Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 7-8

किर्यात्-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए। किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो।

परमप्रभुले इस्राएलीहरूलाई रक्षा गर्नुहुन्छ

इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे। शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”

यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।

शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।

पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले। इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”

शमूएलले एउटा भेंडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेंडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। 10 जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। 11 इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्‌दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे।

इस्राएलमा शान्ति फर्कियो

12 त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”[a] नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”

13 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो। 14 पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए।

त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।

15 शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए। 16 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक बर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे। 17 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।

इस्राएलीहरूले राजाको माग गरे

शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे। शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए। तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे। यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”

यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्। यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। 11 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।

“राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।

13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।

14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। 15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।

16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्। 17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्।

“अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। 18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”

19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ। 20 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”

21 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए। 22 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।”

तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”

रोमी 6

पापको निम्ति मर्नु चाँहि ख्रीष्टको निम्ति जिउनु

हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो।

ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ।

यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। 10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। 11 त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।

12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। 13 तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। 14 पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।

धार्मिकताको कमारो

15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! 16 निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैंलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ। 17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो। 18 तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ। 19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ।

20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। 21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। 22 तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। 23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

यर्मिया 44

मिश्रमा भएका यहूदी मानिसहरूको निम्ति परमप्रभुको सन्देश

44 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो। “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेष मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन। ती ठाउँहरू नष्ट गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो। मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।” तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्। यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू शून्य छन्।’

“यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ? अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई नष्ट पारिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ। के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ? 10 अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुशरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।’

11 “यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूमाथि भयानक घटनाहरू घटुन् भनेर निर्णय गरें। म यहूदाका सारा परिवारलाई नष्ट गर्नेछु। 12 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्। 13 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैंजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु। 14 यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिनँ। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।’”

15 यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउँथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने, 16 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं। 17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्। 18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”

19 तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”

20 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने। 21 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ। 22 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ। 23 सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुशरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”

24 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन, 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउँछौं।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’ 26 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन। 27 म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर नष्ट पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्। 28 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँच्चो हुनेछ? 29 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’ 30 परमप्रभु भन्नुहुन्छ, ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।’”

भजनसंग्रह 20-21

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
    याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
    उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
    उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
    उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
    परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
    परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
    परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
    तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
    तर हामीले जित्यौं! हामी विजेता हौं।

परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
    परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
    जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
    हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
    तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
    तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
    तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
    जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
राजाले परमप्रभुमाथि भरोसा राख्छ।
    सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
    जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
    तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
    उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
    आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
    तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
    तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
    तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
    तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
    हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International