M’Cheyne Bible Reading Plan
यरीहो शहर कब्जा गरे
6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।”
7 त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”
8 जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। 9 सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे। 10 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।”
11 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।
12 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके। 13 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए। 14 यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।
15 सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। 16 जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। 17 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। 18 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। 19 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।”
20 पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। 21 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।
22 यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”
23 यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।
24 त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। 25 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
26 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः
“जो कोही मानिस जसले यरीहोको
फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ।
जो कसैले यो शहरमा जग बसाल्छ त्यसले
आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ।
जसले त्यस्ता मानिसद्वारा खडा गर्छ,
त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”
27 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर!
परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!
2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा,
र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
4 परमप्रभुले याकूबलाई रोज्नु भयो,
इस्राएल परमप्रभु कै हो।
5 म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!
हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
6 परमप्रभुले चाहेका जे पनि,
आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।
परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ।
परमेश्वरले हावा ल्याउनुहुन्छ।
8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू,
अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो।
परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!
हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो,
तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।
तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16 ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे।
ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे।
17 ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे।
ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे।
18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर!
हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
हे यरूशलेम र उहाँको वास-स्थानबाट।
परमप्रभुको प्रशंसा गर।
1 हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
2 देवहरूका परमेश्वरलाई प्रशंसा गरौं!
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
4 परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
5 परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
7 परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
8 दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
9 परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।
उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ।
11 परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो,
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
14 परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
15 परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
20 परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
23 परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
26 स्वर्गका परमेश्वरको प्रशंसा गरौं।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले सारा जातिहरूका न्याय गर्नु हुनेछ
66 परमप्रभु भन्नुहुन्छ,
“स्वर्ग मेरो सिंहासन हो,
र पृथ्वी मेरो पाउदान हो।
यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अँहँ!
तिमीहरूले मेरा निम्ति घर बनाउन सक्तैनौं।
के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अँहँ!
2 म आफैंले सम्पूर्ण चीजहरू बनाएँ।
सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो।
मैले गरीब, दु:खी मानिसहरूलाई हेरचाह गरें,
मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
3 कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्।
तर तिनीहरूले मानिसहरूलाई पनि कुट्छन्।
ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन्
तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्।
ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्।
तर तिनीहरूले साथ-साथै सुँगुरको रगतहरू चडाउँछन्।
ती मानिसहरू धूपहरू जलाउँदछन्
तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्।
ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन्
साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
4 यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें।
मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ,
तिमीहरूले असाध्य डराउने चीजहरू चलाएँ।
मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्।
म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले।
यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु।
तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें।
तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
5 तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने,
परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ।
“तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे,
तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ।
तिमीहरूका दाज्यू-भाइहरूले भने,
‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौं जब परमप्रभु सम्मानित हुनुहुन्छ।’
ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।”
दण्ड र नयाँ राष्ट्र
6 सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनुपर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।
7-8 “एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ राष्ट्र प्रारम्भ भएको सुनेनन्। त्यो देशले नयाँ शिशु जन्माउँदा जस्तै प्रथम पीडा पाउनै पर्छ। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ राष्ट्र। 9 त्यसरी नै, म कसैलाई प्रसव वेदनाको अनुभव नगरी नानी जन्माउने अनुमति दिँदिनँ।”
परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो:
10 हे यरूशलेम खुशी हौ! सारा मानिसहरू,
जसले यरूशलेमलाई प्रेम गर्छ, तिमीहरू पनि खुशी हौ!
दु:खका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दु:खी छौ।
11 तिमीहरू खुसी हौ किनकी तिमीहरूले दया प्राप्त गर्नेछौ,
जसरी स्तनबाट “दूध” आउँदछ।
त्यसरिनै यरूशलेमको “दूधले” तिमीहरूलाई सन्तुष्ट पार्नेछ।
तिमीहरूले दूध पिउँनेछौ अनि यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।
12 परमप्रभुले भन्नुहुन्छ:
“हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु त्यो शान्ति ठूलो नदी सरह बग्नेछ।
पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बाढी जस्तो बग्दै तिमीहरूकहाँ आउनेछ।
अनि स-सना शिशुहरू जस्तै तिमीहरूले त्यो ‘दूध’ पिउनेछौ,
म तिमीहरूलाई मेरो आफ्नै पाखुराहरूमा उठाउनेछु,
अनि मेरो गोडाहरूमा उफार्नेछ।
13 म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु।
अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”
14 तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँच्चै आनन्दित तुल्याउनेछ।
तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ।
परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्,
तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
15 हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ।
परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्।
परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
16 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ।
तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ।
परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।
17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफैं धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुशरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। ती मानिसहरूले सुँगुरहरू, मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
18 “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्। 19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ, म तिनीहरूलाई बँचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्। 20 यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ। 21 म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
नयाँ आकाशहरू र नयाँ पृथ्वी
22 “म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्। 23 सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।
24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”
हेरोदले येशूको बारेमा जानकारी लिए
(मर्कूस 6:14-29; लूका 9:7-9)
14 त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए। 2 हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।”
बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
3 यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्। 4 यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।” 5 तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।
6 हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए। 7 अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए। 8 के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”
9 राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए। 10 यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए। 11 तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे। 12 यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे।
पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध
(मर्कूस 6:30-44; लूका 9:10-17; यूहन्ना 6:1-14)
13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। 14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”
17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
18 येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” 19 त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। 20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे 21 त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
येशू पानी माथि हिँड्नु भयो
(मर्कूस 6:45-52; यूहन्ना 6:16-21)
22 तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। 23 मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। 24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।
25 बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। 26 उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।
27 तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।”
28 पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।”
29 येशूले भन्नुभयो, “आऊ पत्रुस।”
त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। 30 पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”
31 त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। 33 डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
येशूले धेरै बिमारी मानिसहरूलाई निको पार्नुभयो
(मर्कूस 6:53-56)
34 त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो। 35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। 36 तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।
© 2004, 2010 Bible League International