M’Cheyne Bible Reading Plan
शरीरबाट धातुको निम्ति नियमहरू
15 परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो, 2 “इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो। 3 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।
4 “ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध हुन्छ। 5 यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ। 6 यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ। 7 यदि एकजना मानिसले प्रमेह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ। 8 यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ। 9 त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ। 10 कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ। 11 यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
12 “यदि प्रमेह हुने मानिसले माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।
13 “जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ। 14 आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ। 15 पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।
16 “यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ। 17 लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ। 18 यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।
19 “यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछे। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ। 20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्। 21 कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ। 22 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ। 23 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस् र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।
24 “कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।
25 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिन्जेलसम्म अशुद्ध रहनेछिन्। 26 मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिन्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ। 27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ। 28 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे। 29 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ। 30 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।
31 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
32 वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्। 33 अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।
प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।
1 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
तपाईं मेरो शक्ति हुनुहुन्छ।”
2 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।
3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
अनि म मेरो शत्रुहरूबाट बाँचे।
तर तिनीहरूले खिल्ली उडाए।
4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
मृत्युको पासो मेरो सम्मुख थियो।
6 म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
7 पृथ्वी थर्कियो र काम्यो;
पर्वतहरूको जग हल्लियो।
किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
9 परमप्रभुले आकाश च्याति दिनु भयो,
अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।
15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!
मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
म उहाँको नियमहरू मान्दछु!
23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ।
यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।
25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।
यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।
30 परमेश्वरको शक्ति पूर्ण छ।
उहाँको वचन प्रमाणित भएको छ।
उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।
35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।
37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु
तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने
र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
तिनीहरूले परमप्रभुलाई समेत गुहारे,
तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।
तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।
43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्।
मलाई जातिहरूका अगुवा बनाउनु होस्।
मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।
44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
45 ती विदेशीहरू डरले काम्नेछन्।
तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।
46 परमप्रभु जीवित हुनुहुन्छ,
म मेरो चट्टानलाई प्रशंसा गर्छु।
किनभने उहाँ महान् हुनुहुन्छ!
47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,
तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।
50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!
उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।
29 यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
2 जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।
3 यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।
4 एकजना राजाले आफ्नो राज्यलाई न्यायद्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।
5 जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिँजाउँछ।
6 पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।
7 धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।
8 जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।
9 बुद्धिमान मानिस जब मूर्खसित झगडा़ गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।
10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ।
11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
12 यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
13 गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन् कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।
14 यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।
15 दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
16 खराब मानिसले राष्ट्रलाई शासन गर्छ भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।
17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।
19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।
20 नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।
21 यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैँ दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।
22 क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ।
23 मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।
24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।
25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
26 धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
27 धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमान्दार मानिसलाई घृणा गर्छन्।
हाम्रोलागि प्रार्थना गर
3 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। 2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। 3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। 4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। 5 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
कामगर्न वाध्यता
6 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। 7 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। 8 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। 9 यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। 10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”
11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। 12 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं। 13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।
14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्। 15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।
अन्तिम शब्द
16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्।
17 म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।
18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।
© 2004, 2010 Bible League International