M’Cheyne Bible Reading Plan
चर्म रोग संबन्धी नियमहरू
13 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाऊ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ। 3 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ, अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पए र घाऊ छालाभन्दा गहिरो छ भन्ने थाहा भयोभने तब त्यो हानिकारक चर्मरोग हो। तब पूजाहारीले त्यस मानिसलाई जाँचि सकेपछि त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।
4 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ। 5 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ। 6 अनि सातौं दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।
7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नु अघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ। 8 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्। यो एक हानिकारक रोग हो।
9 “यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ। 10-11 यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाऊँमा आलो घाउ रहेछ भने, यो धेरै समय सम्म रहने छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराउन्।
12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने 13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो। 14 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ। 15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।
16-17 “अनि फेरि आलो मासु सेतो हुन्छ तब मानिसले पूजाहारीकहाँ अवश्यै जानुपर्छ अनि पूजाहरीले त्यस मानिसलाई जाँच गर्नु पर्छ, यदि आलो मासु सेतो भएको छ, तब पूजाहारीले त्यस मानिसलाई अवश्यै शुद्ध घोषणा गर्नु पर्छ, किनभने त्यो मानिस शुद्ध छ।
18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ। 19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्। 20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो 21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्याएर राख्नु पर्छ। 22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो। 23 तर यदि त्यो रातो दाग त्यहाँ फैलिएनँ भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।
24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए, 25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नुपर्छ। 26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्याउनु पर्छ। 27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो। 28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।
29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ। 30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ। 31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्याउन पर्छ। 32 सातौं दिनको दिन पूजाहारीले घाउ जाँच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन। 33 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्। 34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होस्। 35 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए। 36 यदि दाग छालमा फिँजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिँजिएको भेट्नेछन्, पहेंलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ। 37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।
38 “यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए, 39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।
40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन। 41 यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो। 42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ। 43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने, 44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।
45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ। 46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।
47 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्, 48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र 49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो। 50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्। 51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग[a] लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी, सूती वा छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो। 52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।
53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए, 54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन। 55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई ढुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।
56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी वा छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्। 57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ। 58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”
59 लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।
दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
दाऊदको मिक्ताम भन्ने भजन।
1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2 मैले परमप्रभुलाई भने,
“हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
6 मेरो भाग आश्चर्यपूर्ण छ,
मेरो उत्तराधिकार अति सुन्दर छ।
7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
8 परमप्रभुलाई मैले सधैँ
आफू समक्ष राखेको छु
र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
27 तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2 आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन।
3 ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।
4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5 लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6 साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8 आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9 अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10 आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12 बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए र सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14 प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्क्याउँन जान्छ उसले श्राप पाउँछ।
15 एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो। 16 उसलाई रोक्न कोशीष गर्नु हावालाई चल्नुबाट रोक्न कोसिस गर्नु जस्तै अथवा हातहरूले तेल व्यर्थै समात्न प्रयास गर्नु जस्तै हो।
17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20 जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21 सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22 मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन।
23 तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। 24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। 25 जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ। 26 तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ। 27 बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।
1 पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।
2 तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
3 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ। 4 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।
पावल परमेश्वरको न्याय बारे बोल्छन्
5 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो। 6 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ। 7 अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ। 8 परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरूलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ। 9 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ। 10 यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू ज-जसले विश्वस गर्छन् येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किनकि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ।
11 त्यसैकारण हामी सधैँ तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गर्छौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून्। 12 हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस् अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।
© 2004, 2010 Bible League International