Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 8

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”

तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख, मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र? यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्।

गिदोनले मिद्यानका दुइ राजाहरूलाई कब्जा गर्छन्

जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”

तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”

गिदोन सुक्कोत शहर छोडेर पन्‌एल शहर तिर गए। गिदोनले पन्‌एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्‌एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए। यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

10 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 स-शस्त्र सैनिकहरू मारिएका थिए। 11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्। 12 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

13 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए। 14 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।

15 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” 16 गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे। 17 गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

18 तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”

जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

19 गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाइहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”

20 त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।

21 तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।

गिदोन एपोद बनाउछन्

22 इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”

23 तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”

24 इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”

25 यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले। 26 जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700 शेकेल[a] भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्री पनि दिए।

27 गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा प्रयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।

गिदोनको मृत्यु

28 मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस बर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।

29 त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे। 30 गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए। 31 गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।

32 यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे। 33 गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुशरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए। 34 इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्। 35 इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।

प्रेरित 12

हेरोद अग्रिपाले मण्डलीलाई सताए

12 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए। हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो। हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे। यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।

पत्रुसले जेल छोडदछन्

पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो। अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए। स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”

तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। 10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।

11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”

12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए। 13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई। 14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!” 15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँच्चो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”

16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे। 17 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।

18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे। 19 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए।

हेरोद अग्रिपाको मृत्यु

पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे। 20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। 22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” 23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।

24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।

25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

यर्मिया 21

परमप्रभुले राजा सिदकियाहको बिन्ती रद्द गरीदिनु भयो

21 यो सन्देश परमप्रभुबाट यर्मियाकहाँ आएको हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए। पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”

तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन ‘यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ: तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।

“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु। म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु। म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा-रूढीले मर्नेछन्।’” यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’

“यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु। ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफैं सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्। 10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिनँ।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’”

11 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन,
    ‘परमप्रभुका वचनहरूलाई महत्व देऊ।
12 हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ:
मानिसहरूलाई निष्पक्ष न्याय गर
    र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर।
यदि तिमीहरूले त्यसो गरेनौ भने
    रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु।
    यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’

13 “हे यरूशलेम! म तिम्रो विरूद्धमा छु।
    तिमी मैदानमा भन्ज्याङ्ग माथिको पहाडमाथि बस्छौ।
तिमी यरूशलेमका मानिसहरू भन्छौ,
    ‘कसैले तिमीहरूलाई आक्रमण गर्न
    र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’
तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।”

14 “तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ।
    म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु।
    त्यो आगोले तिमीहरू वरिपरि भएका
सारा चीजहरू जलाई दिनेछ।”

मर्कूस 7

परमेश्वरको नियम र आज्ञाले मानिसहरू बनिन्छन्

(मत्ती 15:1-20)

फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।

यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”

येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्:

‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्,
    तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ,
    किनभने तिनीहरूले सिकाएका कुराहरू,
    केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’(A)

तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”

तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। 10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ 11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। 12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। 13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”

14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। 15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।” 16 [a]

17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे। 18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन 19 किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)

20 फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ। 21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या 22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। 23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”

येशूद्वारा अयहूदी आइमाईलाई मद्दत

(मत्ती 15:21-28)

24 येशूले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन। 25 एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।

26 त्यो आईमाई यहूदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।

27 येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”

28 आइमाईले भनी, “प्रभु, त्यो साँच्चो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”

29 तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”

30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।

बैह्रो मानिस येशूद्वारा निको भएको

31 त्यपछि येशूले टायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो। 32 जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।

33 येशूले त्यस मानिसलाई भीडबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो। 34 येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा!”) 35 जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि ऊ स्पष्ट बोल्ने भयो।

36 येशूले यी सबै भएका घट्नाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कड़ा आज्ञा गर्नुभयो। उहाँले सधैँ नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने। 37 मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International