Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 26

दाऊद र अबीशै शाऊलको छाउनीमा पसे

26 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”

शाऊल जीपको मरुभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमितिर दाऊदलाई खोजे। शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए।

दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो। यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर। दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।

दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”

अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”

तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। 10 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। 11 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

12 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझियो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।

दाऊदले फेरि पनि शाऊललाई लाजमर्दो बनाए

13 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए। 14 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!”

अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”

15 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो। 16 तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही खोई, कहाँ छन्?”

17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”

दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।” 18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ? 19 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’ 20 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”

21 तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”

22 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्। 23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन। 24 आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”

25 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”

दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

1 कोरिन्थी 7

विवाहको विषयमा

अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो। तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ। एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन। केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।

अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।

10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस् 11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।

12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। 13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्। 14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।

15 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। 16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।

परमेश्वरले भन्नु भए जस्तै बाँच

17 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। 18 यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। 19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। 20 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। 21 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। 22 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। 23 तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। 24 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।

विवाह बारेको प्रश्नहरू

25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ। 26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो। 27 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्फ नलाग 28 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।

29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस। 30 जो दुःखीत छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसुन्। 31 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।

32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो। 33 तर विवाहित मानिस सांसारिक वस्तुसँग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ। 34 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ। 35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।

36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। 37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ। 38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।

39 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ। 40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।

इजकिएल 5

1-2 “हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाह्री त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाईं भाग त्यस ईंटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ। यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार प्रयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाईं भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु। तर त्यति बेला तिमी जानुपर्छ अनि त्यो कपालको केही भाग ल्याउनु पर्छ। त्यो कपालहरू ल्याएर, त्यसलाई छोप अनि त्यसको रक्षा गर। यसले देखाउँछ कि म आफ्नो मानिसहरू मध्ये कतिलाई बचाउँनेछु। अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”

त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईंटा यरूशलेम हो। मैले यरूशलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्। यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधि-विधानहरू पालन गरेनन्।”

यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयङ्कर विपत्ती ल्याइदिनेछु। किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।” यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्। म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ। 10 यरूशलेमका मानिसहरू भोकले यति तड्पिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”

11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयङ्कर पाप गरिस्। तैंले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दु:खको अनुभव गर्ने छैन्। 12 तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाईं मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाईं मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु। 13 तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैंले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”

14 परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ। 15 चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु। 16 मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयङ्कर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ। 17 मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”

भजनसंग्रह 42-43

दोस्रो भाग

(भजनसंग्रह 42–72)

प्रमुख संगीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँको भजन।

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।
    त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ।
    म उहाँलाई भेट्न कहिले जान सक्छु?
मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ।
ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ।
    आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।

जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु
    मेरो हृदय चर्किएर आउँछ।
तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु।
    ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

5-6 म यति उदास किन हुनु पर्ने?
    म किन यति साह्रो विचलित हुने!
म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु।
    फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु।
    उहाँले मलाई बचाउनु हुन्छ!
किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ,
    यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै
    खोला बगेको आवाज म सुन्छु।
हे परमप्रभु, तपाईंका छालहरूले,
    मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।

प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ
    अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु,
    “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो?
    शत्रुको क्रूरताको कारणले गर्दा?
    त्यस्तो उदासीनता मैले किन खप्नु?”
10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछन्,
    अनि मलाई सोध्दछन्, “तेरो परमेश्वर कहाँ छन्?
    के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”

11 मैले यति उदास किन हुन पर्छ?
    किन मैले यति विरक्तिनु पर्छ?
मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ।
    म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु।
    उहाँले मेरो रक्षा गर्नु हुनेछ!

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
    त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
    हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
    मलाई त्यो मानिसबाट बचाउनु होस्।
हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
    किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
    कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
    तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
म परमेश्वरको वेदीमा जानेछु।
    हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
    म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।

किन म यति साह्रो तल झरें?
    किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
    म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
    उहाँले मलाई बचाउनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International