M’Cheyne Bible Reading Plan
दाऊद र जोनाथनले एउटा सन्धि गर्छन्
20 रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”
2 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”
3 तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”
4 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”
5 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। 6 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ 7 यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। 8 म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
9 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”
10 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”
11 तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।
12 जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु। 13 यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ। 14 जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि 15 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ। 16 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि होस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”
17 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।
18 जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ। 19 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु। 20 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु। 21 म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज।’ त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन। 22 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो। 23 दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सधैँ भरी हाम्रो साक्षी हुनुहुन्छ।”
24 त्यसपछि दाऊद खेतमा लुक्न गए।
उत्सवमा शाऊलको मनोभाव
औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे। 25 राजा पर्खाल कै छेउमा सधैँ झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो। 26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”
27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?”
28 जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो। 29 उसले भन्यो, ‘मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्।’ त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”
30 शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्। 31 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”
32 जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”
33 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो। 34 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।
जोनाथनसँग दाऊदको बिदावारी
35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए। 36 जोनाथनले केटोलाई भने, “कुद्दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने। 37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।” 38 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो। 39 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो। 40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।
41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।
42 जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैँ भरी साक्षी रहनु हुनेछ।”
ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार
2 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। 2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। 3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। 4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। 5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
परमेश्वरको ज्ञान
6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन। 7 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो। 8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। 9 तर, जस्तो शास्त्रमा लेखिएको छः
“कुनै आँखाले पनि नदेखेको,
कुनै कानले पनि नसुनेको,
कसैले चिन्ता सम्म नगरेको कुरा
आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”(A)
10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।
आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ। 11 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। 12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
13 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं। 14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। 15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ?
परमप्रभुलाई कसले अह्राउन सक्छ?”(B)
तर हामीसँगत त ख्रीष्टको मन छ।
परमप्रभुलाई प्रार्थना
5 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
हाम्रो अपमान हेर्नु होस्।
2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
3 हामी अनाथ भयौं।
हाम्रा पिता छैनन्।
हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।
4 हामीले पिउने पानी पनि किन्नु परेको छ।
हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।
5 हामीलाई भन्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
हामी थकित छौं र हामीलाई विश्राम छैन।
6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ।
हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं।
7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।
8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।
9 हामीले आहार खोज्नको लागि प्राणघातक
उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।
10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ।
भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।
12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्।
अनि हाम्रा छोराहरूका खुट्टाहरू शत्रुहरूको भारी कामले लर्वरिन्छन्।
14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए।
15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
हामीले गरेको पापको कारणले,
हामीमा खराब समय आएकोछ।
17 ती कुराहरूको कारणले गर्दा,
हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो।
18 सियोन पर्वत बाँझोभूमि भयो।
स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।
19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
तपाईंको सिंहासन सदाको लागि रहन्छ।
20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो।
तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्।
हामी आनन्दले तपाई कहाँ फर्कने छौं।
हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।
22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।
के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2 त्यो मानिस आफैंसित झूटो हुन्छ।
त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4 राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।
5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।
12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”
© 2004, 2010 Bible League International