Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 11

11 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”

तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”

याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”

शाऊलले याबेश गिलादलाई बचाउँछन्

ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले। शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूलाई के कष्ट भयो? किन रोइरहेकाछन्।”

मानिसहरूलाई याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए। शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए। शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!”

परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के। शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।

शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्ह भित्र तिमीहरूको उद्धार हुनेछ।”

दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए। 10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”

11 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।

12 तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”

13 तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”

14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”

15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा उत्सव मनाए।

रोमी 9

परमेश्वर र यहूदी मानिसहरू

म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झूटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें। तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो। ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।

हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँच्चो मानिस छन्। अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”(A) यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”(B)

10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। 11-12 तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”(C) केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो। 13 जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”(D)

14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। 15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”(E) 16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। 17 धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”(F) 18 यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

19 यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?” 20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ? 21 कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?

22 यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए। 23 परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो। 24 हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ। 25 होशेको कितावमा धर्मशास्त्रले भन्दछ,

“जो मानिसहरू मेरा होइनन्-
    म भन्नेछु ती मेरा मानिसहरू हुन्।
अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ-
    म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”(G)

26 अनि

“त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो,
    ‘तिमीहरू मेरा मानिसहरू होइनौ’
    त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”(H)

27 अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्:

“इस्राएलका मानिसहरू
    समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्।
तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
28     हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।”(I)

29 यस्तै कुरा यशैयाले भनेः

“परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ,
    प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो।
यदि उहाँले त्यसो नगर्नु भएको भए,
    अहिले हामी सदोम,
    र गमोरा जस्तै हुने थियौं।”(J)

30 यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए। 31 अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्। 32 किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैंलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुङ्गामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ। 33 त्यस ढुङ्गाको विषयमा धर्मशास्त्र भन्छः

“हेर, सियोनमा म एउटा ढुङ्गा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ।
    यो एउटा चिहान हो जसले मानिसलाई पाप गर्न लाउँछ।
तर चट्टानमा कसैले विश्वास गर्दछ भने
    उसलाई लज्जित पारिने छैन।”(K)

यर्मिया 48

मोआबको बारेमा सन्देश

48 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

“नबो पर्वतको दुर्भाग्य सामुन्ने छ।
    यो नष्ट हुनेछ।
किर्यातैमको शहर लज्जित हुनेछ
    अनि कब्जामा पर्नेछ।
ती बलिया किल्लाहरू लज्जित
    तथा हतोत्साही हुनेछन्।
मोआबलाई फेरि प्रशंसा गरिने छैन।
    हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे।
तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्ट पारौं,
    ताकि अब उसो एउटा जाति नरहोस्।’
हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ।
    तरवारले तिम्रो खेदो गर्नेछ।
होरोनैमबाट आएको चिच्याहट सुन।
    तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
मोआब नष्ट हुने नै छ।
    उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
मोआबका मानिसहरू रूँदै
    लूहीतको उकालो बाटो जान्छन्।
होरोनैम तिर जाने ओह्रालो बाटोमा
    नष्टको परितापमा क्रन्दन सुनिन्छ।
भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,
    मरुभूमिको जङ्गलमा हुने पोथ्रा झैं बन।

“तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ।
    यसकारण तिमीहरू कैदमा पर्यौ।
उसका अधिकारीहरू र पूजाहारीहरूसितै,
    कमोशलाई देश निष्कासन गरियो।
प्रत्येक शहर नष्ट पारिनेछ
    अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन।
हरेक खाल्टाहरू समतल पारिनेछ,
    समतल भुमी नष्ट हुनेछ।
परमप्रभुले भन्नु भएको कुरा पुरा हुनेछ।
    अनि समतल देश नष्ट पारिनेछ।
मोआबमा खेत बारि भरि नून छरिदेऊ
    किनभने यो निश्चय नष्ट हुनेछ
अनि बासिन्दा कोही नभएर
    मोआब शून्य मरुभूमि हुनेछ।
10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।
    धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।
    मोआब ढुङ्ग्रोमा रहेको र एउटा भाँडादेखि
अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ।
    ऊ कैदी भएर कहिले पनि बसेको छैन,
यसकारण ऊ पहिल्यै जस्तै ताजा नै छ,
    अनि उसको स्वादमा बद्ली आएको छैन।”
12 तब परमप्रभु भन्नुहुन्छ,
“हेर, समय आइरहेछ जब म,
    उसलाई तिम्रो भाँडाबाट खन्याउँन,
अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा
    परिणत गराउन मानिसहरू पठाउनेछु।”

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं
    अथवा हामी वीर योद्धाहरू हौं।’
15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्,
    र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्।
उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।”
यो सन्देश महाराजाको हो,
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
16 “मोआबको अन्त नजिकै छ।
    मोआबलाई चाँडै ध्वंस पारिनेछ।
17 मोआबका वरिपरि बस्ने मानिसहरू
    तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ।
    तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ।
यसर्थ त्यसको लागि रूनु
    ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।
    आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ
सुखा जमीनमा बस,
    किनभने विनाश आइरहेछ,
अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

19 “हे अरोएरमा बस्ने मानिसहरू हो।
    बाटोको किनारमा उभ र हेर,
पुरूष मानिसहरू भागिरहेका हेर,
    स्त्री मानिसहरू भागिरहेका हेर,
    तिनीहरूलाई के भयो सोध।

20 “मोआब धराशायी भएको छ
    लाजले पूर्ण भएको छ।
विलौना गर अनि रोऊ।
    अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
21 समतल देशमाथि न्याय हुने समय आएको छ।
होलोन, यहसा र मेपात शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
24 करियोत र बोज्रा र छेउ,
    टाढाका अनि नजिकका
मोआब सबै शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
25 मोआबको सिंग काटियो
    अनि मोआबको पाखुरा भाँचिएको छ।”
परमप्रभुले यो कुरा भन्नुभयो।

26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो।
अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ।
    मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ।
मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

27 “मोआब तिमीले इस्राएलको हाँसो उडायौ
    इस्राएललाई एउटा चोरका समूहले पक्रे।
प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ।
    अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ।
28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड।
    जाऊ ढुङ्गाहरूमा बस,
ढुकुर जस्तो होऊ,
    जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

29 “हामीले मोआबको घमण्ड सुनेकाछौं,
    ऊ अत्यन्तै घमण्डी थियो।
र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो।
    ऊ आफैं गर्वाम्बित थियो।
    ऊ अतिनै घमण्डी थियो।”

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ सो म जान्दछु,
    उसले आफ्नै प्रशंसाको गीत गाउँछ।
    तर ऊ झूटो अंहकार गर्छ
    ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,
    म सम्पूर्म मोआबको लागि रून्छु।
    म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।
32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।
    हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू
    चारैतिर फैलिंदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो।
तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।
    मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ।
यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्।
    स्वर छ तर आनन्दको स्वर होइन।

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो। 35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो। 37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ।[a] प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ। 38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ।
    यसले आफ्नो पखेंटाहरू मोआब भरि फैलाई रहेछ।
41 शहरहरू कब्जा गरिनेछ,
    बलिया किल्लाहरू घेरामा पर्नेछन्।
त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु,
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
42 मोआब देश नष्ट गराइनेछ।
    किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।”

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:
    “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
44 मानिसहरू डराउने छन् र भाग्ने छन्,
    तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्।
यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन्
    किनभने म मोआबमाथि दण्डको बर्ष ल्याउनेछु।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।
    तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो
र सिहोनबाट ज्वाला गएको छ।
    यसले मोआबको निधार र ती अहिले आनन्द
    मनाउँदै गर्नेहरूको शिरलाई काटेर
    नास पारिदिनेछ।
46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ!
    कमोशका मानिसहरू नष्ट भइरहेका छन्।
तिम्रा छोरा-छोरीहरूलाई,
    कैदी बनाएर लगिनेछ।
47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्।
    तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।”
    यो सन्देश परमप्रभुबाट थियो।

यसरिनै मोआबको सजाय पूर्ण हुनेछ।

भजनसंग्रह 25

दाऊदको भजन।

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
    जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।
    तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
    तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,
    अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।
    उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।
    उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

16 हे परमप्रभु, म पीडित र एक्लो छु,
    मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्।
    मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस्
    र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।
    तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्।
    म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
21 हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ
    म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International