M’Cheyne Bible Reading Plan
करारको नयाँ शिला-पाटी
10 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुइवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ। 2 पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
3 “यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए। 4 पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो। 5 म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
6 (इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे। 7 तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए। 8 त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो। 9 यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।)
10 “पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो। 11 परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’
साँच्चै परमप्रभु के चाहनुहुन्छ
12 “इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ। 13 यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।
14 “आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्। 15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको सट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।
16 “हठ्ठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर। 17 किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन। 18 टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ। 19 यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।
20 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ। 21 परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ। 22 जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
94 हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ,
जसले मानिसहरूलाई दण्ड दिन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
2 तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
3 हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?
कहिले सम्म परमप्रभु?
4 कहिलेसम्म ती दुष्टकर्मीहरूले
भयङ्कर कामहरू गर्नेछन्?
5 हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
6 ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे।
तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
7 अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।
तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
8 तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ?
हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ।
तिमीहरूले बुझ्नै पर्छ।
9 परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ,
जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ।
जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन,
त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,
उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न।
15 न्याय फर्केर निर्मलतासित आउने छ।
अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्।
कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्।
17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए,
मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18 म जान्दछु कि म पतन हुन लागेको थिएँ,
तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19 म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ
तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।
ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि,
कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
23 परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।
हिजकियाह विरामी परेका
38 त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए। यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।’”
2 हिजकियाह भित्तातिर फर्किए जुन मन्दिर सम्मुख पर्दथ्यो र प्रार्थना गर्न थाले। उनले भने 3 “हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँच्चो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुरू-धुरू रोए।
4 यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे, 5 “हिजकियाकहाँ जाऊ अनि उसलाई भन कि, परमप्रभु तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्र बर्ष बढाईदिनेछु। 6 म तिमी र तिम्रो यस शहरलाई अश्शूरका राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।’”
7 यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ। 8 “हेर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथि[a] छ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।”
हिजकियाहको गीत
9 यो हिजकियाहबाट पठाईएको चिट्ठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन:
10 मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु।
तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ।
अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”
11 यसकारण मैले भने, “म परमप्रभु याहलाई[b]
यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन,
म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।
12 मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन्
अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लुगा तानबाट,
तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु।
तपाईँले मेरो जीवन यति चाँडै शेष पारिदिनु भयो।
13 सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ,
तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै।
तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।
14 म ढुकुर जस्तै रोएँ, म चरा जस्तै रोएँ
मेरा आँखाहरू थकित भए
तर मैले लगातार स्वर्ग तिर हेरिरहे।
हे मेरो मालिक!
म अत्यन्त खिन्न भएँ
मलाई साथ दिने वचन दिनुहोस्।”
15 के म भन्न सक्छु?
के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो।
अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ।
यस्तो विपत्तिहरू मेरो आत्मामा छँदै थियो
यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।
16 हे मेरो मालिक! मेरो आत्मा बलियो पार्नलाई,
यी दु:खका दिनहरू देखाउनुहोस।
मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस।
मलाई असल हुनलाई सघाउनु होस्।
मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।
17 हेर! मेरा कष्टहरू गए।
अब मलाई शान्ति छ।
तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो।
तपाईंले मलाई चिहानमा सड्न दिनु भएन,
तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो।
तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।
18 मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्।
पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्।
मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्।
तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।
19 जो मानिसहरू म जस्तै जीउँदा छन्,
के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्?
पिताले तिनका छोरा छोरीहरूलाई भन्न सक्नु पर्दछ कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।
20 यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ।
यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ,
अनि संङ्गीत बनाउने छौं।”
21 तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।”
22 तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”
सातौं मोहर
8 भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। 2 अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो।
3 अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे। 4 धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरूको प्रार्थनासितै उँभो गयो। 5 त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरू आयो अनि भूईँचालो गयो।
सात स्वर्गदूतहरूले तुरही बजाए
6 तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए।
7 पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले।
8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। 9 अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।
10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। 11 त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।
12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।
13 जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
© 2004, 2010 Bible League International