M’Cheyne Bible Reading Plan
दाऊद र तिनका मानिस हेब्रोनतर्फ लागे
2 पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”
परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”
दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”
परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
2 त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) 3 दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
4 यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
5 दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण 6 परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। 7 अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”
ईश्बोशेत राजा भए
8 नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। 9 गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।
10 ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए। 11 दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साढे सात बर्ष शासन गरे।
कडा प्रतिद्वन्द
12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। 13 सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।
14 अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”
योआबले भने, “ठीक छ होडबाजी होस्।”
15 यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने। 16 प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ। 17 त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।
अबनेरले असाहेललाई मार्छन
18 सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे। 19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। 20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?”
असाहेलले भन्यो, “हो, मै हुँ।”
21 अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।
22 फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”
23 तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो।
योआब र अबीशैले अबनेरलाई खेदे
असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार-हतार गएर हेरे। 24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।) 25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।
26 अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाज्यू-भाइहरूलाई नखेद्नु भनेर भन।”
27 तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” 28 यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।
29 अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।
30 योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्। 31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। 32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।
योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
प्रेम नै सर्वोत्तम उपहार हो
13 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ। 2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। 3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। 5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।
8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। 9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।
11 तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो, जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
2 त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्। 3 तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौं।[a]’ 4 तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”
5 तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ। 6 तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ। 7 अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्। 8 तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।’” परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।
9 परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु। 10 तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ। 11 हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु! 12 त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”
13 मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडें। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
14 तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो, 15 “मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोड्नलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।’
16 “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँच्चो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ। 17 यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु। 18 अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्। 19 म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नयाँ आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँच्चो हृदय भरिदिनेछु। 20 तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।’”
21 त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो। 22 तबपछि करूब स्वर्गदूतले आफ्नो पखेंटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो। 23 परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो। 24 तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें। 25 त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।
आसापको भजन।
1 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
3 हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
6 परमेश्वर न्यायी हुनुहुन्छ
र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
7 परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
8 मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
9 म तिम्रो घरबाट साँढेहरू लिने छैन
म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12 म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”
14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
“तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ।
तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
20 तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ,
अनि दोष लगाईरहेका छौ।
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,
यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
हेर! धेरै बेर म चुपचाप बस्ने छैन!
म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,
यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
यदि त्यस्तो भयो भने,
कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन।
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
© 2004, 2010 Bible League International