M’Cheyne Bible Reading Plan
पशुहरू मारेर खाने नियमहरू
17 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो। 3 इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्छ। 4 त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। 5 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ। 6 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्। 7 अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। यी नियमहरू सधैँको लागि रहिरहनेछ।
8 “मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ। 9 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
10 “इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसँग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु। 11 किनभने शरीरको प्राण रगतमा हुन्छ, मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ। 12 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।
13 “इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते, उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्। 14 तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्याइन्छ।
15 “यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ। 16 यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।”
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
तर हामीले जित्यौं! हामी विजेता हौं।
9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
2 तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।
3 हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
4 हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
5 तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
6 हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
7 राजाले परमप्रभुमाथि भरोसा राख्छ।
सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
8 हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
9 हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।
13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।
राजा लमूएलका हितोउपदेशहरू
31 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ। 3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम। 4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। 5 तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। 6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। 7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ। 9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
आदर्श पत्नी
10 असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी,
बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
11 तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ,
अनि कहिल्यै गरीब हुनु पर्दैन।
12 आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्,
अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
13 तिनी सधैँ ऊनी को लुगा,
तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै,
कहींबाट पनि भोजन लिएर घर आउँछिन्।
15 तिनी बिहानै उठी भोजन पकाउँछिन्,
अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।
16 तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन्
आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
17 तिनी अत्यन्तै परिश्रमी छिन्,
अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन्
अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।
19 तिनीले आफैं धागो कात्छिन
अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
20 गरीबलाई सधैँ दान दिन्छिन्
अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्।
21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्।
तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
22 तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्,
अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
23 उनका पतिलाई सबैले आदर गर्छन्
किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्,
र व्यापारीहरूलाई बेच्छिन्।
25 तिनी बलीयी अनि मर्यादित छिन्,
तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26 तिनको बोलीमा ज्ञान छ,
र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।
तिनले कहिले अल्छी गर्दिनन्।
28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,
तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29 “संसारमा धेरै असल स्त्रीहरू छन्
तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।”
30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,
तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ
अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।
पुरूष र स्त्रीहरूको लागि नियमहरू
2 प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। 2 राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। 3 यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।
4 परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। 5 परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ। 6 सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो। 7 त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुशरण गर्नु सिकाउँछु।
स्त्री र पुरूष़लाई बिषेश सुझावहरू
8 मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगड़ालु हुनु हुँदैन।
9 स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन। 10 तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती स्त्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।
11 स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकुन्। 12 तर म कुनै स्त्रीलाई शिक्षा दिने तथा कुनै पुरुषमाथि अधिकार जमाउने अनुमति दिँदिन, तर स्त्री चुपचाप बस्नुपर्छ। 13 किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको। 14 शैतानद्वारा ठगिने आदम थिएन। त्यो स्त्री थिई जो ठगिई अनि पापी बनी। 15 तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्।
© 2004, 2010 Bible League International