Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 8

मोशाले पूजाहारीहरू तयार पार्छन्

परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसँग भेट हुने पालमा लैजाऊ।”

यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।”

तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए। तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए। परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।

10 मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। 11 उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। 12 त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। 13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।

14 यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, 15 अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। 16 मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। 17 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।

18 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे। 19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। 20-21 भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।

22 त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेंडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेंडाको टाउकोमाथि राखे। 23 त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। 24 मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए। 25 तिनले बोसो, बोसे पुच्छर आन्द्रा-भुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए। 26 परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे। 27 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए। 28 तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो। 29 परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेंडाको भाग थियो।

30 तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरूसँगै पवित्र पारे।

31 तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ। 32 तिमीहरूले खाएर उब्रेको मासु र रोटी आगोमा जलाइ देऊ। 33 तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउन्जेल भेट हुने पाल छोड्नु हुँदैन। 34 तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो। 35 मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।”

36 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे।

भजनसंग्रह 9

प्रमुख संगीतकारलाईः अलामौथ ‘बिन’ रागमा गाउने दाऊदको भजन।

म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
    हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
    तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
    तर तिनीहरू लडे र नष्ट भए।

तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।
    हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
    हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
    तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
    अब, खाली भग्नावशेष मात्र छाडिएका छन्।
    ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ।
    परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
    उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
धेरै मानिसहरू संकष्टमा फँसेका छन्
    र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
    परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
    तपाईंमाथि भरोसा राख्ने नै छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
    तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
    अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
    जसले उहाँलाई गुहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
    अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
    मेरो शत्रुहरूले मलाई सताइरहेछन्,
    ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
    परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”

15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए,
तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने।
    तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्।
    अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ,
    यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन्
    तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो।
    यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन।
    तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्।
    तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
20 मानिसहरूलाई शिक्षा दिनुहोस्।
    तिनीहरूले जान्न सकुन् कि तिनीहरू मानिस मात्र हुन्।

हितोपदेश 23

—6—

23 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ। तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ।[a]

—7—

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।

—8—

एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।

—9—

मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।

—10—

10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। 11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ।

—11—

12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।

—12—

13 आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। 14 यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।

—13—

15 हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु। 16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।

—14—

17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर। 18 तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।

—15—

19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर। 20 धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। 21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।

—16—

22 तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर। 23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन। 24 ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ। 25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।

—17—

26 हे मेरो छोरो! म जे भन्दैछु ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर। 27 एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। 28 एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।

—18—

29-30 कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा़ टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्? तिनीहरू ती हुन् जो रात दिन दाखमद्यको सेवनमा बिताउँछन् अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।

31 दाखद्यद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ। 32 तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।

33 तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कुद्ने छन्। 34 तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ। 35 तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु।

1 थिस्सलोनिकी 2

थिस्सलोनिकीमा पावलको काम

दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो। हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन। होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।

तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँच्चो हो। हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।

हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। हामीले तिमीहरूलाई धेरैमाय गर्यौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं। दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।

13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं। 15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। 16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।

तिनीहरूलाई फेरि भेट्ने पावलको इच्छा

17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। 18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। 19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। 20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International