M’Cheyne Bible Reading Plan
दाऊद पलिश्तीहरूसँग रहन थाले
27 तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”
2 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, 3 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। 4 मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।
5 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”
6 त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। 7 दाऊद पलिश्तीहरूसँग एक बर्ष चार महिना बसे।
दाऊदले आकीश राजालाई छक्काए
8 दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे। 9 दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेंडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।
10 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें[a]।” 11 दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।”
जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे। 12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।”
मूर्तिमा चढ़ाइएका खाना
8 अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। 2 जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। 3 तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
4 यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। 5 धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। 6 तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।
7 तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफैं निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैंलाई दोषी सम्झन्छन्। 8 तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन।
9 तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। 10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। 11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। 12 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ। 13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।
6 त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको पर्वतहरूपट्टि फर्क। मेरो निम्ति तिनीहरूको विरूद्ध भन। 3 ती पर्वतहरूसित यसो भन, ‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो सन्देश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु। 4 तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अगाडी फ्याँकिदिनेछु। 5 म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु। 6 जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याई दिनेछु। तिनीहरू शहरहरूमा खाली ढुङ्गाको थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस्। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायौ त्यो पूर्ण रूपमा नष्ट पारिनेछ। 7 तिम्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।’”
8 परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु। 9 त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाई[a] खण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए। 10 तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठानें भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हुँ।”
11 तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेतावनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ। 12 टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुनछाड्नेछु। 13 अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ। तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ। 14 तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरुभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”
प्रमुख संगीतकारलाई: कोरह परिवारको मस्किल भन्ने भजन।
1 हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं।
हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के-के गर्नुभयो उहाँहरूले बताउनु भयो।
तपाईंले धेरै बर्ष अघि गरेका कार्यहरू, तिनीहरूले हामीहरूलाई बताए।
2 परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित
अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो।
तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो।
तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
3 हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो।
उनीहरूका पाखुराहरू बलिया थिएनन्, जसले तिनीहरूलाई विजयी गराए।
यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो।
परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
4 हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ।
आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
5 मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं।
तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
6 म मेरो धनु र तरवारमाथि भरोसा राख्दिनँ।
मेरो तरवारले मलाई बचाउन सक्दैन।
7 हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो।
तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।
8 हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं।
अनि तपाईंको नाउँको प्रशंसा सदा-सर्वदा गर्नेछौं!
9 तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो।
तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।
10 तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो।
हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।
11 तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो।
तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
12 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो,
तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
13 तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो।
तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
14 हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्।
आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
15 म लाजले छोपिएको छु।
सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
16 मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे,
तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु।
17 परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं।
अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ।
हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
18 परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं।
हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
19 तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्।
तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।
20 के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं?
के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
21 निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ।
उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।
22 हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्यौं!
हामी मार्न लगिएका भेंडा़ जस्तै छौं।
23 उठ्नु होस्, मेरो स्वामी!
किन तपाईं सुतिरहनु भएको छ?
उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
24 परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ?
तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो?
25 हामीलाई फोहोर भित्र हुत्याइएको छ।
हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
26 हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्।
तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
© 2004, 2010 Bible League International