Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 1

दाऊदले शाऊल मरेको थाहा पाउँछन्

दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”

त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”

दाऊदले भने, “मलाई भन, के भयो?”

त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”

दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”

त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए। शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए। तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’ 10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरें कि उनी जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालें, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”

11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। 12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

दाऊदले त्यस अमालेकिलाई मार्ने आदेश दिन्छन्

13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”

त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा, एक अमालेकी हुँ।”

14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”

15-16 तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफैं हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा तँ दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।

शाऊल र जोनाथनको लागि दाऊदको दुःखपूर्ण गीत

17 शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए। 18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा[a] यो लेखिइएको छ।

19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो।
    साँच्चै, कसरी ती वीरहरू लडे!
20 गातमा यो समाचार नभन।
    अश्कलोनका बाटाहरूमा यो प्रचार नगर,
ती पलिश्ती शहरहरूले खुशी मनाउँछन्
    ती विदेशीहरू रमाउने छन्।

21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा
    पानी अथवा शीत झर्ने छैन।
म यो पनि आशा गर्छु
    ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्।
ती वीरहरूका ढालमा खिया लाग्यो
    शाऊलका ढालमा तेल मोलिएन।
22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो
    अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो।
जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए।
तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे
    र जीवनको आनन्द मनाए,
    अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन।
तिनीहरू एउटा गरूड भन्दा छिटो थिए
    र एउटा सिंह भन्दा बलिया थिए।
24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले
    तिमीहरूलाई राता लुगाहरू दिए
    र सुनका गहनाले ढाकिदिए।

25 “बलिया मानिसहरू युद्धमा ढले,
    जोनाथन गिल्बोको टाकुरामा मरे।
26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ।
    मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ
तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो,
    स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।
27 बलिया योद्धा रणभूमिमा नै ढले
    अब युद्धका हतियारहरू रहेनन्।”

1 कोरिन्थी 12

पवित्र आत्माको उपहारहरू

12 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान। तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ। म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।

आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।

प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ। त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। 10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। 11 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।

ख्रीष्टको शरीर

12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः 13 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।

14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। 15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। 16 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। 17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? 18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। 20 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।

21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। 22 होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। 23 अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। 24 हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। 25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। 26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।

27 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ। 28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ। 29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्। 30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्। 31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

इजकिएल 10

10 तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो। तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”

मैले हेरिरहेको थिएँ मानिस भित्र गयो। जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो। तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो। तब मैले करूब स्वर्गदूतको जोडसित पखेंटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो।

परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो। करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो। (करूब स्वर्गदूतको पखेंटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।)

तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो। 10 त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो। 11 जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे। 12 त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पखेंटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो। 13 ती पाङ्ग्राहरूलाई, “हुरूरू घुम्ने पाङ्ग्रा” भनेको मैले सुनें।

14-15 प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो। (तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए।)

तब करूबहरू हावामाथि उडे। 16 तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बद्ली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेंटा खोलेर हावामा उडेनन्। 17 यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।

18 त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्‌यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो। 19 त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेंटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोड्दै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।

20 त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो। 21 प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पखेंटा थिए। पखेंटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो। 22 करूब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्थे जुन दिशा तर्फ तिनीहरू गइरहेका हुन्थे।

भजनसंग्रह 49

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
    पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
    प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
    मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
मैले स्वयंले ती कथाहरू सुनें
    अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।

कष्ट आउँछ भनेर म किन डराउनु?
    यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
    तर ती मानिसहरू मूर्खहरू हुन्।
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
    अनि तिमीले परमेश्वरलाई घूस[a] दिन सक्तैनौ।
कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
    अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी[b] मर्छन्।
    तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
    तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
    तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ
    जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।
    चिहान नै तिनीहरूको खोर हो।
मृत्यु तिनीहरूको गोठाला हुनेछन।
    त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।
    जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,
    उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।
    तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17 ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्।
    तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।
    अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,
    अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20 मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्
    तिनीहरू पशुहरू जस्तै मर्ने छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International