M’Cheyne Bible Reading Plan
जोनाथनले पलिश्तीहरूमाथि आक्रमण गर्छन्
14 एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।
2 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए। 3 एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए।
यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्। 4 वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो। 5 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।
6 जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”
7 जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।”
8 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं। 9 यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं’ भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं। 10 तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढ्छौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”
11 यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।” 12 किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।”
जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”
13-14 जोनाथन हात खुट्टा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिश्तीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिश्तीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाई गरिनै रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे।
15 मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।
16 शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे। 17 शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।”
तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।
18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” (त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।) 19 शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”
20 शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा़ गर्न शुरू गरे। 21 केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले। 22 पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।
23 यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।
शाऊलले दोस्रो चोटि भूल गर्छन्
24 त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरून्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
25-26 युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए। 27 तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरजस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
28 एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”
29 जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ। 30 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
31 त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए। 32 तिनीहरूले पलिश्तीहरूबाट भेंडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
33 शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!”
शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।” 34 फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेंडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेंडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।”
त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे। 35 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैंले वेदी बनाउन शुरू गरे।
36 शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्ने छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”
सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”
तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”
37 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।
38 यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ। 39 म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।
40 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।”
सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
41 तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”
यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्। 42 शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।
43 शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।”
जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”
44 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
45 तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।
46 शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।
शाऊल इस्राएलका शत्रुसँग लडे
47 शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए। 48 शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।
49 शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो। 50 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्।
शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए। 51 शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।
52 शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।
परमेश्वरलाई तिमीहरूको जीवन देऊ
12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। 2 सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।
3 परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। 4 हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। 5 उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।
6 हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। 7 यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। 8 यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।
9 तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। 10 एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। 11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। 12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। 13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।
14 ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। 15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। 16 परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।
17 यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। 18 सबैसँग शान्तिसित बस्ने चेष्टा गर। 19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ,
“दण्ड़ दिने काम मेरो हो,
म साटो फेर्ने छु।”(A)
20 यसर्थ तिमीहरूले यसो गर्नुः
“यदि तिम्रो शत्रु भोको छ भने,
उसलाई खुवाऊ।
यदि तिम्रो शत्रु प्यासा छ भने,
उसलाई पानी देऊ।
यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”(B)
21 दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।
51 परमप्रभु भन्नुहुन्छ,
“म एक शक्तिशाली हावा बाबेल
र ‘लेब कामीका’[a] बासिन्दाहरू माथि बहाउनेछु।
2 म बाबेलमा विदेशीहरू पठाउनेछु
अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ
र उसको जमीन नष्ट पार्नेछ।
तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन्
ती सिपाहीहरूले कवच सम्म लगाउने छैन।
बाबेलका सैनिकहरूमाथि दया नराख।
उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन्
तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”
5 इस्राएलका एकमात्र पवित्रको अघि
तिनीहरूको भूमि
दोषले भरिएको भए पनि
सेनाहरूका परमप्रभुले इस्राएल
र यहूदालाई एक्लै छोड्नु हुन्न।
तर तिनीहरूले उहाँलाई छोडिदिएका छन्।
6 बाबेलदेखि भाग प्राण बचाऊ।
बाबेलको पापको कारणले ध्वंस नहोऊ।
यो समय परमप्रभुले बद्ला लिने समय हो।
उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो।
बाबेलले सारा पृथ्वीलाई मतायो।
सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे।
यसकारण तिनीहरू पागल भए।
8 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ।
उसको लागि विलाप गर,
अनि उसको घाउमा मलहम लगाऊ।
हुन सक्छ ऊ निको हुन्छे।
9 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ,
तर त्यो निको हुन सकेन,
यसकारण हामीले त्यसलाई छोडौं
अनि हामी आफ्नै देशमा जाऊँ।
किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ,
अनि बादलसम्म पुग्नेछ।
10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो।
आऊ, हामी सियोन जाऊँ,
र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।
11 काँडहरू तीखो पार ढालहरू लगाऊ।
परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ।
किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ।
बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए।
यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
12 बाबेलको पर्खालहरूका विरूद्ध
झण्डा माथि उठाऊ।
अझ प्रहरीहरू ल्याऊ।
तिनीहरूका ठीक-ठीक ठाउँमा चौकीदार राख।
धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ
जुन उहाँले योजना बनाउनु भएकोछ।
13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ।
तर तिम्रो अन्त आएको छ।
यो तिम्रो ध्वंस हुने बेला हो।
14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो:
“बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु।
तिनीहरू सलहहरू जतिकै हुनेछन्।
तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन्,
र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”
15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो।
उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो
र उहाँले आफ्नो समझ र बुद्धिले आकाशलाई फैलाउनु भयो।
16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ,
उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ।
उहाँले बर्षासँग बिजुली चम्काउनुहुन्छ।
उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्।
परमेश्वरले के गर्नुभयो सो जान्दैनन्,
हरेक मानिस जसले मूर्ति बनाउँछ,
उसलाई लज्जित पारिन्छ।
किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्।
तिनीहरूमा जीवन छैन।
18 तिनीहरू मूल्याहीन छन्,
छलको काम मात्र गर्छन्।
जब तिनीहरूलाई सजाय दिइन्छ
तिनीहरू सड्नेछन्।
19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न।
मानिसहरूले परमेश्वर बनाएनन्।
परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो।
उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
20 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं,
मेरो युद्धको हतियार।
मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ।
मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
22 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ।
मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ।
मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
23 मैले तिमीलाई गोठालो र भेंडा़वथान माथि प्रहार गर्न चलाएँ।
मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ।
मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
24 तर म बाबेल र सबै कल्दीहरूलाई
तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।”
परमप्रभु ती कुराहरू भन्नुहुन्छ।
25 परमप्रभु भन्नुहुन्छ,
“बाबेल! हे पर्वत नष्ट छ जसले सारा भूमि नै नष्ट पार्छ म तिम्रो विरोधमा छु।
म तिम्रो विरोधमा मेरो हात उठाउँछु।
म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु,
म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
26 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा,
अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्।
किनभने तिमी सधैँका निम्ति काममा नआउने भूमि हुनेछौ।”
परमप्रभुले घोषणा गर्नु भयो।
27 “भूमिमा युद्धको झण्डा उठाऊ।
सबै जाति-जातिहरूमा युद्धको तुरही फुक।
जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार।
अरारत, मिन्नी र अशकनज राज्यहरूलाई
बाबेलको विरूद्ध लडाइँ गर्न डाक।
उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर।
संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार।
मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू
र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे
ती जम्मै देशहरूलाई तैयार पार।
29 जब बाबेललाई जन शून्य,
उजाड भूमि बनाउन परमप्रभुको काम
धर्ती थर-थराउनेछ
अनि बेदनामा परे झैं माडिनेछ।
30 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे।
तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे।
तिनीहरू थकित भए।
तिनीहरू स्त्री जस्तै भए।
बाबेलका घरहरू जलिरहेका छन्।
अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
31 एक सन्देशवाहकको पछि,
अर्को सन्देशवाहक जान्छ,
अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर
बाबेलका राजाकहाँ पुर्याइन्छ।
32 चाँचरहरू घेरामा परे;
सिमसारहरू आगो लगाइए;
सिपाहीहरू भयग्रस्त भए।”
33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ,
“बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ।
बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्।
अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”
34 सियोनका मानिसहरूले भन्नेछन्,
“बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो।
हामीलाई चोट पुर्यायो।
हाम्रा मानिसहरूलाई टाढा पुर्यायो।
उसले हामीलाई खाली भाँडाजस्तै बनायो।
हाम्रा असल-असल थोकहरू सबै लग्यो।
राक्षसलेझैं उसले हामीलाई निल्यो।
हाम्रो राम्रो भोजनले उसले आफ्नो पेट भर्यो।
तब उसले हामीलाई बाहिर थुक्यो।
35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो।
अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौं।”
सियोनका मानिसहरू यो कुरा भन्छन्,
“हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।
तिनीहरूले बिगतमा जे गरेका थिए तिनीहरूमाथि त्यस्तै दण्ड होस्।”
यरूशलेमका वासिन्दाहरूले यो कुरा भन्छन्।
36 यसकारण परमप्रभु भन्नुहुन्छ:
“यहूदा! म तिमीहरूको मामला लिनेछु
र प्रतिशोध गर्नेछु।
म बाबेलको समुद्र सुकाइदिनेछु,
अनि झरनाहरू सुकाइदिनेछु।
37 बाबेल मन्दिरहरूका भग्नावशेषहरूको थुप्रो मात्र भएको छ।
अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ।
मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्।
बाबेलको विषयमा सोचेर मानिसहरू टाउको हल्लाउने छन्।
यो कोही नबस्ने सुनसान ठाऊँ बनिनेछ।
38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्।
तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्।
39 जब तिनीहरू उत्तेजित हुन्छन्
म तिनीहरूलाई एक प्रीति भोज दिनेछु।
म तिनीहरूलाई मताउनेछु।
तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्।
तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।”
तिनीहरू कहिल्यै उठ्ने छैनन्।
परमप्रभुले यी कुराहरू भन्नुभयो।
40 “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ।
तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु।
41 “शीशक परास्त हुनेछ।
सारा पृथ्वीको गौरव र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ।
अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन्
अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ र ढाकिने छ।
यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
43 बाबेलका शहरहरू नष्ट पारिनेछन्।
बासिन्दाहरू बिना ती शहरहरू
सुख्खा मरुभूमि र उदास हुनेछन,
बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्।
44 म बाबेलको बाललाई दण्ड दिनेछु।
उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु।
बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्।
बाबेलको पर्खाल ढल्नेछ।
45 हे मेरो मानिसहरू हो।
बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग।
परमप्रभुको भयानक रीसदेखि भाग।
46 “हे मेरा मानिसहरू हो, नडराऊ।
उड़न्त कुराहरू फैलिनेछ तर नडराऊ।
यो बर्षमा एउटा उड़न्त कुरा आउँनेछ;
अनि अर्को बर्षमा अर्को आउँनेछ,
यस भूमिमा हिंसाको उड़न्त खबरहरू
र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
47 निसन्देह समय आउने छ
जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु
अनि बाबेलका सारा देश लाजले पानी हुनेछ।
बाबेलका गल्लीहरूमा
धैरे लाशहरू लडिरहेका हुनेछन्।
48 तब स्वर्ग र पृथ्वी
अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन्
किनभने ध्वंसकहरू बाबेलसित लड्न
उत्तर दिशाबाट आउनेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।
49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे।
बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे।
यसकारण बाबेलको पतन हुनै पर्छ।
50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ।
एकदम चाँडो बाबेल छोड, नपर्ख।
तिमीहरू घेरै टाढा ठाउँमा छौ
परमप्रभु र यरूशलेमलाई सम्झ।
51 “हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं।
हामी अपमानित भएकाछौं
र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ,
किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”
52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ,
जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु।
त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।
53 स्वर्गसम्म बाबेल बढ्न सक्छ।
उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ।
तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।”
परमप्रभुले यो कुरा भन्नुभयो।
54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं।
बाबेलको देशमा मानिसहरूले नष्ट पारिरहेको आवाज हामी सुन्छौ।
55 परमप्रभुले बाबेललाई नष्ट गरिदिनु हुन्छ,
उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ,
शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्।
पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
56 सेना आउने छ अनि बाबेल नष्ट पार्नेछ।
बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन्
तिनीहरूका धनुहरू भाँचिने छन्।
किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले परिशोधन माँग गर्नुहुन्छ।
उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
57 म बाबेलका ज्ञानी मानिसहरू
र मुख्य हाकिमहरूलाई मताईदिनेछु
म राज्यपालहरू, हाकिमहरू
र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु।
तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन्
तिनीहरू कहिल्यै ब्यूँझिने छैनन्।”
महाराजाले यी कुराहरू भन्नुभयो।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“बाबेलको बाक्लो, बलियो पर्खाल झारिनेछ।
उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ।
बाबेलका मानिसहरू व्यर्थमा
कठोर परिश्रम गर्दछन्।
जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”
यर्मियाले बाबेललाई एक सन्देश पठाउँछन्
59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेलतर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो बर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य भारदार थिए। 60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।
61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु। 62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल नष्ट गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’ 63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ। 64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’”
यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ।
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
© 2004, 2010 Bible League International