M’Cheyne Bible Reading Plan
अबियाह यहूदाका राजा
13 जब राजा यारोबाम अठाह्रौं बर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए। 2 अबियाह तीन बर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो। 3 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।
4 तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन। 5 तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करारद्वारा यो दिनु भएको हो। 6 तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए। 7 तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभव हीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।
8 “अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरूसँग धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनका बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए। 9 तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ- ती ‘झूटा देवताहरूको’ सेवा गर्ने पूजाहारी।
10 “तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्। 11 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उज्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”
13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए। 14 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए। 15 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरूद्वारा परास्त भए। 16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो। 17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए। 18 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।
19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका स-साना गाउँहरू अधिकारमा ल्याए।
20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो। 21 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए। 22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।
सार्डिसको मण्डलीलाई येशूको पत्र
3 “सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ:
“मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ। 2 उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्। 3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।
4 “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्। 5 हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु। 6 हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।
फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र
7 “फिलाडेल्फियाको मण्डलीलाइ यो लेख:
“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।
8 “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। 9 सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। 10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।
11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। 12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। 13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।
लाउडिसियको मण्डलीलाई येशूको पत्र
14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“आमिन[a] एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ
15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। 16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। 17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। 18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।
19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। 20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”
यो मन्दिर निर्माणको समय हो
1 फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
3 फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। 4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? 5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। 6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! 8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ। 10 यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।”
नयाँ मन्दिरको कार्य आरम्भ
12 तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले।
13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले। 15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो बर्षको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।
कानामा विवाह-समारोह
2 दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो। 2 येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्त्याईएको थियो। 3 विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसँग अरू दाखरस छैन।”
4 येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
5 येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
6 त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो।
7 येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
8 तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।”
तिनीहरूले त्यसै गरे। 9 विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र 10 उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस सधैँ बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँड्न थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
11 येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12 त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसँगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-13; मर्कूस 11:15-17; लूका 19:45-46)
13 यहूदीहरूको निस्तार चाड़[a] अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो। 14 यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा़ अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए। 15 येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। 16 येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः
“तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”(A)
18 यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसँग थियो। 22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
23 यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले। 24 तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे, 25 कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।
© 2004, 2010 Bible League International