M’Cheyne Bible Reading Plan
सहवास विषयका नियमहरू
18 परमप्रभुले मोशालाई भननुभयो, 2 “इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ। 3 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु। 4 तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुशरण गर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 5 यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यसद्वारा बाँच्ने छौ।
6 “तिमीहरूले आफ्नो नजिक को आफन्तहरूसँग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।
7 “तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसँग लैंगिक सम्बन्छ गर्नु हुँदैन। 8 यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।
9 “बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
10 “तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।
11 “तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।
12 “तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन। 13 तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन। 14 तिमीले तिम्रा बुबाका दाज्यू-भाइलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।
15 “तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।
16 “तिमीले आफ्नो भाउजूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाइसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
17 “आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।
18 “जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।
19 “तिमीले रजस्वला भएको समयमा एकजना स्त्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।
20 “अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
21 “तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
22 “तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
23 “कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।
24 “तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु। 25 तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
26 “यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्। 27 त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए। 28 यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ। 29 यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ। 30 अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।
1 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ!
तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।
3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।
इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
4 हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
5 हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
6 यसकारण के म कीरा हुँ मानिस होइन?
मानिसहरू मबाट लज्जित छन्।
तिनीहरूले मलाई निन्दा गर्छन्।
7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,
हुन सक्छ तिमीलाई उनले बचाउलान।
यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।
तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।
11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
12 मानिसहरू मेरो चारैतिर छन्।
तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
13 तिनीहरूले मलाई गर्जंदै
शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
14 मेरो शक्ति क्षीण भएको छ
जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मै हाडहरू अलग भइसकेको छन्।
मेरो आँट हराई सक्यो!
15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।
मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
16 ती “कुकुरहरू” मेरो वरिपरि छन्।
ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्।
तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।[a]
17 म मेरो हाडहरू देख्न सक्छु
अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
तिनीहरूले मलाई हेरिरहेका छन्!
18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।
22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
1 यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।
2 उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ[a] अर्थात् सब कुरा व्यार्थै छ। 3 यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?
चीजहरू साँच्चै नै परिवर्तन हुदैन
4 एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ। 5 सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।
6 हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।
7 सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिदैन।
8 शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन।[b] मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्।[c] शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।
नयाँ भन्ने कुरा केही छैन
9 शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।
10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।
11 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।
के बुद्धिबाट आनन्द पाइन्छ?
12 म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ। 13 मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ। 14 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।[d] 15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।
16 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?”
17 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु। 18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।
मण्डलीका अगुवाहरू
3 म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। 2 अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। 3 उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। 4 ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ। 5 यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
6 अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ। 7 ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन।
मण्डलीक सहायकहरू
8 त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन। 9 तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैँ त्यही गर्नु पर्छ। 10 त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।
11 उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-नियंत्रित र विश्वासी हुनुपर्छ।
12 विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ। 13 असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।
हाम्रो जीवनको रहस्य
14 म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु। 15 यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो। 16 निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः
उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो,
आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ।
उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो,
सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो,
विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे।
अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
© 2004, 2010 Bible League International