Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 9

शाऊलले पिताका गधाहरूको खोजी गर्छ

कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए। कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।

एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।” शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।

अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”

तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔं। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनु हुन्छ होला।”

शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केही भेंटी पनि छैन। हामीसँग दिने लायकको के छ र!”

फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”

9-11 शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!” यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए।

शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्त्रीहरूलाई बाटोमा भेटे जो पानी भर्न आएका थिए। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)

12 ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्। 13 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगन्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाँडो जानुहोस्।”

14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।

15 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो, 16 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”

17 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”

18 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”

19 शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु। 20 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”

21 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”

22 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए। 23 शमूएलले भान्सेलाई भनें, “जो मैले तिमीलाई दिएको थिएँ त्यो मासु ल्याउ जुन मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”

24 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसँगै खाना खाए।

25 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।

26 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।

27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो।

रोमी 7

विवाहबाट एउटा उदाहरण

दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुन्जेल मात्र आफ्नो अधीनमा राख्दछ। म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुन्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने ऊ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ। तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।

त्यस्तै प्रकारले, मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं। विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो। विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो। तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।

पापको विरूद्ध हाम्रो लडाँई

हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।” तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो। एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो। 10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो। 11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।

12 तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो। 13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।

मानसिका द्वन्द्व

14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।

21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!

यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

यर्मिया 46

राष्ट्रबरूकालागि परमेश्वरको सन्देशहरू

46 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

मिश्रका बारेमा सन्देशहरू

यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार बर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश होः

“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।
    युद्धको लागि अघि बढ।
घोडाहरू तैयार पार सिपाहीहरू,
    आफ्नो घोडाहरूमाथि चढेर,
युद्धभूमिमा जाऊ।
    लडाइँको टोपहरू लगाऊ।
भालाहरू तीखो पार,
    र झिलम लगाऊ।
मैले के देखें?
    सिपाहीहरू भयभीत छन्,
अनि भागिरहेका छन्।
    ती वीर सेनाहरू,
परास्त भइरहेका छन्।
    पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्।
    त्यहाँ वरिपरि त्रास छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

“फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्।
    बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्।
तिनीहरू सबै ठेस लागेर लड्ने छन्।
    उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
नील नदी जस्तै को आइरहेछ?
    को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
यो मिश्र हो जो नील नदी झैं आइरहेछ।
    यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ।
मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु।
    म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
हे घोड-सवार सिपाहीहरू, अघिबढ!
    हे रथ हाँक्नेहरू चाँडो हाँक!
हे वीर सिपाहीहरू, अघि बढ!
    कूश र पूटबाट आएका सिपाहीहरू,
तिमीहरू आफ्ना ढालहरू बोक।
    लूदबाट आएका सिपाहीहरू,
    तिमीहरू धनु समाल।

10 “तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले
    आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ।
    त्यो बद्ला लिने दिन हुनेछ।
तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ।
    तिनीहरूको रगतले तरवार भरिनेछ।
यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक,
    सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।
    अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्।
    तिमी निको हुने छैनौ।
12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।
    तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ।
एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ
    अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।”

13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस
    र तहपन्हेसमा घोषणा गर,
र यसो भन्, ‘युद्धको लागि तैयार होऊ।
    किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
15 तिम्रो गोरू किन फ्याँकिएको छ?
    के त्यो उभिन सक्तैन?
    किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
16 धेरै सिपाहीहरू ठक्करखानेछन् अनि लड्नेछन्।
    तब तिनीहरू परस्परमा भन्नेछन्,
‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ।
    हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा,
टाढो आफ्ना देशमा फर्कौ, हामी भाग्नै पर्छ
    किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
17 उनीहरूको आफ्नै शहरमा, ती सैनिकहरूले भन्ने छन्,
    ‘मिश्रको राजा फिरऊन एक चर्को हल्ला मात्र हो।
    उसको महिमाको समय सक्किएको छ।’”
18 जस्तो म जीवित छु।
    राजा भन्छन्, “यो राजाको नाउँ हो,
सेनाहरूका परमप्रभु आउनु हुनेछ।
    उनी याबेर पर्वत अनि समुद्रको किनारको,
    कर्मेल पर्वत जस्तै महान हुनेछ।
19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,
    दासत्वको लागि तैयार हौं,
किनभने मेमफिस शहर नष्ट हुनेछ,
    ती सहरहरू नष्टहुनेछन्।
    जन शून्य बेकामे भूमि हुनेछ।

20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,
    तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं,
    तिनीहरू सबै पीठ फर्काएर भागे।
    तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्।
तिनीहरूको नाशको समय आईरहेछ।
    तिनीहरू दण्डित हुनेछन्।
22 मिश्र सर्पको झैं आवाज गर्दै
    सुल्किरहेको छ।
किनभने उसको शत्रुहरू तेजले आएकाछन्।
    शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”

23 परमप्रभु भन्नुहुन्छ:
    “तिनीहरूले उसको जङ्गल,
बाक्लो भए पनि फाँड्नेछन्।
    शत्रुका सेनाहरू सलह झैं छन्,
अनि कसैले गन्न सक्तैन।
24 मिश्रकी छोरी लज्जित हुनेछ।
    उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु। 26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”

“यस नष्ट पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

उत्तर इस्राएललाई सन्देश

27 “हे याकूब, मेरो दास! नडराऊ।
    हे इस्राएल, होतोत्साही नबन।
म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर,
    र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु।
याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ,
    अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
28 परमप्रभु भन्नुहुन्छ,
“हे याकूब, मेरो दास! नडराऊ।
    म तिमीसँग छु।
मैले तिमीलाई जहाँ पठाएको थिएँ,
    ती जाति-जातिहरू सबै नष्ट पार्नेछु।
    तर म तिमीलाई पूर्णरूपले नष्ट गर्ने छैन।
तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पर्छ,
    आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु
    र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

भजनसंग्रह 22

प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।

हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
    मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ!
    तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
    अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।

हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।
    इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
    हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
    तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
यसकारण के म कीरा हुँ मानिस होइन?
    मानिसहरू मबाट लज्जित छन्।
    तिनीहरूले मलाई निन्दा गर्छन्।
प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
    उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,
    हुन सक्छ तिमीलाई उनले बचाउलान।
    यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”

हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।
तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
    जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
    म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।

11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
    सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
12 मानिसहरू मेरो चारैतिर छन्।
    तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
13 तिनीहरूले मलाई गर्जंदै
    शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

14 मेरो शक्ति क्षीण भएको छ
    जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मै हाडहरू अलग भइसकेको छन्।
    मेरो आँट हराई सक्यो!
15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।
    मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
    तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
16 ती “कुकुरहरू” मेरो वरिपरि छन्।
    ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्।
    तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।[a]
17 म मेरो हाडहरू देख्न सक्छु
    अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
    तिनीहरूले मलाई हेरिरहेका छन्!
18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
    तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
    मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
    मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
    साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
    महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
    हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
    हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
    परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
    यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
    उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
    ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
    तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
    तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
    र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
    उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
    वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
    तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
    मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
    परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International