M’Cheyne Bible Reading Plan
परमेश्वरले शमूएललाई बोलाउनु भयो
3 एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।
2 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। 3 शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। 4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। 5 शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”
तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।”
शमूएल आफ्नो ओछ्यानमा गए। 6 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।”
एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”
7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
8 परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”
त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। 9 एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’”
यसकारण शमूएल ओछ्यानमा गए। 10 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”
शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”
11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। 12 मैले एली र त्यसको परिवारको विरूद्धमा जे-जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु। 13 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैँको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। 14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”
15 बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”
शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”
17 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्।
एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
19 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। 20 त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए। 21 शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफैं शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।
3 यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ? 2 हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो। 3 यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ? 4 अँहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छ,
“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ,
अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”(A)
5 जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु। 6 होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।
7 कुनै मानिसले भन्न सक्ला, “जब म झूटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?” 8 तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती भर्तसना हुनै पर्छ।
सबै मानिसहरू दोषी छन्
9 यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं। 10 धर्मशास्त्रले भन्दछ,
“त्यहाँ पापरहित मानिस कोही छैनन्।
एउटै पनि छैनन्!
11 त्यहाँ कोही बुझ्झकी मानिस छैनन्।
त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।
12 सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्,
अनि सबै बेकम्मा भएका छन्।
असल कर्म गर्ने कोही छैन।
एकैजना पनि छैन।”(B)
13 “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्।
तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।”(C)
“तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।”(D)
14 “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।”(E)
15 “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्।
16 जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
17 तिनीहरू शान्तिको बाटो जान्दैनन्।”(F)
18 “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”(G)
19 हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ। 20 किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।
प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ
21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। 22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। 23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। 24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। 25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। 26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।
27 यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। 28 किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ। 29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। 30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। 31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
41 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे। 2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए। 3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।
4-5 गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन। 6 इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने। 7 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए। 8 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्। 9 (नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिन्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।)
10 इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने। 12 यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लड्न लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दह नजिकै भेटे। 13 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए। 14 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए। 15 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
16 यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।
मिश्रतर्फ पलायन
17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
दाऊदको प्रार्थना।
1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
© 2004, 2010 Bible League International