M’Cheyne Bible Reading Plan
खलामा
3 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। 2 सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्। 3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। 4 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”
5 तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
6 यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्। 7 खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
8 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। 9 बोअजले भने, “तिमी को हौ?”
तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
10 तब बोअजले भने, “परमप्रभुले तिमीलाई आशिर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान् छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं। 11 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ। 12 अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ, जो तिमीसित म भन्दा नजिकको आफन्त हो। 13 आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान नभएसम्म यहीं ढल्क।”
14 यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।
बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।” 15 तब बोअजले भने, “तिम्रो ओढ्ने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।”
यसर्थ रूथले आफ्नो ओढ्ने खोलेर समातिन् अनि बोअजले छः पाथी[a] जस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।
16 रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?”
उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्। 17 तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”
18 नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”
बोअज अनि अन्य आफन्त
4 बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”
2 तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।
3 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो। 4 तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”
5 तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”
6 त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।” 7 (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।) 8 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।
9 तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो। 10 म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
11 यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन, 12 तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन, अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। 14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। 15 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन्, अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। 17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
रूथ अनि बोअजका परिवार
18 पेरेसको पारिवारिक इतिहास यो होः
पेरेस हेस्रोनका पिता थिए।
19 हेस्रोन रामका पिता थिए।
राम अम्मीनादाबका पिता थिए।
20 अम्मीनादाब नहशोनका पिता थिए।
नहशोन सल्मोनका पिता थिए।
21 सल्मोन बोअजका पिता थिए।
बोअज ओबेदका पिता थिए।
22 ओबेद यिशैका पिता थिए।
यिशै दाऊदका पिता थिए।
माल्टाको टापूमा पावल
28 जब हामी सुरक्षितसँग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ। 2 पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे। 3 पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु सर्प बाहिर आयो अनि पावलको हातमा डस्यो। 4 त्यहाँ बस्नेहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”
5 तर पावलले हात झड्काले अनि सर्पलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन। 6 मानिसहरूले सोंचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी पर्खिरहे तर त्यस्तो कुनै नराम्रो घट्ना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”
7 त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं। 8 पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे। 9 यस्तो घट्ना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।
10-11 त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिँड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।
पावल रोम जाँदछ
हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढ्यौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो। 12 हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं। 13 हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं। 14 हामीले त्यहाँ केही दाज्यू-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ। 15 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।
पावल रोममा
16 त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।
17 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो। 18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे। 19 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन। 20 यही कारण म तिमीहरूसँग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”
21 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने। 22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”
23 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे। 24 कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्। 25 तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने,
26 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः
तिमीहरू सुन्न त सुन्छौ,
तर तिमीहरू बुझ्दैनौ।
तिमीहरू हेर्छौ अनि देख्छौ,
तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!
27 हो, यी मानिसहरूका मन अहिले बन्द छन्।
यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्,
अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्।
यस्तो भएकोछ,
यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्,
आफ्ना कानहरूले सुन्ने छैनन्,
आफ्ना मनले बुझ्ने छैनन्,
यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’(A)
28 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!” 29 [a]
30 पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए। 31 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।
यर्मियालाई इनार भित्र फालियो
38 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने, 2 “कि परमप्रभु भन्नुहुन्छ, ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैनिक समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’ 3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निःसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।’”
4 तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
5 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
6 त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
7 तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए। 8-9 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने, “मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस् भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
10 तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”
11 यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए। 12 कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे 13 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।
सिदकियाहले यर्मियालाई अझ प्रश्नहरू सोध्छन्
14 तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”
16 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”
17 तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन। 18 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।’”
19 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”
20 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ। 21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएकोछ त्यो हुनेनैछ। 22 सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,:
‘तिम्रा साथीहरू तिमी भन्दा बलिया छन्,
तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए,
अनि तिमीलाई जितेकाछन्।
तिम्रो खुट्टा हिलोमा भास्सियो,
अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।’
23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”
24 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ। 25 ती अधिकारीहरूले मैले तिमीसँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’ 26 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नपठाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।’”
27 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
28 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
11 म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ?
किन तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ?”
2 दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्।
तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर,
धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्।
3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने!
तब असल मानिसहरूले के गर्नु पर्ला?
4 परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।
अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल
अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
5 परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ
तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।
6 उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउँनु हुन्छ,
ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।
7 तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ।
धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।
प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
12 हे परमप्रभु मलाई बचाउँनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5 तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइईँ गर्नेछु।”
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
© 2004, 2010 Bible League International