M’Cheyne Bible Reading Plan
दानले लैश शहर कब्जा गर्छन्
18 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।
2 यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”
ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए। 3 ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”
4 मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।
5 यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”
6 पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”
7 यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।
8 ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”
9 ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं। 10 जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
11 यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिंडे। तिनीहरू युद्धको निम्ति तयार थिए। 12 लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात-यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसै कारणले गर्दा किर्यात-यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ। 13 त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।
14 यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।” 15 यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे। 16 दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए। 17-18 ती पाँच जासूसहरू घरभित्र पसे। पूजाहारी बाहिर फाटक छेउमा ती छ सय मानिसहरूका साथ उभिए जो युद्धका निम्ति तयार थिए। ती मानिसहरूले कुँदेको मूर्ति, एपोद र घर का-मूर्तिहरू उठाए। त्यो जवान लेवी पूजाहारीले भने, “तिमीहरू के गरिरहेछौ?”
19 ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल! हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
20 यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।
21 त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।
22 दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्रे। 23 मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
24 मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
25 दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्रमण गर्न सक्छन्। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”
26 तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।
27 यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्रमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्रमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
28 लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो। 29 दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।
30 दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
31 दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।
पावल मानिसहरूसँग बोल्छन्
22 पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”
2 पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,
3 “म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको[a] शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासँग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ। 4 जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।
5 “प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यू-भाइहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ। म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ।
पावलले आफ्नो परिवर्तन बारे भन्छन्
6 “म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घट्ना घट्यो। त्यति बेला मध्यान्न भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो। 7 म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’
8 “मैले सोधें, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’ 9 मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।
10 “मैले भने, ‘मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’ 11 मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसँग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।
12 “दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे। 13 हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।
14 “हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो। 15 सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफूले देखेका र सुनेका कुराहरू भन्नेछौ। 16 अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’
17 “त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए। 18 मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन्।’
19 “मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ। 20 मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’
21 “तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।’”
22 पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुन्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!” 23 तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए। 24 तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए। 25 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्रा लगाउने अधिकार छ?”
26 जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”
27 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चै रोमी नागरिक हौ?”
पावलले जवाफ दिए, “हजुर।”
28 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको छु।”
तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”
29 ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाडेर गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।
पावल यहूदी अगुवाहरूसँग बोल्छन्
30 सेनापतिले यहूदीहरू किन पावललाई दोष्याईरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महा-सभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।
यर्मियाले नयाँ क्षेत्र किन्छ
32 यहूदामा सिदकियाहको शासनकालको दशौं बर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं बर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं बर्ष थियो। 2 त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो। 3 यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको? 4 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर नि:सन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ। 5 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरून्जेल सम्म ऊ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
6 कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो। 7 ‘यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि “तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।”’
8 “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’”
यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो। 9 मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल[a] चाँदी ओजन गरें। 10 मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें। 11 तब तमसुक लिएँ दुवै व्यवहार र शर्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको प्रतिलिपि मैले लिएँ। 12 अनि मैले बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखें।
13 मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने, 14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’ 15 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’”
16 नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसँग प्रार्थना गरें:
17 “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंले विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन। 18 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो। 19 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ। 20 हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैंले आज प्रसिद्ध पार्नु भएकोछ। 21 तपाईंले आफ्नो अलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।
22 “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो। 23 इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुशरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा सङ्कटहरू ल्याउनु भयो।
24 “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।
25 “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
26 त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ आई पुग्यो 27 “यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।” 28 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्। 29 बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्। 30 मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हातद्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो। 31 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ। 32 म यरूशलेमलाई नष्ट गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
33 “ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि-घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्। 34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
35 “बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
36 “तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ, 37 ‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु। 38 तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु। 39 म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैँ सम्मान गर्नेछन्।
40 “‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैँ भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्। 41 तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।’”
42 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु। 43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्। 44 तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।
पहिलो भाग
(भजनसंग्रह 1–41)
1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
पापीहरूको जस्तो जीवन बिताउँदैन,
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
ऊ ठीक समयमा फल दिने रूख सरह हो।
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।
4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
तिनीहरूबाट अलग हौं।”
4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
5 तब परमेश्वर रिसाउनु हुन्छ,
अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
सियोन मेरो एक विशेष पर्वत हो।”
7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
तिमी मेरा पुत्र भयौ।
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
© 2004, 2010 Bible League International