M’Cheyne Bible Reading Plan
भाकलहरूको महत्व हुन्छ
27 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ। 3 बीस बर्ष देखि साठ्ठी बर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ। 4 एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।) 5 पाँच बर्षदेखि बीस बर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी। 6 एक महीनाबाट पाँच बर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल। 7 साठ्ठी बर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ।)
8 “यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।
परमप्रभुलाई उपहार
9 “केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ। 10 जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।
11 “कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ। 12 त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ। 13 यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।
घरको मूल्य
14 “अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ। 15 यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।
सम्पत्तिको मूल्य
16 “यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीऊको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर[a] जौंको बीऊ जाने जमीनको पचास शेकेल[b] चाँदीको दरले दाम तोक्न सकिन्छ। 17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती बर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ। 18 तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव बर्षसम्म कति बर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ। 19 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ। 20 यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किनेको छ भने फेरि दामतिरेर फर्काउँन सक्तैन। 21 महोत्सवको बर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झैं परमप्रभुलाई सम्पूर्ण रूपले अपर्ण गरिएको हुन्छ यो सधैँको निम्ति पूजाहारीको हुनेछ।
22 “यदि कुनै मानिसले, आफ्नो पारिवारिक सम्पत्ति नभई कुनै उसले किनेको जमीन परमप्रभुलाई अर्पण गर्छ भने, 23 तब पूजाहारीले त्यो बर्ष देखि महोत्सव बर्षसम्म रहेको बर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ। 24 महोत्सव बर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।
25 “कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।
पशुहरूको मूल्य
26 “मानिसहरूले परमप्रभुलाई गाई तथा भेंडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्। 27 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।
विशेष उपहार
28 “मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्। 29 यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।
30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो। 31 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।
32 “मानिसहरूको गाई तथा भेंडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो। 33 त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”
34 सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।
त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।
34 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
2 नम्र मानिसहरू! सुन र खुशी बन।
मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
3 मसँग-सँगै परमप्रभुको स्तुति गर!
र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
अनि उहाँले मलाई उत्तर दिनुभयो।
मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
तिमी लज्जित हुनु पर्ने छैन,
उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!
17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।
10 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। 3 मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
4 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
5 यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। 6 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। 7 नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।
हरेक काम जोखिमपूर्ण हुन्छ
8 आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। 9 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।
10 तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।
11 लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
12 ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्,
परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ। 14 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा के हुनेवाला छ।
15 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ,
यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।
कामको मूल्य
16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ। 17 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।
18 यदि कोही कामगर्न अति अल्छी छ भनें,
उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।
19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।
निन्दा
20 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किनकि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।
साँच्चो शिक्षाको अनुशरणगर्नु
2 तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। 2 पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
3 वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ। 4 त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। 5 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। 7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। 8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन, 10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। 13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। 14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।
© 2004, 2010 Bible League International