
तिमीले सधैँ मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
    तिमीले सधैँ झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
    तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।

तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ।
    उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट[a] धकेल्दै तान्नु हुनेछ,
    जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
    परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
    “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
    उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”

तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
    म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
    म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!

प्रमुख संगीतकारलाई: “महलथ” भन्ने रागमा दाऊदको “मस्किल” नामको भजन।

53 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
    त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,
    अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
    परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ,
    जसले परमेश्वरलाई नै खोजिरहेछन्।
तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
    प्रत्येक मानिस कपटी छन्।
कसैले पनि राम्रो काम गर्दैन।
    एकजना पनि राम्रो काम गर्ने मानिस छैन!

परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
    तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।
    दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
    त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ।
    यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि
    इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।
    याकूब प्रफुल्लित हुनेछ।
    इस्राएल आनन्दले ओतप्रोत हुनेछ।

प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।

54 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।
    मलाई स्वतन्त्र[b] पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।
    मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।
    ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।
    मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।
    परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।
    हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।
    मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International