M’Cheyne Bible Reading Plan
गोल्यतको इस्राएली माथि चुनौती
17 पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।
2 शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए। 3 पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।
4 पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो। 5 शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो। 6 गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। 7 भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिँड्थ्यो।
8 प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ। 9 यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।”
10 पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लड्न सकुँ।”
11 शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।
दाऊद रणभूमिमा जान्छन्
12 दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए। 13 यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो। 14 दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए। 15 कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेंडाहरू हेरचाह गर्न आउने जानेगर्थे।
16 त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40 दिनसम्म त्यसले सधैँ त्यस्तै गर्यो।
17 एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ। 18 यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु। 19 तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।”
20 बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेंडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए। 21 इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।
22 दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो। 23 जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैँ झैं इस्राएलीलाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।
24 इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए। 25 एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
26 दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”
27 यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्। 28 दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेंडाहरू मरुभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
29 दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।” 30 दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।
31 केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए। 32 दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लड्ने छु।”
33 शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”
34 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेंडा पनि चराउने गर्छु। भेंडाका बथानबाट सिंह र भालू आएर भेंडा लैजान्थे। 35 म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेंडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें। 36 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ। 37 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।”
शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।” 38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। 39 दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।
दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। 40 दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
दाऊदले गोल्यतलाई मार्छन्
41 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। 42 गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो। 43 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो। 44 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”
45 दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। 47 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
48 पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो।
49 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
50 यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन। 51 यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो।
जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले। 52 इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो। 53 पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।
54 दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।
शाऊल दाऊदसँग डराउन थाल्छन्
55 शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?”
अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”
56 राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”
57 जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।
58 शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?”
दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”
15 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। 2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। 3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”(A) 4 बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। 5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। 6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। 7 ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ। 8 म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो। 9 ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः
“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु,
म तिमीहरूको नामको स्तुति गाउनेछु।”(B)
10 धर्मशास्त्रले यसो पनि भन्छ,
“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”(C)
11 अनि फेरि त्यसले भन्छः
“तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर।
सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”(D)
12 अनि यशैयाले भनेका छन्,
“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्।
ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्,
अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”(E)
13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
पावल आफ्नो कार्यबारे भन्दछन्
14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। 15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। 16 गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। 18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। 19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। 20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। 21 तर धर्मशास्त्रमा लेखिएको छः
“मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्,
मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”(F)
पावलको रोम भ्रमण गर्ने इच्छा
22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। 24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
25 अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। 26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। 27 म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। 28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ।
यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। 29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
30 दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। 31 प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। 32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। 33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
परमप्रभुद्वारा यरूशालेमको विनाश
2 हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ,
उहाँले कसरी इस्राएलको गौरवलाई आकाशदेखि भूईँमा खसाल्नु भएकोछ!
परमप्रभुले जब आफ्नो रिस देखाउनु भयो,
उहाँले इस्राएलमा राखिएको पाउदानलाई[a] पर्वाह गर्नु भएन।
2 परमप्रभुले याकूबको घर भत्काउनु भयो।
उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो।
रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो।
परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।
3 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले,
इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो।
उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो।
उहाँले त्यसो गर्नु भयो।
जतिबेला शत्रुहरू प्रवेश गरेका थिए।
उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो।
उनी चारै तिर बल्ने आगो जस्तै भए।
4 परमप्रभुले आफ्ना शत्रुहरूले झैं
आफ्नो धनुमा ताँदो चढाउनुभयो।
उहाँले दाहिने हातले काँड तयार पार्नुभयो।
उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो।
परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो।
परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।
5 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ।
उहाँले इस्राएलका सबै राजमहलहरू
र सबै किल्लाहरू
निल्नु भएकोछ।
उहाँले यहूदाको छोरीलाई,
यस्तो दु:खी र मृत्युमा रूने बनाउनु भयो।
6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो,
मानौ त्यो एउटा बगैंचा हो।
जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे,
उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ।
उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे।
परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो।
परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो।
किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।
7 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो,
उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो।
उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका
पर्खाल पनि ढाल्न लगाउनु भयो।
परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे।
उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।
8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई
ध्वंश गर्ने योजना गर्नुभयो।
त्यसकारण उहाँले ती पर्खालहरू
ध्वंश गर्नु पर्ने ठाउँमा
चिन्ह लगाउन गजले नाप्नु भयो।
त्यस पछि तिनीहरू सबै भत्के।
9 यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए।
यहाँले फाटकका सबै डण्डाहरू टुक्राई धुलो पार्नुभयो।
उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्।
उनीहरूलाई अब शिक्षा दिइने छैन।
र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।
10 सियोनका सबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्।
उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्।
उनीहरूले आफ्नो टाउकोमा धूलो हाले,
अनि भाङ्ग्राको लुगा लगाएका छन्।
यरूशलेमका तरूणीहरू दु:खले टाउको भूइँमा झुकाएकाछन्।
11 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्।
मेरो हृदय दु:खीरहेकोछ।
मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु।
मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो।
नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्।
उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।
12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ
तिनीहरू आफ्ना आमालाई सोध्छन्,
“रोटी र दुध कहाँ छन्?”
13 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ?
हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरूँ?
म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु।
तिमीहरूको विनाश समुद्र झैं विशाल छ।
तिमीहरूलाई कसले जाती पार्न सक्छ?
14 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए।
तर उनीहरूको दर्शनहरू झूटो थियो।
सुधारका निम्ति तिनीहरूले
तेरो दोष देखाएनन्।
तिनीहरूले तेरो विषयमा प्रचार गरे
तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।
15 त्यो बाटो हिँड्ने कुनै पनि मानिसले,
अचम्मले थप्पडी मार्छन्।
तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन्
र टाउको हल्लाउँछन्।
उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’
र ‘सारा पृथ्वीको आनन्द’ भन्ने गर्थे त्यो यही शहर हो?”
16 तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन।
तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्,
“हामी पूर्णरूपले ध्वंश भएका छौं।
साँच्चै आज त्यही दिन हो,
जुन दिनको आशा हामीले गरेका थियौं।
अन्तमा हामीले आज त्यही देखिरहेका छौं,
जो हामीले सोचेका थियौं।”
17 परमप्रभुले त्यही काम गर्नुभयो,
जो उहाँले परिकल्पना गर्नुभएको थियो।
उहाँले त्यही काम गर्नुभयो,
जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो।
उहाँले त्यहि गर्न भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो।
उहाँले कुनै दया नदेखिाईकन नष्ट गर्नु भयो।
तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए।
उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।
18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर।
हे सियोनकी छोरी तेरो पर्खालहरू
आँसुको खोला जस्तै बग्न दे।
रात-दिन तेरो आँसु बग्न दे।
तेरो आँखालाई नरोक शान्त हुन नदे!
19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ।
हृदयलाई परमप्रभुको समीप पोखाऊ।
परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल।
आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर।
भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर।
उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।
20 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्,
म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ?
म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु,
“के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खान्छे र?
के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खान्छन् र?
के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
21 गल्लीहरूमा जवानहरू,
र बूढा मानिसको लाशहरू लडिरहेकाछन्।
तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए।
परमप्रभु जब तपाईं रिसाउनु भयो,
तब तिनीहरूलाई मार्नु भयो।
कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।
22 तपाईंले चारैतिरबाट मकहाँ,
आतङकलाई निम्ताउनु भयो।
तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै
गरेर निम्ताउनु भयो।
कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट
बाँच्न सकेन जसलाई,
हुर्काइ बढाई गरेकी थिएँ,
मेरा शत्रुहरूले तिनीहरूलाई मारे।
1 हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
2 वीणा बजाएर परमप्रभुको स्तुति गर!
दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
सुखमय सुन्दर वाद्यहरू बजाऊ!
4 परमेश्वरको वचन सत्य छ।
उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
5 परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
9 किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।
© 2004, 2010 Bible League International