Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 33

“म तिमीहरूसित जाने छैन”

33 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु। म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोड्न बाध्य गराउनेछु। यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”

मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्। परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसँग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।’” यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।

अस्थायी भेट हुने पाल

मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल” नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासँग कुरा गर्नु हुन्थ्यो। 10 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।

11 यस रीति अनुसार परमप्रभुले मोशासँग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसँग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।

परमप्रभुको महिमा मोशाले देखे

12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ 13 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

14 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। 16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

18 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”

19 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। 20 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”

21 परमप्रभुले भन्नुभयो, “हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ। 22 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ। 23 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”

यूहन्ना 12

येशू आफ्ना मित्रहरूसँग बेथानीमा

(मत्ती 26:6-13; मर्कूस 14:3-9)

12 निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन। उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वद्लामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।” यहूदा आफैं गरीबहरूसँग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ। गरीब मानिसहरू सधैँ तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैँ बस्ने छैन।”

लाजरस विरुद्ध षड़यन्त्र

येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो। 10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। 11 लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

येशू राजा झैं यरूशलेमा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; लूका 19:28-40)

12 अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए।

13 मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,

“‘उहाँको प्रशंसा गर!’
    ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्,
    जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’[a]

परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो,

15 “हे सियोन शहर[b] नडराऊ!
    हेर! तिम्रो राजा आइरहेछ।
    उनी गधाको बछेड़ामाथि चडेर आइरहेका छन्।”[c]

16 येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। 18 धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। 19 यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

येशूले जीवन र मृत्यु विषय भन्नुहुन्छ

20 तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए। 21 ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।” 22 फिलिप गएर आन्द्रियसलाई भने। अनि फिलिप र आन्द्रियास गएर येशूलाई भने।

23 येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। 24 म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। 25 जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। 26 जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

येशूले आफ्नै मृत्युको विषयमा भन्नु हुन्छ

27 “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। 28 हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”

तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”

29 उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।

तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!”

30 येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। 31 अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। 32 म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” 33 उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

34 मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”

35 तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन। 36 यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

यहूदीहरूले येशूमा विश्वास गरेनन्

37 येशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्। 38 अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः

“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गर्यो?
    परमप्रभुको शक्ति कसले देख्यो?”[d]

39 यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले यो पनि भने,

40 “परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो।
    परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो।
परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर,
    र तिनीहरूले हृदयले बुझ्न नसकोस् भनेर हो,
नत्रता तिनीहरू मकहाँ
    निको हुन फर्कनेछन्।”[e]

41 यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो। 43 ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

येशूको उपदेशले मानिसहरूलाई न्याय गर्नेछ

44 तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ। 45 जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो। 46 म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।

47 “म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन। 48 जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ। 49 किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें। 50 र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोल्दछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

हितोपदेश 9

ज्ञान र मूर्खता

ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी। तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई। “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी। “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”

अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ। अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ। ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो। 11 किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्। 12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ। 14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे। 15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, 16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन। 17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।” 18 मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

एफिसी 2

मृत्युदेखि जीवन

बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।

तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो। भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।

तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। 10 हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।

ख्रीष्टमा एक

11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। 12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। 13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। 16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। 17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। 18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International