M’Cheyne Bible Reading Plan
दाऊद हामीसित आउनसक्दैन
29 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले। 2 पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।
3 पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”
आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”
4 तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा ऊ फर्कनु पर्छ। रणभूमिमा ऊ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ। 5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः
‘शाऊलले हजार शत्रुहरू मारे,
तर दाऊदले दश हजार मारे।’”
6 यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्। 7 शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”
8 दाऊदले सोधे, “मेरो गल्ती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?”
9 आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’ 10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”
11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाँहि यिज्रेल तिर बढे।
अमालेकीहरूले सिकलगमाथि आक्रमण गरे
30 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए। 2 तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।
3 जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्। 4 त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए। 5 अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।
6 सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए। 7 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।”
8 दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौं? म तिनीहरूलाई पक्रन सक्छु?”
परमप्रभुले भन्नु भयो, “तिनीहरूलाई पछ्याऊ, तिनीहरूलाई पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बँचाउन सक्छौ।”
दाऊद र तिनका मानिसहरूले मिश्री दासलाई पाउँछन्
9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोर खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीं बसे। त्यहाँ बस्नुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले।
11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए। 12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाएपछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।
13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?”
त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए। 14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”
15 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”
त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”
दाऊदले अमालेकीहरूलाई हराउँछन्
16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए। 17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।
18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। 19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। 20 सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
भागबण्डा सबैमा बराबर हुने
21 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए। 22 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”
23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो। 24 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।” 25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।
26 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”
27 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा, 28 अरोएर, सिपमोत, एस्तमो, 29 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा, 30 होर्मामा, बोराशानमा, अत्ताकमा, 31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।
यहूदीहरू जस्तै नहोऊ
10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। 2 तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। 3 तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। 4 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। 5 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।
6 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। 7 तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।” 8 ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। 9 जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।
11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्। 12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
14 यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस। 15 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफैं जाँच। 16 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँच्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र? 17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।
18 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र? 19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो। 20 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न। 21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ। 22 के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।
आफ्नो स्वतन्त्रा परमेश्वरको महिमाको लागि प्रयोग गर
23 तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन। 24 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।
25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। 26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”(A)
27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। 28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। 29 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। 30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?
31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर। 32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली। 33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिष गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिष गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।
8 एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं बर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो। 2 मैले देखें त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो। 3 तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो। 4 त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शन कबारको खोल्चामा देखें।
5 परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।
6 तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”
7 यसकारण म चोकको प्रवेशद्वारमा गएँ अनि मैले भित्तामा एउटा प्वाल देखें। 8 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो। त्यो भित्ताको प्वाल भित्र पस।” यसकारण म भित्ताको प्वाल भएर गएँ अनि यहाँ मैले एउटा ढोका देखें।
9 तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।” 10 यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो।
11 तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उड्दै थियो। 12 तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’” 13 तब परमप्रभुले मलाई भन्नुभयो, “यदि तिमी मसँग आयौ भने ती मानिसहरूले गर्दै गरेको डरलाग्दो कामहरू तिमीले देख्नेछौ।”
14 तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले स्त्रीहरू बसेर रूँदै गरेको देखे। तिनीहरू झूटा देवता तम्मूजको विषयमा शोक मनाइरहेका थिए।
15 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयङ्कर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयङ्कर चीजहरू देख्नेछौ?” 16 तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!
17 तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्। 18 म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दु:ख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।
46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
2 यसैकारण भुइँचालो आए ता पनि
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
र पर्वतहरू थर्किन्छन्।
4 त्यहाँ एउटा नदी छ जसको धाराले
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
म जाति-जातिलाई परास्त गर्नु सक्छु,
म संसारलाई अधीनमा राख्न सक्छु!”
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
47 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको[b] गीतहरू गाऊ।
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
© 2004, 2010 Bible League International