Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 32

यर्दन नदीको पूर्व पट्टि बसेका कुल समूहहरू

32 रूबेन र गाद वंशका मानिसहरूको धेरै-धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे। यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने, “अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले। यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”

मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दाज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा-सर्वदा बस्दा? यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ? तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ। तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए। 10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि, 11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 12 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’

13 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउन्जेल चालीस बर्ष सम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यता उता डुलाउनु भयो। 14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ। 15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”

16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ। 17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई स-हर्षसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ। 18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन् तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं। 19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि, पूर्व पट्टि नै हुनेछ।”

20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ। 21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ। 22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ। 23 तर यदि तिमीहरूले यी कामहरू गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ। 24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”

25 त्यसपछि रूबेन र गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं। 26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यहीं गिलाद शहरमा रहनेछ। 27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पारी युद्धमा जानेछौं।”

28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ। 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ। 30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”

31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ। 32 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”

33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

34 गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए। 35 अतारोत-शोपान, याजेर, योगबहा, 36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेंडाको खोरहरू निर्माण गरेका थिए।

37 रूबेनका कुलले हेशबोन, एलाले, किर्यातैम, 38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।

39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे। 40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। 41 मनश्शे कुलका याईर गई त्यहाँका साना-साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे। 42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।

भजनसंग्रह 77

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति आसापको भजन।

77 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
    हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ,
    तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
मैले परमेश्वरको बारेमा सोचें,
    अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
तपाईंले मलाई सुत्न दिनु भएन,
    म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।
    धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।
    मैले आफैंलाई बुझ्ने कोशिश गरें।
म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
    के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न?
के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
    के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ?
करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
    उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”

10 तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः
    ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’”

11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
    परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु,
    जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।
    म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,
    तपाईं बाहेक कोही पनि महान् छैन।
14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
    तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।

15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो
    तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।
    गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
17 बाक्लो बादलहरूले पानी बर्षाए।
    मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
    बिजुली चम्केको देखें।
18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
    तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो,
    अनि पृथ्वी थर-थर काँप्न थाल्यो।
19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो,
तपाईंले गहन समुद्र पार गर्नुभयो,
    तर तपाईंले कुनै छाप छोड्नु भएन।
20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ,
    मोशा र हारूनलाई खटाउनु भयो।

यशैया 24

परमेश्वरले इस्राएललाई दण्ड दिनु हुनेछ

24 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ। त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिक्नीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैंकबाट ऋण लिनेहरू पनि समान हुनेछन्। सारा मानिसहरूलाई त्यो ठाउँ छोड्नलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ। यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।

यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे। यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई नष्ट गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दु:खी छन्। मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

13 फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे
    तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए।
    त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
14 छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्।
तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ।
    तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
15 ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर!
    टाढा देशहरूमा बस्ने मानिसहरू,
    परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्।
    ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ।
तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु।
    म जे देख्छु, ती भयंकर चीजहरू हुन्।
देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन्
    अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”

17 यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु,
    म तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।
18 मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्।
    कतिपय मानिसहरू भाग्नेछन,
तर तिनीहरू खाडलहरूमा जाकिनेछन्।
    पासोहरूमा अल्झिने छन्।
ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन,
    तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।
स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन्
    अनि बाढीहरू प्रारम्भ हुनेछ।
    पृथ्वीको जगहरू हल्लन्छन्।
19 त्यहाँ भूकम्प आउँनेछ।
    अनि पृथ्वी फाट्नेछ।
20 संसारमा पापहरू एकदम गह्रौं भईसक्यो।
    यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ।
पृथ्वी पुरानो घर जस्तै थर्किनेछ।
    मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ।
    पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।

21 त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू,
    र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
22 धेरै मानिसहरू एक साथ भेला गराईनेछन्।
    ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्।
अनि केही कैद हुनेछन्।
    तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ।
    उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ।
उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि
    त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ,
    अनि घाम लज्जित हुनेछ।

1 यूहन्ना 2

येशू हाम्रा सहयोगी हुनुहुन्छ

मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ।

यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।

येशूले भन्नु भयो अरूलाई प्रेम गर

मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।

एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।

12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
    किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
    किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
    किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू पितालाई चिन्दछौ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
    अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।

15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। 17 मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।

ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ

18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।

20 तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। 21 मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।

22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।

24 जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।

26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।

28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। 29 तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International