Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 27

सेलोफाकी छोरीहरू

27 सेलोफादका पाँच जना छोरीहरू थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा। तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,

“हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो। उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।”

यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे। परमप्रभुले मोशालाई भन्नुभयो, “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसँगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाइहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्। उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाइले पाउनेछ। 10 फेरि यदि उसको दाज्यू-भाइ नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ। 11 उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।’”

यहोशू नयाँ अगुवा

12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। 13 त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। 14 किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

15 मोशाले परमप्रभुलाई भन्नुभयो, 16 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्। 17 म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

18 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर। 19 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। 21 यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहरू घर जानेछन्।”

22 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए। 23 त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

भजनसंग्रह 70-71

प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।

हे परमेश्वर, मलाई बचाउनु होस्!
    हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।
मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्।
    तिनीहरूलइ अपमानित पार्नुहोस्।
मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्।
    तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
मानिसहरूले मलाई हाँसोको पात्र बनाए।
    ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।
ज-जसले तपाईंको उपासना गर्छन,
    तिनीहरू खुबै खुशी होऊन्।
जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन्
    सधैँ तपाईंको प्रशंसा गरून्।

हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ।
    हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्!
हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ!
    अझ विलम्ब नगर्नुहोस्!

हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु,
    ताकि म कहिल्यै निराशा नहुँ।
तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ।
तपाईंले मलाई छुटकारा दिनु हुनेछ।
    मेरो गुहार सुनी दिनुहोस्।
    मलाई बचाउँनुहोस्।
मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु।
    तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।
हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्।
    मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।
मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ,
    म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ,
    आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु।
    मैले सधैँ तपाईंलाई प्रार्थना गरें।
तपाईं मेरो बलको श्रोत हुनुहुन्छ।
    यसैले म अरूको निम्ति उदाहरण भएकोछु।
तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा मसधैँ गीत गाउँदछु।
म बूढो भएँ भनी मलाई नफ्याँक्नु होस्।
    मेरो बल सकिँदैछ भनेर मलाई नत्याग्नु होस्।
10 मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे,
    तिनीहरू वास्तवमा एक-अर्कामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे।
11 मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं।”
    परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।
12 हे परमेश्वर, मलाई नत्याग्नुहोस्।
    हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!
13 मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्।
    तिनीहरूलाई पूर्ण रूपले नष्ट पार्नुहोस्!
तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्।
    तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।
14 तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु।
    अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।
15 तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु।
    एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु।
    ती समयहरूको गन्ती नै छैन।
16 हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु।
    म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।
17 हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो।
    अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका,
    अद्भूत कार्यहरूका बारेमा घोषणा गर्दछु।
18 अब परमेश्वर! म बूढो भएँ अनि मेरा केश सेता छन्,
तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन,
    म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानताको बारेमा बताउने छु।
19 हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ।
    परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन
    तपाईंले अद्भूत कामहरू गर्नुभयो।
20 यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो,
    तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो।
    यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
21 मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्।
    लगातार मलाई सान्त्वना दिनुहोस्।
22 अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु।
    हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु।
इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति
    म मेरो वीणा बजाएर गीत गाउने छु।
23 तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ।
    मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।
24 मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ।
    अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्।
    तिनीहरू परास्त र अपमानित हुनेछन्।

यशैया 17-18

अरामलाई परमेश्वरको सन्देश

17 दमीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दमीशकमा घट्नेछ भनेर भन्नु हुन्छः

“दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ।
    दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।
मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्।
    भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्,
    त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
एप्रैम शहरहरूको किल्ला नष्ट हुने छ, दमीशकको शासन अन्त हुनेछ।
    जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घट्ना अराममा हुनेछ।
अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”
    सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।

“त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ।
    याकूब बीमार मानिस जस्तो हुनेछ अनि ऊ कमजोर र दुब्लो हुनेछ।

“त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

“त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ।” सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।

त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ। मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए। त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ। 10 यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई, जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ।

तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्। 11 तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्यौ अर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।

12 धेरै-धेरै मानिसहरू सुन!
    तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्,
ती हल्लाहरूलाई सुन,
    ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
13 अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्,
    परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ,
अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू,
बतासले खेद्‌दै उडाई लैजाने भुस जस्ता हुने छन्।
    मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन,
    हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
14 त्यो रात मानिसहरू भयभीत हुनेछन्।
    बिहान हुन अघि केही छोडिएको हुने छैन।
यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन्
    अनि त्यहाँ केही हुनेछैन।

कूश देशलाई परमेश्वरको सन्देश

18 कूश देशसँग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन्; तिनीहरूले चलाएको पखेंटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ। त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोले[a] बनिएका डुङ्गाहरूमा पठाइन्छ।

हे फूर्तिला समाचार-वाहकहरू!
    ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्!
सबै ठाउँका मानिसहरू ती अल्गा,
    अनि बलिया मानिसहरूदेखि डराउँछन्।
तिनीहरू बलियो जाति हुन्।
    तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्।
    नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।
संसारका सारा मानिसहरूले तिनीहरूमाथि घट्ने घट्ना हेर्नेछन्।
    पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घट्ना देख्नेछन्।
ती अग्ला मानिसहरूमाथि त्यस्तो घट्ना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्।
    युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु। सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै बर्षा हुनेछैन्, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढ्ने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुटाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडँनेछन् अनि फ्याँक्नेछन्। ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।”

त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्‌याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

1 पत्रुस 5

परमेश्वरका बथान

अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।

“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
    तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(A)

यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।

10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ। 11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

आखिरी अभिवादन

12 मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरूलाई उत्साह दिन औ यो परमेश्वरको साँच्चो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ। 14 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरूको भेट हुन्छ।

तिमीहरू सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International