M’Cheyne Bible Reading Plan
बोकीममा परमप्रभुका स्वर्गदूत
2 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन। 2 तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
3 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”
4 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए। 5 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।
अवज्ञा अनि पराजित
6 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए। 7 इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए। 8 नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश बर्षको उमेरमा मृत्यु भयो। 9 इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।
10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो। 11 यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए। 12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। 13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुशरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।
14 परमप्रभु इस्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्। 15 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाइँ गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।
16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। 17 तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुशरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।
18 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो। 19 तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठ्ठी थिए। तिनीहरूले आफ्ना कु-कर्म छोडन् अस्वीकार गरे।
20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्। 21 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु। 22 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।” 23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।
विशेष कामको लागि सातजना चुनिए
6 धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।
2 यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन। 3 यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। 4 यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”
5 चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए। 6 त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।
7 परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।
स्तिफनसको विरुद्ध यहूदीहरू
8 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। 9 तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। 10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।
11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” 12 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
13 तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। 14 नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” 15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
15 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइनँ। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन। 2 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ:
“‘मैले कसैलाई मर्नको लागी छानेको छु,
ती मर्नु पर्नेहरू मरून्,
जसलाई मैले तरवारले मारिन छानेको छु,
तिनीहरू तरवारले नै मारिउन,
अनिकालमा पर्नु पर्नेहरू अनिकालमा नै परून्,
अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
3 म चार प्रकारको बिनासकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’
यो परमेश्वरबाट आएको सन्देश हो।
‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु।
तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु।
म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर
आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
4 यहूदाका राजा हिजकियाहका छोरो
मनश्शेले यरूशलेममा जे गरेको छ।
त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति
यहूदाका मानिसहरूलाई
म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
5 “यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन।
कुनै मानिस पनि तिम्रो निम्ति दु:खी साथै रूने छैन
कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
6 यरूशलेम, तिमीले मलाई त्याग्यौ।”
यो सन्देश परमप्रभुबाट आएको छ।
“तिमी जाऊ।
यसकारण म तिमीलाई नष्ट पार्छु।
तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
7 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले
यस ठाउँको शहरका फाटकहरूमा
तितर-बितर पारिदिनेछु।
मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु।
म तिनीहरूका नानीहरू लैजानेछु।
8 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्।
त्यहाँ बेशी विधवाहरू हुनेछन्
म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु,
त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ।
म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु,
म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
9 शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ,
अनि मानिसहरूलाई मार्ने छ।
तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ।
सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे।
उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ।
उसलाई अपमानित र लज्जित पारिनेछ।
बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,”
परमप्रभु भन्नुहुन्छ।
यर्मियाले फेरि परमप्रभुलाई गुनासो प्रकट गर्दछ
10 हे मेरी आमा, मलाई तपाईंले
जन्म दिनु भएको निम्ति म दु:खी छु।
यस देशमा म त्यो मानिस हुँ
जो दोष र घृणाको पात्र बनिएको छ,
मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन।
तर प्रत्येक मानिसले मलाई सराप्छन्।
11 परमप्रभुले भन्नुभयो,
“मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु।
मैले तिम्रा निम्ति सङ्कटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
यर्मियालाई परमप्रभुले जवाफ दिनुहुन्छ
12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन
न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा
तिम्रो भण्डारको सम्पत्ति
लूटको समान झैं गरी अरूलाई दिनेछु।
14 हे यहूदाका मानिसहरू!
म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु।
तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ
जुन तिमीहरू कहिल्यै जानेका छैनौ।
मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस्
र मेरो हेरचाह गर्नुहोस्।
मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस्
ज-जसले मेरो खेदो गर्छन्।
तिनीहरूसित धैर्य-धारण नगर्नु होस्।
जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने
मलाई नलानु होस्।
हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
16 तपाईंको सन्देश मकहाँ आयो।
हे सेनाहरूका परमप्रभु
तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो।
तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
17 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए
म कहिल्यै भीडमा बसिन।
म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो
अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
18 किन मलाई कष्ट भइरहन्छ?
मेरो घाउ गहिरो छ
जुन निको हुनलाई गाह्रो मानिरहेको छ?
मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ,
एउटा खोल्सा जसमाथि भरोसा नै छैन।
19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने,
म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ।
यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ,
अनि महत्वहीन शब्दहरू बोलेनौ भने,
तिमी मेरा प्रवक्ता हुन सक्छौ।
यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ
अनि तिमीकहाँ आउँनु पर्छ
तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
20 म तिमीलाई बलियो बनाउनेछु
र ती मानिसहरूले तिमीहरूलाई
काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्।
यहूदाका मानिसहरू तिमीसित लडनेछन्।
तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन
कारण म तिमीसित रहनेछु,
म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु।”
परमप्रभु भन्नुहुन्छ।
21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु।
ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
येशूको आगमन
(मत्ती 3:1-12; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)
1 येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। 2 यशैयाले लेखेकाछन्:
“सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।”(A)
3 “उजाड-स्थानमा कोही कराइहेकोछः
‘परमप्रभुको बाटो तयार पार,
उहाँका गोरेटोहरू सोझो बनाओ।’”(B)
4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[a] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। 5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
6 यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
7 त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। 8 म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
येशूको बप्तिस्मा भयो
(मत्ती 3:13-17; लूका 3:21-22)
9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। 10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। 11 स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।”
येशूको परीक्षा
(मत्ती 4:1-11; लूका 4:1-13)
12 त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। 13 चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे।
गालीलमा येशूको कामको आरम्भ
(मत्ती 4:12-17; लूका 4:14-15)
14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। 15 येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”
येशूले केही चेलाहरू छान्नु हुन्छ
(मत्ती 4:18-22; लूका 5:1-11)
16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” 18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
येशूद्वारा दुष्टात्मा भएको मानिसको उद्धार
(लूका 4:31-37)
21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो। 22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो। 23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो। 24 त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” 26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।” 28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जताततै फैलियो।
येशूद्वारा अनेकौं मानिसहरू निको भए
(मत्ती 8:14-17; लूका 4:38-41)
29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। 30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। 31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। 33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। 34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
येशूद्वारा सुसमाचार सुनाउने योजना
(लूका 4:42-44)
35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”
38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।
येशूद्वारा एकजना रोगी निको भयो
(मत्ती 8:1-4; लूका 5:12-16)
40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”
41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” 42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो। 44 येसूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।” 45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जताततै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
© 2004, 2010 Bible League International