M’Cheyne Bible Reading Plan
जोनाथनले दाऊदलाई सहायता गरे
19 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। 2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।”
4 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। 5 पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”
6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।”
7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।
शाऊलले फेरि दाऊदलाई मार्न चाहे
8 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे। 9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। 10 शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
11 शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।” 12 त्यसपछि मीकलले झ्यालबाट झरेर भाग्न लगाईन्। 13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।
14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”
15 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।”
16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।
17 शाऊलले मीकललाई सोधे, “तैंले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।”
मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।”
दाऊद भागेर रामा डेरामा पुगे
18 दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।
19 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्। 20 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।
21 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे। 22 अन्त्यमा, शाऊल आफैं रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे।
मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”
23 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले। 24 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे।
यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”
1 पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।
2 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
3 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्
4 परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। 5 येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। 6 ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। 7 यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। 8 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। 9 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।
कोरिन्थीको मण्डलीमा फाटो
10 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। 12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। 17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः
“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)
20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(B)
यरूशलेममाथि भिषण आक्रमण
4 हेर सुन कसरी फिक्का भयो।
हेर असली सुन कसरी बद्लियो।
त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्।
तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए।
तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो।
तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई
कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई
दूध चुसाएर हुर्काउँछन्,
तर मेरा मानिसकी छोरी निष्ठुरी छन्।
उनी मरुभूमिमा हुने शतुमुर्ग जस्तै छन्।
4 दूध खाने शिशुको जिब्रो,
तिर्खाले तालुमा टाँसिन्छ।
नानीहरूले रोटी मागिरहेका छन्,
तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।
5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे,
गल्लीमा भोकले मरिरहेकाछन्।
ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के
तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।
6 मेरा मानिसका छोरीहरूको पाप
सदोम र गोमोरको भन्दा ठूलो छ।
सदोम र गोमोर
सजिलै सर्वनाश भए।
त्यो मानिसको हातबाट
सर्वनाश भएको होइन।
7 यहूदका कतिपय मानिसहरूले
विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे।
ती मानिसहरू अति पवित्र थिए।
तिनीहरू हिँऊँभन्दा पनि सफा
र दुध भन्दा पनि सेता थिए।
तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए।
तिनीहरूका दाह्री नीलमणि ढुङ्गा जस्तै थिए।
8 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्।
तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन।
तिनीहरूका छाला हड्डीसँग टाँसिएर चाउरी परेका छन।
तिनीहरूका छाला काठझैं खस्रा छन्।
9 जो भोकले मर्नेहरू भन्दा
तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्।
खानको कमीले मर्नेहरू भन्दा
चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
10 एक समयमा माया गर्ने आइमाईहरूले
आफ्ना नानीहरूका लागि खाना पकाउँथे।
पछिबाट ती नानीहरू नै
तिनीहरूका आमाहरूका एकमात्र आहार बने।
यी सबै कुराहरू भए
जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो
र उहाँले आफ्नो क्रोध पोखाउनु भयो।
उहाँले सियोनमा आगो लगाउनु भयो।
आगोले सियोनको जगहरू धराशायी गरिदियो।
12 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन्
भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
13 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू
र पूजाहारीहरूको पापको कारणले गर्दा
अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे
ती मानिसहरूको कारणले गर्दा भएको थियो।
14 अगमवक्ताहरू र पूजाहारीहरू
अन्धा मानिस सरह गल्लीहरूमा हिँड्थे।
तिनीहरू रगतले लत्पत् भएका थिए।
एका अर्कामा लुगा छुन पनि घिनाउँथे।
15 तिनीहरू चिच्याए, “भाग!
भाग! हामीलाई नछोऊ!”
तिनीहरू भन्छन्, “तिनीहरू
बेगारी भई घुम्नु पर्छ।
उनीहरू यहाँ रहन सक्दैनन्।”
16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो।
उहाँले तिनीहरूको हेरचाह गर्नुभएन।
उहाँले पूजाहारीहरूको आदर गर्नुभएन
यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन।
17 सहायताको निम्ति हेर्दा हेर्दै हाम्रो आँखाहरू टट्टाए।
तर कतैबाट सहायता आएन।
हामीले स्वयंलाई बचाउँन
कुनै एक जातिलाई हेर्यौं।
तर कुनै जाति पनि आएन।
18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे।
हामी गल्लीमा सम्म निस्कन सकेनौं।
हाम्रो अन्त्य नजीक आई सक्यो।
हाम्रो समय पूरा भैसक्यौ।
19 ती मानिसहरू जसले हामीलाई खेदे
तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए।
ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे
हामीलाई समात्न भनेर मरुभूमिमा लुकेर ढुकी बसे।
20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए
उनी हाम्रा प्राणका स्वास जस्तै थिए।
तर राजालाई तिनीहरूले पासोमा पारे
परमप्रभुबाटनै चुनिएका राजा थिए।
हामीले राजाको विषयमा भन्यौं,
“हामी उहाँको छाँयासँग बाँच्नेछौं,
उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुनेछ।”
21 एदोमका मानिसहरू खुशी बन,
ऊज भूमिमा बस्नेहरू खुशी बन।
तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ।
जब तिमी त्यो कचौराबाट पिउँछौ तिमीहरू मातिने छौं।
अनि आफैंलाई नाङ्गो पार्ने छौ।
22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो,
तिमीहरू फेरि कैदखानामा छैनौ।
तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई,
तिमीहरूको पापको दण्ड दिनुहुनेछ।
उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।
दाऊदको भजन।
1 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
मेरा लडाईँहरू लडिदिनु होस्!
2 हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
3 भाला र बर्छा लिनुहोस्
अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”
4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
र लज्जित पार्नु होस्।
5 तिनीहरूलाई हावाले उडाउने भूस[a] जस्तो बनाउनु होस्।
तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
6 तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
9 तब म परमप्रभुमा हर्षित रहनेछु।
जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
“हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
(हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।
17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।
18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
महासभामा म तपाईंको स्तुति गाउने छु।
19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
निःसन्देह मेरा शत्रुहरूले,
आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति,
अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
यसैले मौन नबस्नुहोस्,
मलाई छाडेर नजानुहोस्।
23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!
मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्।
अनि मलाई न्याय ल्याई दिनुहोस्।
24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
हामीले उसलाई ध्वंश पारिदियौं!”
26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्!
यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ।
उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”
28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
© 2004, 2010 Bible League International