M’Cheyne Bible Reading Plan
हारूनको परिवार-पूजाहारीहरू
3 परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।
2 हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो। 3 हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो। 4 नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगोद्वारा बलिचढाएको पापले सीनै मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।
पूजाहारीका सहायक लेवीहरू
5 परमप्रभुले मोशालाई भन्नुभयो, 6 “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्। 7 लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्। 8 भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।
9 “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।
10 “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”
11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन। 13 जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”
14 सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो, 15 “लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।” 16 परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।
17 लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।
18 गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
19 कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।
20 मरारी वंशहरू हुन् महली र मसी।
तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।
21 लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए। 22 एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुइ परिवार समूहमा सबै 7,500 जना थिए। 23 गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो। 24 गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो। 25 भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो। 26 पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।
27 अमामी, यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्। 28 यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो। 29 कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे। 30 उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो। 31 तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासँग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।
32 पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।
33 महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन्। यस वंशहरूमा एक महिना र, 34 यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए। 35 मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए। 36 मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो। 37 वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।
38 पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
39 परमप्रभुको आज्ञा अनुसार मोशा र हारूनद्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।
लेवीहरूले जेठो छोरोहरूको स्थान ओगटे
40 परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर। 41 विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीहरूकै पहिलो पशुधन लिन्छु।”
42 यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे। 43 मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।
44 परमप्रभुले मोशालाई अझ भन्नुभयो, 45 “इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरूको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ। 46 22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्। 47 यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ।) इस्राएलीहरूबाट यो चाँदी लेऊ। 48 त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।”
49 यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए। 50 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे। 51 परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।
दाऊदको भजन।
1 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,
तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19 जब सङ्कटहरू आउँछन्,
धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्।
अनिकालको समयमा पनि
धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,
अनि तिनीहरू नष्ट हुने नै छन्।
तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्।
तिनीहरू सबै नाश हुनेछन्।
21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,
तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।
तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।
32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
1 सुलेमानको सबैभन्दा उत्तम गीत।
उनले स्त्रीलाई प्रेम गर्छन्
2 चुम्बनहरूसँग मलाई छुनुहोस्,
तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले,
तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
3 तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ,
तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।
हामी तपाईंको पछि दगुर्ने छौं।
राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।
यरूशलेमको स्त्रीहरू मानिस प्रति
हामीहरू खुशी अनि आनन्दित हुन्छौं।
याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
5 यरूशलेमकि छोरीहरू हो!
म काली तर सुन्दरी छु।
केदार र शाल्माको पाल झैं काली छु।
6 मलाई नहेर, म कति काली छु,
मलाई घामले काली पारेको हो।
मेरा दाज्यू-भाइहरू मसँग रिसाएका थिए,
त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए,
त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउँन पाइँन।
तिनले पुरूषलाई भन्छिन्
7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।
मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ?
मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ?
म तिमीलाई भेट्न आउँनेछु,
अथवा तपाईंका साथीहरूको बगाल अघि,
म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?
पुरूषको स्त्री प्रति वचन
8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?
स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ।
जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ,
आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ,
जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।
10 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म,
राम्ररी सजाइएका छन्।
11 तिम्रो निम्ति हामी सुनको लुर्कन
चाँदीले मोरेर बनाउँने छौं।
स्त्री बोल्छे
12 जब राजा आफ्नो कोठामा थिए,
मेरो अत्तरको सुगन्ध फैलियो।
13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,
मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,
जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।
पुरूषले भन्छ
15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,
आहा! तिमी साँच्चै राम्री छौ,
तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।
स्त्री बोल्छे
16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!
साँच्चै तपाईं मनोहर हुनुहुन्छ!
हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।
र डाँडा भाटाहरू सल्लाका छन्।
परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो
1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। 2 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। 3 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। 4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।
5 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन:
“तिमी मेरा पुत्र हौ,
आज म तिम्रो पिता बनेको छु।”(A)
उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन,
“म तिनका पिता बन्नेछु
र तिनी मेरा पुत्र बन्नेछन्।”(B)
6 अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई[a] यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ,
“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”(C)
7 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ:
“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास[b] जस्तो बनाउनुभयो,
अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”(D)
8 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:
“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ,
त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”(E)
10 परमेश्वर अझै भन्नुहुन्छ,
“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ।
ती फेरि वस्त्र झैं बद्लिने छन्,
तर तपाईं कहिल्यै बद्लिनु हुने छैन।
तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”(F)
13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएनः
“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्,
जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”(G)
14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।
© 2004, 2010 Bible League International