M’Cheyne Bible Reading Plan
पूजाहारी अहिमेलेकसँग दाऊदको भेट
21 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।
अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
2 दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भनें। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। 3 अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।”
4 पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”
5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैँ पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
6 त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।
7 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो।[a] दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।
8 दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”
9 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।”
दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”
दाऊद गातमा भागेर शत्रु कहाँ गए
10 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे। 11 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्;
“शाऊलले हजार शत्रुहरू मारे,
तर दाऊदले दश हजार मारे।”
12 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। 13 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल ढोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
14 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। 15 मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनुँ!”
दाऊद विभिन्न ठाउँहरूमा जान्छन्
22 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए। 2 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।
3 मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुन्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।” 4 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे।
5 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।
शाऊलले अहीमेलेकको परिवारलाई नष्ट गरे
6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए। 7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ? 8 तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए। 10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए। 12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”
अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”
13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
14 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुन्। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्। 15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”
16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।” 17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।”
तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे 18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे। 19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं, गोरु, गधा र भेंडा समेत बाँकी राखेनन्।
20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाँहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले। 21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए। 22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवार ठान्छु। 23 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ, तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”
मानिसलाई मान्नु भूल हो
3 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो। 2 मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ। 3 तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ। 4 तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र?
5 अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। 6 मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। 7 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। 8 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। 9 हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।
अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। 10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। 11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन[a] आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।
16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।
18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। 19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। 23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।
परिचय
1 1-3 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)
परमप्रभुको रथ अनि उहाँको सिंहासन
4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु[a] झैं केही देखिन्थ्यो। 5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। 6 तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेंटाहरू थिए। 7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। 8 तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो। 9 पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।
10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। 11 प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। 12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। 13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो।
यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे।
15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। 17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए।
18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।
19 पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। 20 तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। 21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।
22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। 23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो।
24 जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो।
25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। 26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
दाऊदको भजन।
1 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,
तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19 जब सङ्कटहरू आउँछन्,
धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्।
अनिकालको समयमा पनि
धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,
अनि तिनीहरू नष्ट हुने नै छन्।
तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्।
तिनीहरू सबै नाश हुनेछन्।
21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,
तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।
तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।
32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
© 2004, 2010 Bible League International