M’Cheyne Bible Reading Plan
चर्मरोग लागेको मानिस निको हुँदाको नियमहरू
14 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
3 “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले 4 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्रा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्। 5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। 6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्। 7 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।
8 “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन। 9 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
10 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्। 11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ। 12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ। 13 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो, यो अत्यन्तै पवित्र हुन्छ।
14 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ। 15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्। 16 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्। 17 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो। 18 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।
19 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। 20 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
21 “तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्था गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेंडा दोष बलिको रूपमा ल्याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ। 22 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
23 “उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्। 24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ। 25 त्यसपछि दोषबलिको निम्ति भेंडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्। 26 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ। 27 त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्। 28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंला र दाहिने खुट्टाको बूढी औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यहीं लगाई दिऊन्। 29 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।
30 “तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ। 31 एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”
32 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन् जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।
घरमा ढुस्सीको निम्ति नियमहरू
33 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुस्सी पठाउनेछु, 35 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’
36 “त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन। 37 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुस्सीमा गहिरिएको बुझिनेछ र, 38 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।
39 “पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ 40 पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्। 41 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कहीं मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्। 42 तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।
43 “एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने 44 त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो। 45 त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ। 46 यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ। 47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।
48 “पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किनभने त्यो घरको ढुसी हटेको छ।
49 “अनि घर शुद्ध पार्न पूजाहारीले दुइवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ। 50 ती दुइ चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्। 51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ। 52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागोद्वारा उसले घर शुद्ध बनाउनेछ। 53 यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुल्ला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”
54 ती चर्म रोगको निम्ति नियमहरू, 55 ढुस्सीको निम्ति लुगाको टुक्रामाथि अथवा घर भित्र। 56 यो सबै प्रकारको छालाको फोका, सुनीएकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो। 57 चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।
दाऊदको प्रार्थना।
1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
28 दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।
2 जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।
3 एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ।
4 जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ।
5 दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।
6 ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।
7 जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।
8 जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।
9 यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।
10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।
11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।
12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।
13 जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
14 त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।
15 एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।
16 जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।
17 मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।
19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ।
20 एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।
21 न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।
22 एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।
23 चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।
24 एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो।
25 एकजना लोभि मानिसले झगडा़ उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले उन्नति गर्छ।
26 जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।
27 जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ।
28 जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्।
दुष्ट घट्ना घट्नेछ
2 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। 2 यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। 3 कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो। 4 परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
5 मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? 6 अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ। 7 पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। 8 त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। 9 त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। 10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। 12 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।
तिमीहरू मुक्तिको लागि छानिका हौ
13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ। 14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ। 15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
16-17 हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैंले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।
© 2004, 2010 Bible League International