Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 17

मीकाका मूर्तिहरू

17 मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाडी देशमा बस्थे। मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”

उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”

मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेंटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”

तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेल[a] का सिक्का लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो। मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने। त्यससमय, इस्राएलका मानिसहरूका राजा थिएनन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो ऊ स्वयंले सही छ भन्ने ठान्थ्यो।

त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहूदाका थिए। तिनी यहूदाका कुल समूह माझ बस्दै थिए। त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाडी देशमा थियो। मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?”

त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”

10 तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।”

त्यो लेवीले त्यही गरे जो मीकाले भने। 11 जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिसका मीकाका एउटा छोरा जस्तै बने। 12 मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे। 13 अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”

प्रेरित 21

पावल यरूशलेम जाँदछन

21 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं। पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।

हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो। हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए। तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गर्यौ। त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौ। चेलाहरू घर फर्के।

हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसँग एकदिन बस्यौं। अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए। उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।

10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदियाबटा आए 11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।’”

12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं। 13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!”

14 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”

15 त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं 16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं।

पावल याकूबलाई भेट गर्न जाँन्छन्

17 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए। 18 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए। 19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृतान्त सुनाए।

20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ। 21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।

22 “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्। 23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्। 24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।

25 “गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः

‘मूर्तिहरूमा चढाएको खाद्य नखानु।

निमोठेर मारेका पशू नखानु, रगत नखानु।

र कुनै प्रकारको व्यभिचार नगर्नु।’”

पावलको पक्राऊ

26 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिइने त्यसको उद्घोषण गर्न तिनी मन्दिरभित्र गए।

27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे। 28 तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!” 29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसँग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।

30 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए। 31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए। 32 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।

33 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा साङ्लाहरूले बाँध्नु भनी हुकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?” 34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन्। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे। 35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए, “त्यसलाई मार!”

37 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसँग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?”

सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ? 38 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र ऊ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”

39 पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसँग बोल्न दिनुहोस्।”

40 सेनापतिले पावललाई मानिसहरूसँग बोल्नु अनुमति दिए। यसकारण उनी सिँढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुन भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसँग बोले। उनले यहूदी भाषामा तिनीहरूसँग बोले।

यर्मिया 30-31

आशाका वचनहरू

30 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो। परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख। यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”

परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो। उहाँले भन्नुभयो,

“मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ।
    मानिसहरू तर्सेका छन्, त्यहाँ शान्ति छैन।

“यो प्रश्न सोध, र यसलाई हेर:
    के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन।
तब म किन प्रत्येक लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर,
    प्रसव पीडामा परेकी स्त्री भूँडीमाथि हात राखी बसेकोझैं झैं देख्छु।
किन हरेक मानिसको अनुहार मरेको मानिस झैं पहेंलो भएको छ?

“हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ!
    कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन।
याकूबको निम्ति यो अति दु:खको दिन हुनेछ,
    तर याकूबलाई बचाइनेछ।

“त्यस समयमा,” परमप्रभु सर्व-शक्तिमान परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। बिदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।

10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।”
    यो परमप्रभुबाट आएको सन्देश हो।
“हे इस्राएल! नडराऊ!
    म तिमीलाई ती सुदूरका देशहरूबाट
जोगाएर ल्याउँछु
    अनि तिमीहरूका सन्तानहरूलाई
    कैदी बनाउने देशहरूबाट जोगाउनेछु।
याकूब फर्कनेछ,
    अनि फेरि शान्ति पाउनेछ
    र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11 हे इस्राएल र यहूदका मानिसहरू,
    म तिमीहरूसँग छु।”
यो परमेश्वरबाट आएको सन्देश हो।
    “म तिमीहरूको रक्षा गर्नेछु।
    मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें
ती सब नष्ट पार्नेछु,
    तर तिमीहरूलाई नष्ट पार्दिन।
    यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि,
सजाय भोग्ने पर्नेछ,
    तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”

12 परमप्रभु परमेश्वर भन्नुहुन्छ,
    “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन।
    तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
14 तिमीहरूका प्रेमीहरूले[a]
    तिमीहरूलाई भूलेका छन्,
    अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्।
म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु।
    तिमीहरूका धेरै दुष्टकर्महरू
र अनगन्ती पापहरूको कारणले
    म तिमीहरूलाई कडा दण्ड दिनेछु।
15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक,
घाउका निम्ति किन रोइरहेका छौ?
    त्यसको कुनै उपचार नै छैन।
मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू,
र अनगन्ती पापहरूको कारणले,
    तिमीहरूलाई यस्तो पारेको छु।
16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई
    नष्ट पार्छन् तिनीहरूलाई पनि नष्ट परिनेछ।
    तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ।
ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन्।
    तिनीहरू आफै नष्ट हुनेछन्।
ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन्
    अरूले तिनीहरूलाई लुटनेछन्।
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु।
    अनि म तिमीहरूका घाउ निको पार्ने छु” यो परमप्रभुको सन्देश हो,
“किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै
    बहिष्कार गरिएको भनेका छन्।”

18 परमप्रभु भन्नुहुन्छ:
“हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु।
    डेराहरूप्रति दयाममा दया नगर।
मेरो याकूबको पालहरूमाथि दया रहने छ।
    ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ।
    अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
19 तिनीहरूबाट धन्यवादको स्तुतिगान,
    र आनन्दको स्वर गुन्जिनेछ।
म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति,
आशीर्वाद दिनेछु।
    तिमीहरू कम्ती हुनेछैनन्।
म तिनीहरूमा गौरव ल्याउनेछु
    र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्।
    तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ।
    जसले तिनीहरूमाथि अत्याचार गर्छ,
    म तिमीहरूलाई दण्ड भोगाउनेछु।
21 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ।
त्यो मानिस उसका मानिसहरूबाट हुनेछ।
    म उसलाई मेरो नजिक ल्याउनेछु
र ऊ मेरो नजिक आउनेछ।
    यदि मैले उसलाई नबोलाएँ कसले मेरो अघि आउने सहास गर्छ,
    परमप्रभु भन्नुहुन्छ।
22 तिमीहरू मेरो प्रजा हुनेछौ।
    अनि म तिमीहरूका परमेश्वर हुनेछु।”

23 हेर! परमप्रभुको आँधी!
    उहाँको क्रोध बाहिर जान्छ!
यो गर्जिरहेको आँधी हो!
    त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
24 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन
    जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न।
त्यो दिन कहिले आउनेछ।
    पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।

नयाँ इस्राएल

31 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”

परमप्रभुले यी कुराहरू भन्नुभयो:
    “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्,
तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन्
    अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि
    देखा पर्नु हुन्छ।

परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें,
जुन सर्वदा रहीरहन्छ।
    यसर्थ मैले तिमीहरूलाई,
    मेरो विश्वासयोग्यता कायम राखेको छु।
हे कुमारी इस्राएल! म तिमीलाई पुन:र्निर्माण गर्नेछु।
    तिमी पुन एक राजधानी हुनेछौ।
तिमीहरूले फेरि आफ्नो खैंजडी उठाउने छौ,
    अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।
तिमीहरूले दाखरसको खेती
    फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ।
    जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ,
    ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’
एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”

परमप्रभु भन्नुहुन्छ:
“आनन्दित हौ अनि याकूबका निम्ति गाऊ।
    इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर।
प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ
    ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन्
    तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
हेर, म तिनीहरूलाई उत्तरबाट
    र टाढो-टोढो देशहरूबाट ल्याउनेछु
अनि भेला पार्नेछु।
    तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्।
कतिपय स्त्रीहरू गर्भवती छन्,
    अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्।
    तर धेरै-धेरै मानिसहरू फर्की आउनेछन्।
तिनीहरू रूँदै आउनेछन्।
    तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु।
म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु
    ताकि तिनीहरू लड्ने छैनन्।
    म तिनीहरूलाई यस्तो पथ डोर्याउँने छु
किनभने इस्राएलको निम्ति म पिता हुँ,
    अनि एप्रैम मेरो जेठो छोरो हो।

10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन
    यो सन्देश समुद्र, उत्तर र सुदूर भूमिहरूमा फिँजाऊ,
‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ,
    तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ
    र भेंडा़ गोठालाले आफ्नो भेंडा़ बथानहरू सुरक्षा गरे झैं सुरक्षा गर्नुहुनेछ।’
11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ
    र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्।
    तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ।
असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ।
    परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस,
    भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ।
तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ।
    इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्।
13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाँच्नेछन्।
    अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्।
म तिनीहरूका उदासीपनलाई हर्ष र अनन्दामा परिवर्तन गरिदिन्छु।
    म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु।
    मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

15 परमप्रभु भन्नुहुन्छ:
“रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो।
    एकदमै नराम्रो रूवाई र दुःखको आवाज।
राहेल आफ्ना नानीहरूका लागि रूनेछिन,
    राहेललाई सान्त्वना दिनु सकिदैन,
    किनभने उनका नानीहरू मरेका छन्।”

16 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर,
    र आफ्ना आँखाहरू आँसुले नभर।
तिमीहरू तिमीहरूको कामको निम्ती पुरष्कृत हुनेछौ।
    किनभने तिम्रो काम फलवन्त हुनेछ।
    तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।
17 तिमीहरूको आशा छ।”
    यो परमप्रभुबाट आएको सन्देश हो।
“तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।
18 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु।
    ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो,
अनि मैले शिक्षा पाएँ।
    म बाछा जस्तै थिएँ, जसलाई सिकाउनु सकिदैन।
मलाई फर्काई ल्याउनु होस्,
    अनि म तपाईंकहाँ फर्की आउनेछु।
    तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
19 परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ।
    तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ।
    यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ
आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा
    म लज्जित र व्याकुल भएँ।’”
20 परमप्रभु भन्नुहुन्छ,
“तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो,
    म त्यो बालकलाई विशेष प्रेम गर्छु,
हो, मैले प्राय एप्रैमलाई निन्दा गरें,
    तर म अझ उसैको बारेमा सोच्दछु,
म उसलाई साँच्चै माया गर्छु।
    अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”

21 “बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर।
    घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ।
बाटो नियाल।
    आफूले छाडेका बाटे याद गर।
हे कन्ये इस्राएल! घर फर्क।
    आफ्ना शहरहरू तिर फर्केर आऊ।
22 हे अविश्वासी छोरी,
    कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?

“परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ,
    एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछे।”

23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु, जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन: एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’

24 “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेंडा़का बथानहरूसित वरिपरि घुमिहिँड्छन्। 25 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”

26 यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

27 “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु। 28 बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न, च्यात-च्युत पार्न, नष्ट पार्न र नोक्सान गर्न नियालें। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउनँ म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

29 “ती दिनहरूमा, मानिसहरूले भन्ने छैनन्:

‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए,
    अनि नानीहरूले अमीलो स्वाद पाए।’

30 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”

नयाँ करार

31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। 32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। 34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”

परमप्रभुले इस्राएललाई कहिल्यै त्याग्नु हुने छैन

35 उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ,
    अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ।
उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ।
    सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।

परमप्रभुले यी कुराहरू भन्नुभयो:
36 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ,
“यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र
    इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोक्नेछन्।”

37 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन।
    त्यो त्यसबेला मात्र घट्न सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो भने,
    अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने।
त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई,
    तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।”
यो सन्देश परमेश्वरबाट आएको थियो।

नयाँ यरूशलेम

38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ। 39 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोर्हा नाउँका ठाउँसम्म जानेछ। 40 समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू किंद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”

मर्कूस 16

येशू मृत्युबाट बौरी उठेको समाचार

(मत्ती 28:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)

16 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”

जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।

उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”

ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।

(प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)

केही चेलाहरूले येशूलाई देख्छन्

(मत्ती 28:9-10; यूहन्ना 20:11-18; लूका 24:13-35)

हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापर्नु भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो। 10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए। 11 मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।

12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन। 13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।

येशूले प्रेरितहरूसँग कुराकानी गर्नु भयो

(मत्ती 28:16-20; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

14 त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।

15 येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर। 16 जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ। 17 अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्। 18 तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”

येशूको स्वर्गारोहण

(लूका 24:50-53; प्रेरित 1:9-11)

19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो। 20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International