M’Cheyne Bible Reading Plan
इस्राएलद्वारा परास्त गरिएका राजाहरू
12 इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतर्फको भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;
2 तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाँहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे। 3 उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।
4 तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे। 5 ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।
6 परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।
7 यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाल देखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो। 8 यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरुभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः
9 यरीहोका राजा
बेतेल नजीकका ऐका राजा
10 यरूशलेमका राजा
हेब्रोनका राजा
11 यमूर्तका राजा
लाकीशका राजा
12 एग्लोनका राज
गेजेरका राज
13 दबीरका राजा
गेदेरका राजा
14 होर्माका राज
आरादका राजा
15 लिब्नाका राजा
अद्रदुलामका राज
16 मक्केदाका राजा
बेतेलका राजा
17 तप्पूहका राज
हेपेरका राजा
18 अपेकका राजा
लश्शारोनका राजा
19 मादोनका राजा
हासोरका राजा
20 शिम्रोन-मोरनका राजा
अक्षापका राजा
21 तानाकका राजा
मगिद्दोका राजा
22 कादेशका राजा
कर्मेलको योक्रामका राजा
23 दोर पर्वतको दोरका राजा
गिलगालको गोयीमका राजा
24 तिर्साका राजा
राजाहरूको मोठ संख्या, 31
अझसम्म नलिएको भूमि
13 जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंले अझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ। 2 त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ, 3 भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई, 4 जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ। 5 अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।
6 “सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ। 7 अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”
भूमि-विभाजन
8 रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अघिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए। 9 तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए। 10 एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे। 11 गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो। 12 बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए। 13 इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।
14 लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।
15 मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः 16 यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो। 17 त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन, 18 यहसा, कदेमोत, र मेपात, 19 किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर, 20 बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए। 21 यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे। 22 इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे। 23 जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।
24 मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।
25 याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए। 26 त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो। 27 त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो। 28 यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।
29 मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः
30 त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। (त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।) 31 त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।
32 मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो। 33 मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेट्नु हुनेछ।
दाऊदको स्तुतिको भजन।
145 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
शत्रुले यरूशलेम घेर्दछ
6 “हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग।
यरूशलेमको शहरदेखि भाग।
तको शहरमा युद्धको तुरही फुक
बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ।
ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ।
डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
2 सियोनकी छोरी!
तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
3 गोठालाहरू यरूशलेमा भेंडा़का बथानहरू लिएर आउँदछन्,
तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन्
प्रत्येक गोठालोले आफ्ना भेंडा़ बथानको हेरचाह गर्छन्।
4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ।
उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं।
तर अति ढिलो भइसकेको छ।
साँझको छाँयाहरू फैलिरहेका छन्।
5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ।
आऊ, यरूशलेमको पक्का महलहरू नष्ट पारौं।”
6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ
“रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि
छेक्ने घेराहरू बनाऊ।
अत्याचार बाहेक त्यस शहरमा केही छैन।
यसलाई सजाय भोगाउनै पर्छ।
7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ।
त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ।
सधैँ शहरमा दङ्गा र ध्वंशको विषयमा सुन्छु।
म सधैँ यरूशलेममा विराम चोटहरू देख्छु।
8 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम।
यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्यूँ फर्काउँनेछु।
म तिम्रो भूमि रित्तो मरुभूमि जस्तै पारिदिने छु।
कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन।”
9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“खेतमा दाख बटुले झैं इस्राएलमा बाँकी रहेका मानिसहरू भेला गर।
दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
10 म कोसित बोल्नु?
मैले कसलाई चेताउनी दिनु?
कसले मेरो कुरा सुन्छ?
इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्।
यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्।
परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ।
तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु।
म त्यसलाई लिएर थाकिसकेको छु।
“परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ।
जवानहरूमाथि परमेश्वरको क्रोध खन्याऊ।
लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्।
सबै बूढा-पाकाहरू पक्राऊ पर्नेछन्।
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ।
तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ।
म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।”
यो सन्देश परमेश्वरबाट आएको हो।
13 “इस्राएलका सबै मानिसहरू लोभी छन्।
माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू,
घुसको लागि मरिमेटछन्।
अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ।
तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने।
तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ,
अनि प्रत्येक जग्गामा शान्ति छ’, जब कि त्यहाँ शान्ति छैन।
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका,
नराम्रा कुराहरूले लज्जित हुनु पर्ने।
तर तिनीहरू एकदमै लज्जित छैनन्।
तिनीहरू कसरी लज्जित हुनुपर्ने जान्दैनन्।
यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ।
जब म मानिसहरूलाई सजाय दिन्छु,
तिनीहरू भूईँमा फ्याँकिनु पर्छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
16 परमेश्वरले यी कुराहरू भन्नुभयो,
“दोबाटोमा उभ अनि हेर।
सोध पूरानो बाटो कहाँ छ।
सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिँड।
यदि तिमीले त्यसो गर्यौ भने तिमी स्वयंले विश्राम पाउनेछौ।
तर तिमीहरूले भन्यौ,
‘हामी असल बाटोमा हिँड्ने छैनौं।’
17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु।
मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’
तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।’
18 यसर्थ, सारा जाति-जातिहरू, सुन!
तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।
19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ!
यहूदाका मानिसहरूको लागि म नष्ट ल्याइरहेको छु,
किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन्,
अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन्,
अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ?
किन तिमीहरूले मेरो निम्ति सुदुर देशबाट सुगन्धित बेंत ल्यायौ?
तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन।
तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”
21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ,
“म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु।
तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ।
बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन्,
मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
22 परमप्रभु यसो भन्नुहुन्छ,
“हेर, सेना उत्तरबाट आईरहेछ।
घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
23 सेनाहरूले तिनीहरूसित धनु-काँड र भालाहरू ल्याउँछन्।
तिनीहरू निष्ठूर छन्।
तिनीहरूमा दया छैन।
तिनीहरूका आवाज घोडाहरूको आवाज जस्तै छ।
हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन्,
र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं।
हाम्रा हातहरू भयले दुर्बल भएका छन्।
प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै
हामीलाई दु:ख र पीडाले घेरेको छ।
25 खेतमा तिर नजाऊ।
अनि सडकतिर नआऊ,
किनभने शत्रुहरूसित तरवारहरू छन्
अनि जहीं-तहीं विपद छ।
26 मेरा मानिसहरू हो!
दु:ख प्रकट गर्ने पोषाक लगाऊ,
अनि खरानीमाथि लडी-बडी गर।
यस्तो प्रकारले विलाप गर कि,
मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ,
किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
27 “यर्मिया, मैले तिमीलाई
मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाएँ।
तिमीले तिनीहरूलाई परीक्षा गर्नेछौ,
र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।
28 तिनीहरू सबै विद्रोही हुन्
र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्।
तिनीहरू सबै काँसा र फलाम जस्तै छन्
तिनीहरू विनाशकहरू हुन्।
29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ,
तर मेरा मानिसहरूलाई केही गर्नु सकिंदैन,
कारण तिनीहरूबाट खराबी हटाउनु सकिंदैन।
30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ।
तिनीहरूलाई त्यो नाउँ दिइने छ,
किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”
खेतालाहरूको उखान
20 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। 2 उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
3 “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो 4 ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ 5 त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए।
“फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। 6 फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
7 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’
“उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
8 “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’
9 “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। 10 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। 11 जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। 12 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
13 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? 14 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। 15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’
16 “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
येशूले आफ्नै मृत्युको कुरा गर्नु हुन्छ
(मर्कूस 10:32-34; लूका 18:31-34)
17 येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। 19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”
आमाको विन्ती छोराहरूको निम्ति
(मर्कूस 10:35-45)
20 तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।
21 येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”
उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।”
22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”
तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। 25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। 26 तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। 27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। 28 मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
© 2004, 2010 Bible League International