Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 26

परमेश्वरको आदेश पालन गर्दा पाइने इनाम

26 “तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

“मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।

“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्। तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ। म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

“तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

“म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु। 10 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ बर्षको खेती उठाउँदा पनि पुरानो बर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन। 11 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन। 12 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। 13 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

परमेश्वरको आज्ञा भंगको दण्ड

14 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ, 15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ। 16 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्। 17 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु। 19 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश: फलाम र काँसा जस्ता हुनेछन्। 20 तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

21 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ। 22 म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

23 “यति हुँदा पनि यदि तिमीहरू चेतेनौ भने अनि मेरो विरोध गरिरह्यौ भने, 24 तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सातगुणा दण्ड दिनेछु। 25 तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शत्रुहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्। 26 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

27 “अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्यौ अनि मेरो विरोधमा रह्यौ। 28 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु। 29 तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ। 30 म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ। 31 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनँ। 32 म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्। 33 म तिमीहरूलाई देश विदेशमा छरपष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

34 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ। 35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन। 36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्। 37 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्।

“तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ। 38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ। 39 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।

यहाँ जहिले पनि आशा छ

40 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे, 41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

43 “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले[a] तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने, 44 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजें म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 45 तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएँ र म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”

46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।

भजनसंग्रह 33

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
    उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
वीणा बजाएर परमप्रभुको स्तुति गर!
    दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
    सुखमय सुन्दर वाद्यहरू बजाऊ!
परमेश्वरको वचन सत्य छ।
    उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
    परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
    परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
    उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
    संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
    अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
    उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
    उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
    किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
    अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
    तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
    परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
    कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
    तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
    जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
    जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
    उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
    हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
    यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

उपदेशक 9

के मृत्यु असल हुन्छ?

मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।

तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, मृत्यु दुष्ट मानिसलाई पनि आउँछ, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि मृत्यु आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ।

यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि:

एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो।

जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ।

अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ। राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर। 10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

हामी के पो गर्न सक्छौं र? सौभाग्य या दुर्भाग्य?

11 यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैँ दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैँ जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैँ खान पाउँदैन, ज्ञानी मानिसले सधैँ सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैँ प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आउँछ।

12 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

विवेकको शक्ति

13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ। 14 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनाथ गरे। 15 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले। 16 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

17 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द,
    मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।
18 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो।
    तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।

तीतस 1

परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।

तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ।

पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

क्रेटमा तितसको काम

मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ। 10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ। 11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्। 12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैँ झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।” 13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुशरण गर्नेछन्। 14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्। 15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ। 16 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International