M’Cheyne Bible Reading Plan
दाऊद कीलाको नगरमा
23 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।”
2 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?”
परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”
3 तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौं। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।”
4 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।” 5 यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए। 6 (जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।)
7 मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। ऊ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” 8 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे।
9 शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
10 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ। 11 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।”
परमप्रभुले भन्नु भयो, “हो यो हुन आउँछ।”
12 दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?”
परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”
13 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।
शाऊलले दाऊदको खेदो गर्छन्
14 दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।
15 दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। 16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। 17 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”
18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।
जीपका मानिसहरूले शाऊललाई दाऊदबारे बताउँछन्
19 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। 20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”
21 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। 22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’ 23 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।”
24 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए।
दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। 25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।
26 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।
27 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”
28 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। 29 दाऊद माओनको मरुभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।
ख्रीष्टका प्रेरितहरू
4 हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। 2 यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ। 3 यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन। 4 मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। 5 यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
6 दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। 7 तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। 9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।
14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। 15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
2 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा़ होऊ र म तिमीसित कुरा गर्नेछु।”
2 जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें। 3 उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्। 4 म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’ 5 तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्।
6 “हे मानिसको छोरो! तिनीहरूसँग नडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँच्चो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउनँ चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्। 7 तिमीले तिनीहरूसँग यी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँग भन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।
8 “हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू पालनगर।”
9 अनि जब मैले एउटा हात आफूतिर बढ़दै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेह्ररिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो। 10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दु:खका गीत, कथाहरू अनि चेताउनीहरू थिए।
सम्झनाको निम्ति दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
3 तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
5 मैले मूर्ख कामहरू गरें।
अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
6 म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
म दिनभरि हताश-हताश हुन्छु।
7 मलाई ज्वरो आएको छ,
अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ।
मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!
© 2004, 2010 Bible League International