Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 20

मूर्ति पूजा गर्नेहरूलाई चेताउनी

20 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् स्वदेशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ। म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ। जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्, म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।

“कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ म त्यसको बिरोधमा छु, किनभने उसले मलाई अविश्वास गर्यो। यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट अलग गर्ने छु।

“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुशरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।

“यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई श्राप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई श्राप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ।

व्यभिचारका पापहरूको निम्ति दण्ड

10 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्। 11 यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।

12 “यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।

13 “यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।

14 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।

15 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ। 16 यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।

17 “यदि कुनै दाज्यूभाइ आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।

18 “यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्‌याउनु पर्छ। तिनको रगतको मूल देखेर पनि तिमीहरूले पाप गरेका छौ।

19 “तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।

20 “कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।

21 “यदि कुनै पुरूषले आफ्नी भाउजू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।

22 “म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ। 23 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ। 24 मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएँ।

“मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु। 25 यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध नबनाऊ मैले तिनीहरूलाई तिमीहरूका निम्ति अशुद्ध झैं छुट्याएको छु। 26 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

27 “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”

भजनसंग्रह 25

दाऊदको भजन।

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
    जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।
    तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
    तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,
    अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।
    उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।
    उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

16 हे परमप्रभु, म पीडित र एक्लो छु,
    मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्।
    मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस्
    र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।
    तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्।
    म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
21 हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ
    म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।

उपदेशक 3

एउटा समय हुन्छ

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

जन्म लिने एउटा निश्चित समय छ,
    र मृत्युको पनि।
रूख रोप्ने एउटा समय हुन्छ,
    अनि त्यसलाई उखेल्ने एउटा समय छ।
त्यहाँ मार्ने एउटा समय छ,
    निको पार्ने एउटा समय छ,
भत्काउने एउटा समय छ,
    बनाउने एउटा समय।
कराउने र रूने एउटा समय हुन्छ,
    अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ।
शोक मनाउने एउटा समय छ,
    र नाच्ने र गाउने एउटा समय हुन्छ।
एक समय हुन्छ ढुङ्गा फ्याँक्ने,
    एक समय हुन्छ ढुङ्गा थुपार्ने।
कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ,
    त्यसै छोडिदिने एउटा समय हुन्छ।
कुनै चीज खोज्ने एक समय हुन्छ,
    हराओस् भन्ने एकसमय हुन्छ,
कतै फालि दिने एक समय हुन्छ,
    र राख्ने एक समय हुन्छ।
त्यहाँ लुगा च्यात्ने एउटा समय छ,
    र लुगा सिलाउने एउटा समय।
त्यहाँ चुपचाप रहने एउटा समय छ,
    बोल्ने एउटा समय छ।
एक समय हुन्छ माया गर्ने,
    एक समय हुन्छ घृणा गर्ने,
एक समय हुन्छ झगडा़ गर्ने
    र एक समय हुन्छ मेल-मिलाप गर्ने।

परमेश्वर आफ्नो संसारलाई नियन्त्रण गर्नुहुन्छ

के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? 10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। 11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

12 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो। 13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।

14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। 15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

16 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ। 17 यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”

के मानिसहरू पशु जस्ता नै छन्?

18 मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्। 19 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किनकि हरेक कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्। 20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्। 21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”

22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसले अर्कालाई भविष्यमा के हुनेवाला छ सो देखाउँन सक्तैन।

1 तिमोथी 5

आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई झैं व्यवहार गर। ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शुद्ध मनले व्यावहार गर।

विधवाहरूको वास्ता गर्नु

विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्। तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ। कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसँग प्रार्थना गर्छिन्। उनले परमेश्वरसँग सहायता माग्छिन्। तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो। यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्। मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।

विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ। 10 उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।

11 तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्। 12 तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ। 13 यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरौटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्। 14 यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्। 15 कतिपय तरूणी विधवाहरू शैतानको अनुशरण गर्न फर्किसकेकाछन्।

16 यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँच्चो अर्थमा अभावग्रस्त विधवा छन्।

अगुवाहरू अन्यकुराहरूको बारेमा

17 अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्। 18 किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।”(A) अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”(B)

19 यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन। 20 जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।

21 परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।

22 धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।

23 तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।

24 कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ। 25 मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International