M’Cheyne Bible Reading Plan
याकूब बेतेलमा
35 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
2 यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। 3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”
4 यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।
5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। 6 यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। 7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।
8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।
याकूबको नयाँ नाउँ
9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। 10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।
11 परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। 12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” 13 त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। 14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।
राहेल प्रसुति पीडामा मरी
16 याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली। 17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।”
18 छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
19 राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)। 20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ। 21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।
22 इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।
इस्राएलको परिवार
याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए।
23 लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।
24 राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
25 राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।
26 लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए।
यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दम-आराममा थिए।
27 याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए। 28 इसहाक एक सय असी बर्ष बाँचे। 29 इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।
एसावको परिवार
36 एसावको पारिवारिक इतिहास यही हो। 2 एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि 3 बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी। 4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। 5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।
6-8 याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)
9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,
10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।
11 एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।
12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
13 रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।
यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
14 एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।
15 यी परिवार एसावबाट आएका हुन्।
एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज, 16 कोरह, गाताम अनि अमालेक।
ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।
ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।
18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।
19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।
20 एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए:
लोतान, शोबाल, सिओन, अना, 21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।
22 लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
23 शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।
24 सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)
25 दीशोन र ओहोलीबामाका बाबु अना थिए।
26 दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।
27 एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।
28 दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।
29 होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना, 30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।
31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।
32 बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।
33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।
34 जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।
35 जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।
36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।
37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।
38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।
39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)
40-43 एसाव एदोमी परिवारहरूः
तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।
येशू आफ्नो शहरमा जानुहुन्छ
(मत्ती 13:53-58; लूका 4:16-30)
6 येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। 2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? 3 के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” 5 येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। 6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।
येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ
(मत्ती 10:1,5-15; लूका 9:1-6)
7 येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। 8 येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। 9 जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। 10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। 11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” 13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
हेरोदेले येशूलाई बप्तिस्मा दिने यूहन्ना नै ठान्दछन्
(मत्ती 14:1-12; लूका 9:7-9)
14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”
16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”
बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
17 हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। 18 यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” 19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। 20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। 22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी।
अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” 23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?”
उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।”
25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। 27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। 28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। 29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
येशूद्वारा पाँचहजार भन्दा अधिकलाई भोजन
(मत्ती 14:13-21; लूका 9:10-17; यूहन्ना 6:1-14)
30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। 31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। 33 तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। 34 जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो। 36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”
चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”
चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।” 40 अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
41 उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
42 सबैले अघाउन्जेल खाए। 43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे। 44 त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
येशू पानीमाथि हिँड्नुभएको
(मत्ती 14:22-33; यूहन्ना 6:16-21)
45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो। 46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो। 48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिँड्नु भयो। उहाँले लगातार हिँडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो। 49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। 50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” 51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। 52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
येशूले धेरै मानिसहरूलाई निको पार्नुभयो
(मत्ती 14:34-36)
53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। 54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। 55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। 56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
शैतानले अय्यूबलाई फेरि सतायो
2 अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।
2 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”
शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।”
3 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र नराम्रा कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”
4 शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई! एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ। 5 यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”
6 यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।”
7 तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो। 8 यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले। 9 अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति ईमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”
10 अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले सङ्कटहरू पनि ग्रहण गर्नुपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।
अय्यूबका तीनजना साथीहरू उनलाई भेट्न आउँदछन्
11 अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए। 12 जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए। 13 तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।
पापको निम्ति मर्नु चाँहि ख्रीष्टको निम्ति जिउनु
6 हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? 2 होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? 3 के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। 4 यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो।
5 ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। 6 हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। 7 जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ।
8 यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। 9 ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। 10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। 11 त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।
12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। 13 तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। 14 पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।
धार्मिकताको कमारो
15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! 16 निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैंलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ। 17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्यौ जुन तिमीहरूलाई दिइयो। 18 तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ। 19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ।
20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। 21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। 22 तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। 23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
© 2004, 2010 Bible League International