Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 19

एक लेवी मानिस अनि तिनकी स्त्री सेविका

19 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।

एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्। तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्। तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए। त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।

चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना ज्वाँईलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।” यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए। ती लेवी हिँड्नलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।

तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना ज्वाँईलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।

त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”

10 तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुइ गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे। 11 दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”

12 तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौंठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इस्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।” 13 लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौं। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”

14 यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ। 15 यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।

16 त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।) 17 ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”

18 त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको थिएँ र अहिले घर फर्कदैछु तर कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्। 19 तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”

20 ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।” 21 तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।

22 त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”

23 त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन्। यस्तो भयानक पाप नगर। 24 हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई प्रयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”

25 तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए। 26 बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुन्जेल त्यहाँ लडिरहीन्।

27 त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्। 28 त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्।

त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे। 29 जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्रा-टुक्रा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्रा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे। 30 त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”

प्रेरित 23

23 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।” हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”

पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”

पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’(A)

सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!”

जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सदुकीहरू माझ गहन तर्क शुरु हुन थाल्यो। सभा दुइ दलमा विभाजन भयो। सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्। ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौं। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्यो होला!”

10 तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।

11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो अनि भन्नुभयो, “साहसी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

केही यहूदीहरूको पावललाई मार्ने योजना

12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे। 13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए। 14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैंले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारून्जल सम्म न केही पिउँछौं न केही खानेछौं। 15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी भई बाटोमा बस्नेछौं।”

16 तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए। 17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।” 18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”

19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्। 21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पर्खिरहेका छन्।”

22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”

पावललाई सिजरिया पठाईयो

23 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ। 24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।” 25 सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे:

26 क्लौडियस लायसिअसबाट,

महामहिम राज्यपाल फेलिक्सलाई,

नमस्कार:

27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ। 28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ। 29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन। 30 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।

31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे। 32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए। 33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

34 राज्यपालले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने। 35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।

यर्मिया 33

परमेश्वरको प्रतिज्ञा

33 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।

“‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।

“‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’

10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ। 11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले गुन्जयमान हुनेछ। ती मानिसहरूले भन्ने छन्,: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैँ कृपालु हुनुहुन्छ।’ तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन् कारण यस ठाउँबाट जे-जे लुटिएको थियो म त्यो पुनः बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु।” परमप्रभु भन्नुहुन्छ।

12 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेंडा़ गोठालाहरूले भेंडा़ बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने खर्कहरू हुनेछन्। 13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेंडा़का बथानहरू हुनेछन् अनि भेंडा़ गोठालाहरू र भेंडा़हरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।

असल शाखा

14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु। 15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ। 16 यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’”

17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैँ सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ। 18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”

19 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो। 20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्। 21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्। 22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् तिनीहरूको संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

23 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे। 24 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’”

25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए। 26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”

भजनसंग्रह 3-4

यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।

हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
    धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
    परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
    तपाईंले मलाई महान् बनाउनु भयो।

म परमप्रभुलाई प्रार्थना गर्नेछु
    र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।

म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
    किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
    तर म ती शत्रुहरूदेखि डराउने छैन!

हे परमप्रभु, उठ्नु होस्!
    हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
    तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

हे परमप्रभु, विजय तपाईंको हो!
    आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।

प्रमुख संगीतकारको लागिः तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।

हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु
    मलाई जवाफ दिनुहोस्।
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्!
    मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?
    मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ।
    त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।
    यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।
    जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,
    र उहाँमा भरोसा राख।

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?”
    हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!
हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो।
    जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।
    किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International