M’Cheyne Bible Reading Plan
जमीनको निम्ति विश्रामको समय
25 परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ। 3 छ बर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ बर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ। 4 तर सातौं बर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ। 5 उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक बर्ष विश्राम पाउनेछ।
6 “यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसँग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ। 7 तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।
ज्यूबिलि-विमोचनको बर्ष
8 “तिमीहरूले सात बर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 बर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात बर्षको निम्ति विश्राम हुनेछ। 9 सातौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेंडाको सींङको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ। 10 तिमीहरूले पचासौं बर्षलाई विशेष बर्षको रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ। 11 तिमीहरूको निम्ति यो पचासौं बर्ष एक विशेष उत्सवको बर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल। 12 यो बर्ष तिमीहरूको निम्ति महोत्सवको बर्ष[a] हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु। 13 जयन्ती बर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।
14 “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ। 15 जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत बर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ। 16 तिमीले बर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै बर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि बर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्। 17 एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
18 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ। 19 अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।
20 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं बर्षमा खाने हामी सित केही रहँदैन।’ 21 चिन्ता नगर! छैटौं बर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन बर्षको निम्ति बाली उब्जाउनेछ। 22 जब तिमीहरू आठौं बर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंबर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।
सम्पत्तिको विषयमा नियमहरू
23 “भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ। 24 मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ। 25 तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ। 26 कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ। 27 त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको बर्षबाट किन्ने समयसम्म कति बर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको बर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ। 28 तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव बर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ।
29 “यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक बर्षभित्र घर उक्साउने अधिकार पाउनेछ। 30 तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक बर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन। 31 तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।
32 “तर लेवीहरूको शहरको विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ। 33 लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेको भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्। 34 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।
कमारा र मालिकहरूको निम्ति नियमहरू
35 “तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ। 36 तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ। 37 उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख। 38 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
39 “तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ। 40 महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर। 41 तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौंली सम्पत्तिमा फर्केर आउनु सक्छ। 42 किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन। 43 तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।
44 “तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमा; आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ। 45 तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्। 46 तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैँको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन।
47 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्। 48 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ। 49 अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।
50 “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती बर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि बर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किनभने उसले सही रूपमा केही बर्षको निम्ति मात्र किनेको थियो। 51 यदि अर्को जयन्ती बर्षको समय आउन अझै निकै बर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम बर्षको संख्यामा भर पर्छ। 52 अनि फेरि यदि अर्को महोत्सव बर्ष आउँन केही बर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ। 53 त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसँग दुष्ट व्यवहार नगरोस्।
54 “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव बर्षमा स्वतन्त्र उक्सनु सक्छ महोत्सवको बर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्। 55 किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
दाऊदको मस्किल भन्ने भजन।
1 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
बुद्धि र शक्ति
8 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।
2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। 3 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ। 4 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन। 5 राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।
6 त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ। 7 उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।
8 कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।
9 मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा सङ्घर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।
10 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।
न्याय, पुरस्कार र दण्ड
11 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।
12 एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो। 13 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाँयाँ झैं लामो हुँदैन।
14 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ। 15 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।
परमेश्वरका सबै काम हामी बुझ्न सक्दैनौं
16 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि। 17 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून् बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँच्चो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।
4 परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः 2 मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।
3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। 4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। 5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।
6 मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। 7 मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु। 8 अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
व्यक्तिगत वचनहरू
9 जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर। 10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए। 11 अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ। 12 टाइकिकसलाई मैले एफिसस पठाँए।
13 म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।
14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ। 15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।
16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। 17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। 18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।
अन्तिम अभिवादन
19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। 20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। 21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।
युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।
22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।
© 2004, 2010 Bible League International