M’Cheyne Bible Reading Plan
चाँदीका तुरहीहरू
10 परमप्रभुले मोशालाई भन्नुभयोः 2 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ। 3 यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्। 4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
5 “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्। 6 जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ। 7 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ। 8 हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।
9 “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ। 10 तिमीहरूको हर्षको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
इस्राएलका मानिसहरूले उनीहरूको शिविर सार्छन्
11 मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो। 12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। 13 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
14 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए। 15 इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए। 16 अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।
17 त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पंक्तिमा आए।
18 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए। 19 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए। 20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए। 21 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खड़ा गरी सकेका थिए।
22 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए। 23 पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए। 24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।
25 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए। 26 त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए। 27 त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए। 28 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।
29 मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो-राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”
30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”
31 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ। 32 यदि तपाईं हामीसित हिँड्नु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”
33 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिँडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिँडे। 34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।
35 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे,
“हे परमप्रभु! उठ्नुहोस्,
तपाईंको शत्रुहरू छरपष्ट होउन्।
तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।”
36 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैँ मोशाले भन्थे,
“हे परमप्रभु आउनु होस्,
इस्राएलका हजारौं-हजार मानिसहरू भएको ठाँउमा आउनु होस्।”
प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।
46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
2 यसैकारण भुइँचालो आए ता पनि
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
र पर्वतहरू थर्किन्छन्।
4 त्यहाँ एउटा नदी छ जसको धाराले
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
म जाति-जातिलाई परास्त गर्नु सक्छु,
म संसारलाई अधीनमा राख्न सक्छु!”
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
47 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको[b] गीतहरू गाऊ।
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
8 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै,
तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ
अनि तिमीलाई म्वाई खाने थिएँ।
र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
2 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन्,
म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ।
म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको
रसले बनिएको मसला युक्त मद्य दिने थिए।
तिनले स्त्रीहरूलाई भन्छिन्
3 उनको देब्रे हात मेरो टाउको मुनि छ
अनि दाहिने हातले मलाई समात्नु भएको छ।
4 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि
जबसम्म म यसको निम्ति तैयारी हुँदिन।
मलाई प्रेमले उत्तेजित पार्ने छैन।
यरूशलेमका स्त्रीहरू बोल्छन्
5 ती स्त्री को हुन्?
जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्।
तिनले उसलाई भन्छिन्
मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ,
जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्,
जहाँ तपाईंको जन्म भएको थियो।
6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्,
यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु,
प्रेम मृत्यु जस्तै प्रबल हुन्छ,
अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ,
कुनै ज्वालाभन्दा पनि कडा,
त्यो दन्केको आगो झैं दन्किन्छ।
7 के कसैले आफ्नो प्रेमका निम्ति,
आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने
ऊ उपेक्षित हुन्छ र?[a]
तिनका दाज्यू-भाइहरू बोल्छन्
8 हाम्री सानी बहिनी छ
अनि जसको स्तन विकाश भएकै छैन,
यदि कसैले तिनलाई विवाह गर्न खोजे,
हामीले बहिनीको लागि के गर्नु पर्ने?
9 यदि तिनी पर्खाल हुँदी हुन त,
तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं,
यदि तिनी ढोका हुँदी हो त,
हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं।
तिनले आफ्ना दाज्यूहरूलाई उत्तर दिन्छिन्
10 म एउटा पर्खाल हुँ,
मेरा स्तनहरू धरहराहरू जस्तै छन्।
म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।
उनी भन्छन्
11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो,
तिनले आफ्नो बगैंचा रखवालहरू दिए,
र प्रत्येक रखवालले
1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।
12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ।
उसले तिम्रोलागि ल्याएको दाखको सट्टामा!
प्रत्येक रखवालालाई 200 शेकेल देऊ,
तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु।
मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।
उनी स्त्रीलाई भन्छन्
13 बगैंचामा तिमी नै बस,
साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्,
तिमी मलाई पनि सुन्न देऊ।
तिनी ऊसित बोल्छिन्
14 हे प्रियतम, चाँडो गर्नु होस्।
अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण,
अथवा मृगका पाठा जस्तै हुनु होस्।
येशू हाम्रा प्रधान पूजाहारी
8 हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। 2 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।
3 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ। 4 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्। 5 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।”(A) 6 तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।
7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। 8 तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो,
“समय आउँदैछ,
जब म इस्राएलका मानिसहरूलाई,
र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु।
9 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ।
त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ।
तर मैले दिएको करारको अनुशरण तिनले गरेनन्
तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।
10 म यो नयाँ करार
इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ।
म आफ्नो करार तिनका मनमा हालिदिनेछु,
म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु।
म तिनका परमेश्वर बन्नेछु,
र ती मेरा प्रजाहरू बन्नेछन्।
11 अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन,
किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्।
12 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु,
अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।”(B)
13 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।
© 2004, 2010 Bible League International