Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 19

रातो गाईको खरानी

19 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ। तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ। त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ। तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ। पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ। त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ। त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।

“केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। यो खरानी इस्राएलका मानिसहरूलाई शुद्ध गर्नेकाम निम्ति प्रयोग हुनेछ। यो मानिसहरूको पापबाट शुद्ध गर्नेकालागि पनि प्रयोग हुन्छ।

10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्।

“इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो। 11 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ। 12 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा ऊ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन। 13 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैंलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।

14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्। 15 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ। 16 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।

17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ। 18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।

19 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस् अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।

20 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो। 21 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ। 22 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”

भजनसंग्रह 56-57

प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।

56 हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
    तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
    त्यहाँ अनगन्ति लडाकुहरू छन्।
जब म भयग्रस्त हुन्छु,
    तब तपाईंमाथि भरोसा राख्दछु।
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
    उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
    तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
तिनीहरू सधैँ लुक्छन्
    अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
    मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
    तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
तपाईं जान्नुहुन्छ म कति डराएको छु।
    तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
    निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
    जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
    म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
    कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
    म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
    यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
    म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
    यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
    त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम” भन्ने भजन। जुन समय दाऊद शाऊलबाट भागेर ओडारमा लुकेका थिए।

57 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
    मप्रति दयालु हुनुहोस्,
किनभने म तपाईंको शरणमा आएकोछु।
    जबसम्म कष्ट हराँउदैन, म तपाईंको संरक्षणमा छु।
म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
    अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
    र बचाउँनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
    परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

मेरो प्राण विपदमा छ।
    मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत
    अनि तरवार जस्तो धारिलो जिब्रो लिएर
    मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
    तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।

हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
    म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
हे मेरो प्राण जाग!
    वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
    प्रभात फेरि लगाऊ।
हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
    प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा,
    आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।
    उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।

यशैया 8:1-9:7

अश्शूर चाँडै आउनेछ

परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’”

मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे। त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख। किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”

फेरि परमप्रभुले मलाई भन्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।” तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ। त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदालाई डुबाउनेछ।

इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउन्जेल फैलिनेछ।

सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ!
    तिमीहरू परास्त हुनेछौ।
सुन टाढामा भएका सारा देशहरू!
    युद्धका लागि तयार हौ।
    तिमीहरू सबै परास्त हुनेछौ।
10 लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार!
    तिम्रा योजनाहरू परास्त हुने छन्।
तिम्रा सैन्यहरूलाई हुकुम गर
    तिम्रा हुकुमहरू बेकामे हुनेछन्।
    किनभने परमेश्वर हामीसँग हुनुहुन्छ।

यशैयाहलाई चेतावनीहरू

11 आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो, 12 “प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”

13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। 14 यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ। 15 (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।)

16 परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।”

17 हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं।
परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो।
उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो तर म परमप्रभुलाई पर्खिनेछु,
उहाँले हामीलाई बचाउनु हुनेछ।

18 म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।

19 कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ? 20 तिमीले शिक्षा र करार अनुशरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुशरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ। 21 यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुशरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू गर्जने सिंहझैं क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्। 22 यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ—त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।

एक नयाँ दिन आइरहेछ

पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू। ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर “दिव्य ज्योति” तिनीहरूमाथि चम्किनेछ।

परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ, किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।

युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता नष्ट गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्। कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।” उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

याकूब 2

सबै मानिसहरूलाई प्रेम गर

मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशू ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्। मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ। तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्” तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो। तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्। अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।

बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”(A) यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ। तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

10 कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ। 11 परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।”(B) उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।”(C) यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ।

12 तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ। 13 यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ।

विश्वास अनि असल कार्यहरू

14 मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अँहँ! 15 परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ। 16 अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्। 17 यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।

18 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।” 19 तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काँप्छन्।

20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो? 21 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो। 22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो। 23 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”(D) अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”(E) 24 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।

25 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।

26 आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International