M’Cheyne Bible Reading Plan
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
11 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।
एलीका दुष्ट छोराहरू
12 एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। 13 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो। 14 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। 15 तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”
16 बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”
17 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे।
18 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। 19 प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्।
20 एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ आशिष दिउन्।”
एल्काना र हन्ना घर फर्किए अनि 21 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो।
एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्
22 एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।
23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? 24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। 25 मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?”
तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।
26 बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।
एलीको परिवारमा डरलाग्दो अगमवाणी
27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। 28 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे। 29 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’
30 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ। 31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइन्जेलसम्म जीउने छैनन। 32 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुन्जेल बाँच्ने छैन। 33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुन्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ। 34 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्। 35 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ। 36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’”
तिमी यहूदीहरू पनि पापपूर्ण छौ
2 यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ। 2 ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। 3 तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। 4 के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। 6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। 7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। 8 तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ। 9 जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि। 10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। 11 परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।
12 जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ। 13 व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।
14 गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो। 15 किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।
16 यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।
यहूदीहरू र व्यवस्था
17 तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ। 18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। 19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। 20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। 21 तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं? 22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? 23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ। 24 धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”
25 यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। 26 गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। 27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।
28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। 29 एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
यर्मियाको छुटकारा
40 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे। 2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो। 3 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो। 4 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो रेख-देख गर्ने छु। तर यदि तिमी मसँग आउनँ चाहँदैनौ भनें नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ। 5 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।”
त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे। 6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।
गदल्याहको छोटो शासन
7 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्। 8 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।
9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ। 10 बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन् तिमीहरूको प्रतिनिधित्व गर्न म आफैं मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”
11 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे। 12 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।
13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए। 14 योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्।
15 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान नष्ट हुनेछ।”
16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”
दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
दाऊदको मिक्ताम भन्ने भजन।
1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2 मैले परमप्रभुलाई भने,
“हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
6 मेरो भाग आश्चर्यपूर्ण छ,
मेरो उत्तराधिकार अति सुन्दर छ।
7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
8 परमप्रभुलाई मैले सधैँ
आफू समक्ष राखेको छु
र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
© 2004, 2010 Bible League International