Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 35

लेवीहरूको शहर

35 यरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खर्कको भूमि पनि दिऊन्। लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्। तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ। तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ। तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ। यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ। इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”

परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्, 11 तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अन्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ। 12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरून्जेल सम्म त्यहाँ सुरक्षित रहन सक्छ। 13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्। 14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्। 15 यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अन्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू मध्ये कुनैमा गएर शरण लिन सक्छ।’

16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ। 17 यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ। 18 यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ। 19 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।

20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ, 21 अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।

22 “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन, 23 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अन्जानमा घटेको घटना हो। 24 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ। 25 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारी[a] मर्दैन।

26 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छ, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो, 27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन। 28 किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ। 29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।

30 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।

31 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।

32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरून्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।

33 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यारालाई मुक्त पार्ने। 34 म परमप्रभु हुँ। म सधैँ इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”

भजनसंग्रह 79

आसापको स्तुतिगान।

79 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
    ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए
    तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
    र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।
    ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
    हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ?
    के तपाईंको बलिया भावनाहरू[a] आगो झैं अनवरत झल्दछ?
हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
    तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
    जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।
ती सम्प्रदायरूले याकूबलाई
    र उसको देशलाई ध्वंश पारे।
हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
    चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्,
    कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्!
    बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ।
तपाईंको असल नाउँ सुनाउनको लागि,
    हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,
    “तिम्रो परमेश्वर कहाँ छ?
    के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्,
यसकारण हामी त्यो हेर्न चाहन्छौं।
    तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!
    परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्,
    जसलाई मृत्युदण्ड दिइएकोछ।
12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
    हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
    तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
13 हामी तपाईंका मानिसहरू हौं।
तपाईंको बथानका हामी भेंडाहरू हौं।
    हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं,
    परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।

यशैया 27

27 त्यस समयमा परमप्रभुले लिब्यातानको न्याए गर्नु हुनेछ।
    लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ।
    उहाँले आफ्नो शक्तिशाली तरवारद्वारा, सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
    परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।

त्यसबेला, मानिसहरूले,
    आनन्दित दाखको बोटको गीत गाउनेछन्।
“म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु।
    म ठीक समयमा त्यसमा पानी लगाउनेछु
म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु,
    कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।
म रिसाएको होइन्।
तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि,
    म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।
तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने
    र मबाट शान्ति चाहन्छ भने,
    तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।
त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ।
    तब मिश्र बढ़न र फूल्न लागेको बोट जस्तै हुनेछ।
    त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”

परमेश्वरले इस्राएललाई टाढा पठाउनु हुनेछ

परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?

परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरुभूमिनको तातो हावाले जस्तै पोल्नेछ।

याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

10 त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरुभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्। 11 दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।

मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

12 त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।

तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ। 13 मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।

1 यूहन्ना 5

परमेश्वरका बालकहरूले संसार जित्छन्

प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।

परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।

हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

हाम्रो अनन्त जीवन छ

13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ। 14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। 15 हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।

16 यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन। 17 सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

18 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। 19 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। 20 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। 21 यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International