M’Cheyne Bible Reading Plan
शाऊलले अमालेकीहरूलाई नष्ट गरे
15 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। 3 अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेंडा ऊँट गधा केही बाँकी नराख।’”
4 शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। 5 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। 6 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।
7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए। 8 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। 9 शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे।
शमूएलले शाऊलबाट भएको पाप बताइदिए
10 शमूएलले परमप्रभुबाट खबर पाए। 11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।
12 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।”
त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।[a] 13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?”
15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”
16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”
शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”
17 शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। 18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ 19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।”
20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। 21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”
22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। 23 आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने। 25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”
26 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”
27 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। 28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ। 29 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”
30 शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।” 31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।
32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।”
अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”
33 तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।
34 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के। 35 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।
सरकारको शासकहरूको आज्ञा मान्नु
13 तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। 2 यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ। 3 ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।
4 शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। 5 तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।
6 अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। 7 तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।
अरूलाई प्रेम गर्नु नै व्यवस्था हो
8 तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। 9 म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”(A) यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”(B) 10 प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।
11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। 12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। 13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। 14 त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
यरूशलेमको पतन
52 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 बर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार बर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए। 2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे। 3 डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।
सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे। 4 यसर्थ सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए। 5 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं बर्षसम्म रह्यो। 6 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन। 7 शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।
8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे। 9 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए। 10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए। 11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।
12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं बर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए। 13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो। 14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए। 15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे। 16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।
17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घडेरीहरू, काँसाको ट्याँङ्का तोडे अनि काँसा बाबेलमा लगे। 18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे। 19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे। 20 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसक्ने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।
21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो। 22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाको दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए। 23 त्यस्का छेऊ-छाऊमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।
24 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे। 25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाउँथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठ्ठी जना पुरूषहरूलाई पनि लगे। 26-27 विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए। रिब्ला हमात देशमा छन्। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे।
यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो। 28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः
नबूकदनेस्सर राजा भएको सातौं बर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।
29 नबूकदनेस्सरको राज्यकालको अठारौं बर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।
30 नबूकदनेस्सरको राज्यकालको तेईसौं बर्षमा प्रहरीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो।
जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।
यहोयाकीनलाई मुक्त गराए
31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैंतीस बर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस बर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही बर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए। 32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए। 33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए। 34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
31 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
मलाई निराश नपार्नुहोस्।
मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्।
मेरो चट्टान हुनुहोस्।
मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।
मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्।
तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
मलाई बचाउनु होस्!
6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।
म परमप्रभुमा मात्र भरोसा गर्छु।
7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु।
तपाईंले मेरो पीरहरू देख्नु भएको छ।
मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।
तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो।
9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्,
यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।
यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्।
मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ।
10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।
मेरो उमेर नैराश्यमा बितिरहेछ।
मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ।
मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,
अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्।
सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्।
तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्,
तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै
पूर्ण प्रकारले मलाई बिर्सेकाछन्।
13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।
तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे।
14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।
तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
15 मेरो जीवन तपाईंको हातमा छ,
मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
मलाई तिनीहरूबाट बचाउनुहोस्।
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें।
यसर्थ म असन्तुष्ट हुँदिन।
दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।
तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
18 ती दुष्टहरू अंहकार गर्छन्
अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्।
ती दुष्टहरू घमण्डी छन्,
तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।
तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ
जसले तपाईंलाई विश्वास गर्छन्।
20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।
ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्।
तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ।
तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
21 परमप्रभुको स्तुति होस्!
जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए,
आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु,
जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।
तर मैले तपाईंलाई प्रार्थना गरें,
अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!
परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्।
तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्।
उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
© 2004, 2010 Bible League International