M’Cheyne Bible Reading Plan
पवित्र सन्दूक पलिश्तीहरूका निम्ति समस्या बन्यो
5 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए। 2 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। 3 भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे।
अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। 4 अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो। 5 त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।
6 परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले। 7 जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”
8 अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”
शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।
9 फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो। 10 यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।
जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?” 11 एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”
एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो। 12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।
परमेश्वरको पवित्र सन्दूक फेरि घर लगियो
6 पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे। 2 पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
3 पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”
4 पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”
पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर। 5 गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ। 6 फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।
7 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्। 8 परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाडा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ। 9 त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफैं फैलिएको हो भनेर जान्नुपर्यो।”
10 पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए। 11 त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे। 12 गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
13 बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए। 14-15 गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो।
बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए।
लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे।
त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।
16 पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।
17 यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन। 18 पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।
बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ। 19 जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले। 20 यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
21 किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”
परमेश्वरसँग शान्ति
5 हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। 2 ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। 3 त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। 4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। 5 अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
6 जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। 7 राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। 8 यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
9 हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। 10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। 11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।
आदम र ख्रीष्ट
12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।
आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। 20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। 21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।
43 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।
2 होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’ 3 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”
4 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो। 5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। 6 अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे। 7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।
8 तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे 9 “परमप्रभुले यर्मियालाई भने, ठूल-ठूलो ढुङ्गाहरू हातमा र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटाले छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर। 10 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ। 11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले मर्नु पर्नेहरूको निम्ति मृत्यु ल्याउँनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ। 12 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु। 13 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।’”
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।
घामको लागि आकाश घर सरह हुन्छ।
5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
यसको तापबाट केही पनि लुक्दैन।
परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।
9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
© 2004, 2010 Bible League International