M’Cheyne Bible Reading Plan
परमेश्वरले पूजाहारीहरूलाई ग्रहण गर्नुभयो
9 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए। 2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। 3 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक बर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक बर्षको पाठा ल्याऊ। 4 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेंडा मेलबलिको निम्ति अनि अन्नबलि तेलसित मिसाएका उपहारहरू परमप्रभु कहाँ लिएर आऊ किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”
5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए। 6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”
8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। 9 पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए। 10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। 11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।
12 त्यसपछि तिनले होमबलि स्वरूप भेंडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के। 13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए। 14 फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।
15 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए। 16 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए। 17 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।
18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेंडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के। 19 अनि साँढे र भेंडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए। 20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए। 21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए।
22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।
23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो। 24 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
1 हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ?
दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।
अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्।
ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
4 दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।
तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
5 दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्।
तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्,
परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन।
तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
7 ती मानिसहरू सधैँ सरापी रहन्छन।
तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
8 ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन।
तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्,
तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्
जसले जनावर पक्रेर खान्छ।
तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्।
गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
10 घरि-घरि ती दुष्ट मानिसहरूले
असहाय मानिसहरूलाई कष्ट दिंदछन्।
11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।
हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो।
हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”
12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!
हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्,
असहायहरूलाई नबिर्सनु होस्।
13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?
किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,
अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ!
समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्।
हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ,
जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ।
15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।
खराब मानिसको दुष्टता खोज्नुहोस्
र उनीहरूको विनाश गर्नुहोस्।
16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।
तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्!
17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।
उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्।
दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्।
दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
—19—
24 दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। 2 तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।
—20—
3 एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। 4 अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।
—21—
5 एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। 6 यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।
—22—
7 मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।
—23—
8 दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। 9 मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।
—24—
10 यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
—25—
11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। 12 यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।
—26—
13 हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ। 14 यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन।
—27—
15 एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ। 16 धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।
—28—
17 शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन। 18 यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।
—29—
19 दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर, 20 किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।
—30—
21 हे मेरो छोरा! परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ। 22 किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
23 यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। 24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। 25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो।
27 पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल।
29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
30 म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। 31 त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। 32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। 33 एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। 34 दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
3 1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं। 3 हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्। 4 जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो। 5 त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो।
6 तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। 7 यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। 8 तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।
9 तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। 10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।
11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। 12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। 13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।
© 2004, 2010 Bible League International