Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 5

दबोरा र बाराकको स्तुति गीत

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

“इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए।
    तिनीहरू स्वेच्छाले युद्धमा जाने भए!
परमप्रभुलाई धन्यवाद चढाऊ!

“हे राजाहरू हो। सुन!
    हे शासकहरू हो। सुन!
म गाउनेछु।
    म स्वयं परमप्रभु प्रति गाउँनेछु।
म परमप्रभुका निम्ति,
    इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।

“हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो।
    तपाईं एदोम देशबाट हिंड्नु भयो।
तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो,
    आकाशबाट वृष्टि भयो,
    मेघहरूले पानी बर्साए।
परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।

“अनातका छोरा शमगरको समयमा,
    याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए।
    व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

“त्यहाँ कोही सेनाहरू थिएनन्।
    दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई,
    तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

“परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो।
    शहरका द्वारहरूमा लड्नका निम्ति।
इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल
    अनि एक भाला पाउँन सकेनन्।

“मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ,
    जो स्वेच्छाले युद्धमा जाने भए!
परमेश्वर प्रति धन्यवाद चढाऊ!

10 “सेतो गधाको ढाडमा चढ्ने,
    जीनको कम्बलमा बस्ने
    अनि बाटोमा हिंड्ने
    तिमी मानिसहरू ध्यान देऊ।
11 पशुहरूको लागि पानी भएको खाडलहरूमा
    हामी झ्याम्टाको सङ्गीत सुन्दछौं।
मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय,
    जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए,
    त्यस विषयमा गाउँछन्।

12 “जाग, व्यूँझ दबोरा!
    जाग, जाग अनि गीत गाऊ!
हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ
    तिम्रा शत्रुहरूलाई कब्जा गर।

13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ।
    परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

14 “एप्रैमका मानिसहरू
    अमालेकको पहाडी देशबाट आए।
बिन्यामीन, ती मानिसहरूले,
    तिमी अनि तिम्रा मानिसहरूको अनुशरण गरे।
अनि, माकीरका कुलका सेनापतिहरू
    त्यहाँ उपस्थित थिए।
जबूलून कुल समूहको नायकहरू
    अधिकारीहरू र कर्मचारीहरूसित आए।
15 इस्साकारका अगुवाहरू दबोरासितै आए;
    तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए।
    ती मानिसहरू हिंडेर भञ्ज्याङ गए।

“रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।
16 यसर्थ, तिमीहरू किन भेंडा-शिबिरका अग्निहरूमा अलमली बस्यौ?
रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे।
    तर तिनीहरूले आफ्ना भेंडाहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।
17 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ
आफ्ना छाउनीमा बसे।
    अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ?
आशेरका मानिसहरू सागर छेउमा बसे,
    आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।

18 “तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।
19 कनानका राजाहरू युद्ध गर्न आए,
    तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्।
तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।
20 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे,
    आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।
21 कीशोन नदी-त्यो प्राचीन नदीले
    सीसराका मानिसहरूलाई बगाएर लग्यो।
मेरो आत्मा, पराक्रम सहित अघिबढ!
22 घोडका टापहरूले भूइँ ठोके।
    सीसराका शक्तिशाली घोड झन्-झन् दौडे।

23 “परमप्रभुका स्वर्गदूतले भन्नुभयो,
‘मेरोज शहरलाई श्राप देऊ,
    यसका मानिसहरूलाई श्राप देऊ।
परमप्रभुलाई सघाउन तिनीहरू
    सेनासित आएनन्।’
24 याएल केनी हेबेरकी पत्नी थिइन्।
    तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।
25 सीसराले पानी मागे,
    याएलले उसलाई दूध दिइन्।
शासकलाई कचौरामा तिनले
    राम्रो घिऊ ल्याइदिइन्।
26 तब याएल बाहिर गइन् अनि पालको कीला लिइन्।
    तिनको दाहिने हातले एउटा मार्तोल लिइन,
    जो एकजना मजदूरले प्रयोग गर्छ।
त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्,
तिनले उसको शिरमा हिर्काइन्,
    अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।
27 उनी याएलका पाउ माझ घोप्टो परे
    उनको मृत्यु भयो।
अनि उनी त्यहीं लडे।
    जहाँ सीसरा घोप्टो परे,
त्यहीं त्यसको मृत्यु भयो।
    अनि तिनी मृत्यु लोकमा पुगे।

28 “हेर, त्यहाँ सीसराकी आमा छिन्,
    झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्,
अनि विलाप गर्दै छिन्।
‘सीसराको रथ किन यति ढीलो भयो?
    उसको रथको आवाज म किन सुन्दिन?’

29 “तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन्
    साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।
30 ‘म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे,
    अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्।
    तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँड्दैछन्।
प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्।
    हुनसक्छ, सीसराले एक टुक्रा रंगीन वस्त्र भेट्टाए।
त्यो यही हो! सीसराले एक टुक्रा बेल-बुट्टादार वस्त्र।
    हुन सक्छ, दुइ टुक्रा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।’

31 “हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्!
    अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”

यसरी त्यो भूमिमा 40 बर्षसम्म शान्ति रह्यो।

प्रेरित 9

शावलको जीवन परिवर्तन

त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”

त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।

10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!”

हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ। 12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”

13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ। 14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। 16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”

17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

18 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। 19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।

शावलले दमीशकमा प्रचार गर्दछन्

शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे। 20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

21 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

22 तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।

शावल यहूदीहरूबाट बाँचे

23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। 24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। 25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।

शावल यरूशलेममा

26 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। 27 तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।

28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। 29 शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। 30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

31 त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

पत्रुस लिड्डामा र जोप्पामा

32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। 33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो 34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। 35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।

36 जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैँ पैसा दिन्थिन्। 37 पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए। 38 जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”

39 पत्रुस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए। 40 पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी फर्किए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्। 41 पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!

42 जोप्पाको चारैतिरका मानिसहरूले त्यो घट्नाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे। 43 पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे।

यर्मिया 18

कुमाले र माटो

18 यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो “कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”

यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें। उसले नरम माटोबाट एउटा हाँडी बनाउँदैथ्यो। तर हाँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हाँडी बनायो।

तब परमेश्वरको सन्देश मकहाँ आयो “इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ। एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र नष्ट पार्नेछु। तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला। अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु। 10 तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।

11 “यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’ 12 तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु, हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।’”

13 यसकारण परमप्रभु भन्नुहुन्छ:

“अन्य जातिहरूलाई यो सोध:
    ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं,
    दुष्ट कर्महरू गरेको सुनेका छौ?’
अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो।
    इस्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो।
14 तिमीहरू जान्दछौ कि
    लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन
    अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।
15 तर मेरा मानिसहरूले मलाई बिर्सिए।
तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए।
    तिनीहरू पूरानो बाटोबाट फर्किए।
अहिले तिनीहरू राम्रा सडकहरू छाडेर
    किनाराका पथहरू पछ्याउँछन्।
16 तिनीहरूको भूमि जन शून्य,
    एक निन्दाको वस्तु हुनेछ।
त्यहाँबाट जाने पदयात्रीहरू दु:खीत हुन्छन्,
    अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
17 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै
    म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु।
तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन्
    तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”

यर्मियाको चौथो गुनासो

18 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”

19 हे परमप्रभु ध्यान दिनुहोस्!
    अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
20 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ?
    अँह सम्झना गर,
    म तपाईं समक्ष उभिएँ
अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन
    तपाईंसित वकालत गरें।
    तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
21 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्।
    शत्रुका तरवारहरूले तिनीहरू परास्त होऊन्।
तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्।
    यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्।
    तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
22 जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ
    तिनीहरूको घरमा ठूलो चित्कार होस्।
यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फँसाउन खाडल खने,
    अनि मेरो खुट्टा समात्न पासो थापे।
23 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ।
    तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्।
तिनीहरूका पापहरू नमेटी दिनुहोस्।
    मेरा शत्रुहरूलाई नष्ट गर्नु होस्।
जब तपाईं क्रोधित हुनुहुन्छ।
    ती मानिसहरूलाई दण्ड दिनु होस्।

मर्कूस 4

बिऊ छर्ने खेतीवालको वारेमा दृष्टान्त

(मत्ती 13:1-9; लूका 8:4-8)

अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढ्नु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे। येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,

“सुन! एकजना किसान बीऊ छर्न गयो। जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए। केही बीऊहरू चट्टान भएको भूईँमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे। तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन। कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन। केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”

अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”

येशू भन्दछन् उहाँले किन दृष्टान्तहरू उल्लेख गर्नुभयो

(मत्ती 13:10-17; लूका 8:9-10)

10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।

11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु। 12 किनकि,

‘तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्,
    तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन्।
यदि तिनीहरूले देखे र बुझे भने,
    तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन्।’”(A)

येशू बीऊको व्याख्या गर्नुहुन्छ

(मत्ती 13:18-23; लूका 8:11-15)

13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ? 14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। 15 कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।

16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्। 17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।

18 “अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्। 19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।

20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”

तिमीमा जे जति छ त्यो प्रयोग गर

(लूका 8:16-18)

21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ। 22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्। 23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।” 24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरूमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। 25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”

येशू बीऊको बारेमा भन्नु हुन्छ

26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ। 27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ। 28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ। 29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”

राज्य रायोको दाना जस्तै हो

(मत्ती 13:31-32,34-35; लूका 13:18-19)

30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? 31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। 32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”

33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। 34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।

येशूले आँधी थाम्नु भयो

(मत्ती 8:23-27; लूका 8:22-25)

35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” 36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। 37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। 38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”

39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।

40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”

41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International