M’Cheyne Bible Reading Plan
पानस अनि पवित्र रोटी
24 परमप्रभुले मोशालाई भन्नभयो, 2 “इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ। 3 परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुन्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुन्जेलसम्म सधैँ चलिरहनेछ। 4 हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।
5 “मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ। 6 परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ। 7 प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ। 8 प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैँको निम्ति रहनेछ। 9 हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”
त्यो मानिस जसले परमेश्वरलाई श्राप दियो
10 इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो। 11 इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।) 12 मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।
13 तब परमप्रभुले मोशालाई भन्नभयो, 14 “मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरून्जे सम्म ढुङ्गाले हिर्काउनु पर्छ। 15 तिमीले इस्राएलका मानिसहरूलाई भन, यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ। 16 यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशी वा इस्राएलमा जन्मएको कसैले पनि परमप्रभुको निन्दा गर्छ वा सराप्छ भने उसलाई अवश्यै मार्नु पर्छ।
17 “अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ। 18 यदि कुनै व्यक्तिले अर्काको पशुलाई मारे त्यसले बदलामा अर्को एउटा पशु दिनुपर्छ।
19 “अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ। 20 हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ, एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ। 21 यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ।
22 “कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँच्चो रहनेछ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”
23 तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
मलाई निराश नपार्नुहोस्।
मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्।
मेरो चट्टान हुनुहोस्।
मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।
मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्।
तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
मलाई बचाउनु होस्!
6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।
म परमप्रभुमा मात्र भरोसा गर्छु।
7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु।
तपाईंले मेरो पीरहरू देख्नु भएको छ।
मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।
तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो।
9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्,
यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।
यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्।
मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ।
10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।
मेरो उमेर नैराश्यमा बितिरहेछ।
मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ।
मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,
अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्।
सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्।
तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्,
तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै
पूर्ण प्रकारले मलाई बिर्सेकाछन्।
13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।
तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे।
14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।
तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
15 मेरो जीवन तपाईंको हातमा छ,
मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
मलाई तिनीहरूबाट बचाउनुहोस्।
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें।
यसर्थ म असन्तुष्ट हुँदिन।
दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।
तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
18 ती दुष्टहरू अंहकार गर्छन्
अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्।
ती दुष्टहरू घमण्डी छन्,
तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।
तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ
जसले तपाईंलाई विश्वास गर्छन्।
20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।
ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्।
तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ।
तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
21 परमप्रभुको स्तुति होस्!
जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए,
आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु,
जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।
तर मैले तपाईंलाई प्रार्थना गरें,
अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!
परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्।
तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्।
उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
बुद्धि र शिक्षाको सूची
7 एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो।
मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
2 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो।
किनकि सबै एक दिन मर्नै पर्छ,
अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो,
किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ।
4 ज्ञानीले सधैँ मृत्युबारे सोच्छ
तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
5 मूर्खबाट प्रशंसा पाउनु भन्दा,
ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
6 मूर्खहरूको हाँसो त बेकार हुन्छ,
काँढाको आगो बालेर भाँडा तताए जस्तो हो।
काँढाको आगो छिट्टै बल्छ,
तर भाँडा तात्दैन।
7 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ,
अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।
8 शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो।
अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।
9 छिटै रीसाउने नगर,
किनकि रीसाहा बन्नु मूर्खता हो।
10 नभन, “बितेका दिनहरूमा के भयो।
तब चीजहरू अझ राम्रा थिए।”
यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।
11 जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। 12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।
13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। 14 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
मानिस साँच्चै असल हुँदैनन्
15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। 16-17 यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?
18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो। 19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।
21 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ। 22 अनि तिमी जान्दछौ, तिमी आफैंले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।
23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो। 24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ। 25 साँच्चो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के?
मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो। 26 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।
27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें। उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँच्चो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।
29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।”
अन्तिम दिनहरू
3 यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। 2 ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। 3 मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। 4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। 5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।
6 त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्। 7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।
8 जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। 9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।
अन्तिम सल्लाह
10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। 12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। 13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।
14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। 15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। 16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्। 17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।
© 2004, 2010 Bible League International